
लुम्बिनीमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई आह्वान

दाङ
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार विज्ञप्ति जारी गर्दै सरकार गठनका लागि आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्न भोली बिहीबार साँझ ४ बजेसम्मको समय दिएका छन् ।
लुम्बिनी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ अनुसार बनेको एमाले नेता लिला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार काम चलाउमा परिणत भएको थियो ।
सोमबार नै प्रदेश प्रमुख समक्ष एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार र गठबन्धन दलका नेताहरुले उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्न आग्रह गर्दै प्रदेश प्रमुख अमिक शेरचन समक्ष निवेदन दिएका थिए ।
प्रदेश प्रमुखले महान्यायाधिवक्ता, कानुनविद, संविधानको मर्म र यस अघि सर्वोच्च अदालतबाट भएको व्याख्या र नजिरलाई समेत आधार बनाउँदै संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश प्रमुख कार्यालयका सचिव प्रल्हाद पोखरेलले प्रदेशको समग्र हित र प्रशासनिक सुशासन चुस्त, दुरुस्त एवं क्रियाशिलता कायम राखी राख्न लामो समयसम्म अल्पमतको सरकार रह रहँदा विकास आयोजनाहरुमासमेत शिथिलता उत्पन्न हुने कुरालाई गम्भिरताका साथ लिनुपर्ने दायित्व बोध गर्दै सरकार गठनका लागि आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उपधारा ३ अनुसार आह्वान गर्दा लुम्बिनीमा एमाले नै पहिलो दल भएको र फेरि एमाले नेतृत्वमै सरकार गठन हुने भएकाले गठबन्धन दलको आग्रह अनुसार नै प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छन् । नेकपा एमालेले मुख्यमन्त्रीले राजीनामा नदिएकाले ठूलो दलको हैसियतमा १६८ (३) अनुसार सरकार गठन हुनुपर्ने जिकिर गर्दै आएको थियो।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार–चार जना सांंसद छन्। त्यसैगरी जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन– तीन जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एक जना र स्वतन्त्र एक सांसद छन्।
लुम्बिनी प्रदेशका ५३ प्रदेश सभा सदस्यले चैत १२ गते उपदफा २ अनुसार नै सरकार गठनको माग गर्दै कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाई सकेका छन् । सत्ता गठबन्धनमा कुनै राजनीतिक घटनाक्रम नभएमा प्रदेश प्रमुखको आह्वानसँगै लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना व्यापक छ । प्रदेश सभामा किनकि एमाले र राप्रपाको ३३ मत मात्र छ। बहुमतका लागि ४४ सांसद चाहिन्छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया