सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते

 पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ठूलो ढुङ्गा कारमा बजारिँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार साँझ करिब ६ः३० बजे तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च ३९९९ नम्बरको कारमा अचानक सडक माथिबाट ढुङ्गा खसेको थियो। तीव्र गतिमा खसेको ढुङ्गा कारमा ठोक्किँदा सवारीसाधनमा ठूलो क्षति पुगेको छ।

दुर्घटनामा कार चालक रुपन्देहीको शुद्धोधन गाउँपालिका–२, कोलुवाका ३६ वर्षीय राजकुमार लोध, बुटवल उपमहानगरपालिका–७ दीपनगर (क) लाइन निवासी ३७ वर्षीया जुलन गैरे तथा बुटवलको जेसिज चोक क्षेत्र निवासी ६२ वर्षीया राधिका ढकाल घाइते भएका छन्।

प्रहरीका अनुसार जुलन गैरे र राधिका ढकालको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनीहरूको अवस्था गम्भिर रहेकाले बुटवल अस्पताल प्रालिमा सघन उपचार भइरहेको छ। चालक लोधको भने सामान्य चोट लागेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ।

दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धारकर्मीको सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बुटवल पठाइएको थियो। ढुङ्गा खसेर लागेको कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनापछि केही समय सडकमा सवारी आवागमन प्रभावित भएको थियो।

सिद्धबाबा क्षेत्र वर्षौंदेखि पहिरो, ढुङ्गा खस्ने तथा भूक्षयको उच्च जोखिममा रहेको क्षेत्र मानिन्छ। विशेषगरी वर्षायाम र त्यसपछिको समयमा सडक माथिबाट ढुङ्गा खस्ने घटना दोहोरिने गरेका छन्। यस क्षेत्रको जोखिम न्यूनीकरणका लागि सुरुङमार्ग निर्माणको काम जारी रहे पनि सडक प्रयोगकर्ताले अझै जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ।

प्रहरीले सिद्धबाबा क्षेत्र हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

खबर सबै