ऊ बिनाकाे समय

  • दिप मिलन ।  बिहानको साढे एघार बज्यो। अलार्म बज्नु अगावै निद्रा खुल्यो। मनमा चयन नहुँदा निद्रा आफै खुल्ने रहेछ।हतार हतार मोबाइलको लक खोलेँ। वाइफाइ खोलेँ। मेसेन्जर चेक गरेँ। उसको मेसेज आयो कि?
  • दुई दिन अगाडि सामान्य झगडा भएपछि ऊ रिसाएकी थिइ। त्यसपछि सयौँ मेसेज र कलहरू तारान्तार गरिरहेँ । मेरो मेसेज र कलले दिक्क बनाएछ म सुत्ने बेलामा मोबाईल बन्द थियो। मेसेजहरू हेरिएको रहेनछ। सोचेँ अझै मोबाइल अहिलेसम्म बन्द नै छ। फेरि कल ट्राई गरेँ। फोन गयो ,पूरै घण्टी गयो, उठेन। मन फेरि बेतमासले छट्पटीले उकुसमुकुस बन्यो। दूरी करीब ७ कि मि मात्र। उठेर जाऊँ कि उसैको कोठामा भन्ने लाग्यो। तर यति बेला काममा गैसकेको होला भनेर फेरि कल गरेँ। लगातार ३/४ पटक कल गरेपछि मोबाइलको स्विच अफ भयो। दुई दिनदेखिको मानसिक तनाव , पीर र पछुतोले म उठ्नै नसक्ने गरेर थलिएछु। उठ्न मन लागेन। सुत्न खोजेँ मन कोठामा अडिनै मानेन। फेरि उठेँ अत्यधिक जलन भयो मनमा यादले थच्चक्क भुँईमै बसेँ। मैले बिर्सिएँ म काममा जानुपर्छ भन्ने कुरा। आमाको उपचार र बाको तमसुक बिर्सिएँ। श्रीमतिको गुजारा र छोराछोरीको सुन्दर भविष्यका लागि परदेश आएको हुँ भन्ने बिर्सिएँ। मैले मलाई नै बिर्सिएँ। र उसलाई सम्झिरहेँ। उसैलाई खोजिरहेँ। छतमाथि गएर डाँको छोडेर चिच्याउन मन लाग्यो। जुरुक्क उठेँ गएँ। रूमको साथीलाई म बिरामी छु काममा जान सक्दिन भन्ने होश चाहिँ गुमाएनछु। जानकारी गराएँ। ऊ सुतिरहेको थियो। उठाएँ र भनेँ मलाई अत्यधिक टाउको दुखेको छ ड्यूटी जान सक्दिनँ। तपाई उठ्नुहोस र जानुहोस्।
  •  गर्मी अधिक छ कतारम यतिबेला। दिउँसोको समय गर्मीको कुरा नगरौँ। म छतमा आएँ। मलाई चिच्याउन मन लाग्यो डि…….मी भन्दै। डिमी म मायाले बोलाउने नाम। तर मलाई यो नामले बोलाउन मन लागेन। यस् नामलाई सम्झेर झन् मन पोल्यो भतभती। २ मिनेटमै शरीर पसिनाले भिज्यो।म पानीपानी भएँ। त्यसैबेला छतमा कपडा उठाउन भाइ अलि आयो। उसले भन्यो यो गर्मीमा किन बसेको दाइ? पसिनाले निथ्रुक्कै हुनुभएछ। उसले पसिनाले भिजेको शरीर देख्यो तर यादले खरानी भएको मन देखेन। भन्न मन लाग्यो “भाइ तन देख्यौ मन देखेनौ”। तर भन्न सकिनँ जसले मन जलायो उसैले त बुझ्न सकिन मलाई। अलीलाई भनेँ एसीको चिसोले एकदम टाउको दुख्यो त्यसैले आएको। जाऊ तिमी म एकछिनमा आउँछु। अलि गयो, मन एकतमास भयो। मनमा उही मात्र आउन थाल्यो। परपर हेरेँ उसलाई देख्ने आशाले। आँखामा बसेको उसको आकृति जताततै देखियो। ऊ आँखामा भन्दा बढी मनमा थिई अधिक मनमै देखियो। आँखामा भैदिएको भए बगाईदिन्थेँ आँसुले। मन बेस्सरी आत्तियो। बाटो पारिपट्टी देखेँ भिलाजिओ मल। त्यो मल करीब ४ वर्षको अन्तरालमा चार सयपटक हामी पुगेका थियौँ। उसैले रोजेर दिएको जाँगे र टिशर्टमा रहेछु। जुन उक्त मलमा किनेका थियौँ। पैसा मैले दिन खोज्दा तिम्रो स्यालरी आएको छैन भन्दै आफैले दिई। हुन पनि मेरो स्यालरी नआएको तीन महिना भैसकेको थियो। त्यतिबेला घरमा केटाकेटीको विद्यालयको शुल्क र घरखर्च समेत उसैले हेरेकी थिई। यी सबै कुराहरू मनमा सप्तकोशी उर्ले जस्तै उर्लेर आयो। मन थाम्नै सकिनँ। कोशी आँखाबाट बग्यो। रुँदा मन शान्त हुन्छ भन्थे ,आशा पनि थियो तर मन झन् अशान्त भयो।कोठामा आएँ र निस्किएँ। कहाँ जाने? मनले मनलाई सोध्यो। मनैले भन्यो भिलाजिओ। किन? उसलाई खोज्न।

थाहा छ उसको ड्यूटी भिलाजिओमा हैन। ऊ आफ्नै पसलमा काम गर्थी। उसका दाजुभाइहरूले कतारमा आफ्नै व्यवसाय सुरु गरेका थिए। ऊ त्यसमै काम गर्थी। त्यहाँ जान सकिनँ। उसका दाजुहरू होलान् उसलाई अप्ठ्यारो पर्छ भन्ने लाग्यो। भिलाजियो गएँ। भिलाजिओको जान मिल्ने ठाउँ सबै ठाउँ घुमेँ। खोजेँ उसलाई कतै देखिनँ। मनमा उसलाई बोकेर उसलाई खोज्न उक्त मलमा खोज्दै भौतारिएँ। अहिले त मन पनि गलिसकेको थियो। ठिक त्यही बेलामा मोबाईल बज्यो। हेरेँ नयाँ नम्बरबाट कल आएको थियो। उठाउन मन लागेन काटिदिएँ। पुनः कल आयो कसैलाई केहीकाम पर्‍यो कि। काम कसलाई नै पर्थ्यो र मेरो? जसलाई पर्नुपर्ने हो उसैको त बेवास्तामा छु। सोच्दै थिएँ मोबाइलको रिङ सकिसकेछ। मेसेज आयो प्लिज रिसिभ माइ कल। मेसेज पढेर नसक्दै कल आयो। उठाएँ हेलो भन्न नपाउँदै सुनेँ डिमी म अजिजिया मेट्रो स्टेशनमा छु। मसित मोबाइल छैन। ट्याक्सी ड्राईभरको मद्दतमा कल गरेको हुँ तिमी आऊ। तिमीले एउटा शुक्रबार १० बजेदेखि २ बजेसम्म कुरेको ठाउँमा बस्नेछु म। मैले हुन्छ भनेँ कल काटेँ। म त्यही ठाउँमा थिएँ जुनमा उसले बोलाएकी थिई।

प्रतिक्रिया