बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु || कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ६ बर्मेलीस्थित बाणगंगा नदीमा शनिबार राति एक्कसि आएको बाढीमा फसेका १२ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण नदी क्षेत्रमा फसेका एघार महिला र एक पुरुषलाई गएराति सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगङ्गा नदीमा एक्कासि बाढी आएपछि मानिसहरू फसेका थिए । उनले भने, “नदीमा पानीको बहाव बढेपछि त्यहाँ फसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार कार्यमा सशस्त्र प्रहरी टोली सक्रिय रूपमा परिचालन भएको थियो ।”

यसरी उद्धार हुनेहरुमा कपिलवस्तु नगरपालिका ६ की ७० वर्षीया गोपी परियार, ७० वर्षीया किरली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वयम्बु, ३२ वर्षीया मीना वयम्बु, ४५ वर्षीया बेलमति सुनार, ४५ वर्षीया सुश्मा जिसी, १८ वर्षीया लालुमाया श्रेष्ठ, ३४ वर्षीया लक्ष्मी परियार, ४० वर्षीया बिना विक, २४ वर्षीया बिन्दा थापा तथा ३७ वर्षीय रेशम परियार रहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो । उद्धार गरिएका सबै जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुले जनाएको छ ।
यसैबिच शरिबार साँझ नै बाणगंगा नगरपालिकामा पनि बाणगंगा नदिमा नुहाउन गएका तीन मध्ये २ बालको प्रहरीले शकुसल उद्धार गरेको थियो । सोही घटनामा अर्का एक बालक बेपत्ता भएका थिए । उनको मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै