यातायात सेवा कार्यालय बुद्धभुमिमा खोल्नुपर्नेमा जोड

कपिलवस्तु ।
लुम्बिनी प्रदेश सरकारले कपिलवस्तु र नवलपरासीमा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय स्थापनाको तयारी गरिरहेका बेला शुक्रबार कपिलवस्तुको बुद्धभुमिमा मन्त्री र मन्त्रालयका सचिव सहितको उपस्थितिमा सरोकारवालासँग अन्र्तक्रिया गरिएको छ ।

कपिलवस्तु जिल्लामा स्थापना हुने कार्यालयले अर्घाखाँची र कपिलवस्तु दुबै जिल्लालाई लक्षित गरिएको उल्लेख छ । निर्णय सँगै दुवै जिल्लाका नागरिकले सामाजिक सँजालमा पायक पर्ने गरी राख्न अनुरोध पनि गरिरहेका छन् । केहीले कपिलवस्तुको राजमार्ग क्षेत्र र अर्घाखाँचीका जनताले बुद्धभूमि नगरपालिका र कपिलवस्तुका दक्षिणी भेगका जनताले जिल्ला सदरमुकाम तौलिहवामा राख्ने गरी आवाज व्यक्त गरेका छन् ।

विभागको सेवा कार्यालय स्थापनाको चर्चा चले सँगै बुद्धभुमि नगरपालिकाले भवन सहितको जग्गा व्यवस्थापन गर्ने भन्दै मन्त्रालयसँग अन्तरक्रिया गरेको हो । दुबै जिल्लाका जनतालाई सहज हुने भन्दै गरिएको अन्तरक्रियामा मन्त्रालयका सचिव दीपकराज नेपालले तौलिहवामा स्थापना गर्ने निर्णय भएको बताउनुभयो । तर लुम्बिनी प्रदेश सरकारलाई कार्यक्रममा सहभागिहरुले निर्णय सच्चाउन आग्रह गरेका छन् । दुबै जिल्लाका जनप्रतिनिधि सँग छलफल गरी पायक पर्ने ठाउमा कार्यालय खोल्न पनि उनीहरुले दवाव दिएका छन् । अर्घाखाँची र कपिलवस्तुलाई लक्षित गरी स्थापना गर्न लागिएको यातायात व्यवस्था कार्यालयलाई पायक पर्ने स्थानमा राख्न समेत माग गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा स्थापना गर्न लागेको यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीलाई सहज गराउने गरि स्थान तोक्न श्रम, रोजगार, यातायात व्यवस्था मन्त्री पुर्मती ढेगा मगर सँग अनुरोध गरिएको हो । मन्त्री पुर्मती ढेगा मगरले कार्यालयको स्थान परिवर्तन गर्न सकिने प्रतिबद्धता जाहेर गर्नु भएको छ । प्रदेश सरकारले सबै क्षेत्रको भावना समेटने भएकोले जग्गा व्यवस्थापन र जनप्रतिनिधिको समन्वयमा कार्यालय राख्न सकिने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव दीपक राज नेपालले सेवा कार्यालयबाट सवारी दर्ता बुक अर्थात ब्लु बुक नविकरण, सवारी अनुमति पत्र नवीकरण, भाडाको सवारी साधनको जाँच पास, रुट परमिट नविकरण र अस्थायी इजाजत पत्र (पटके)को काम गरिने जानकारी दिनुभयो । पछि लाइसेन्सको ट्रायल सेन्टर समेत खोलिने नेपालले बताउनुभयो ।

कार्यक्रममा बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले दुबै जिल्लाको साझा स्थल बुद्धभूमि २ गोरुसिंगे रहेकोले पायक पर्ने स्थानमा कार्यालय संचालन गर्नु पर्ने विचार व्यक्त गर्नुभयो । प्रदेश सरकारले अर्घाखाँची र कपिलवस्तुका सेवा ग्राहीलाई सेवा दिनका लागि कपिलवस्तुमा कार्यालय राख्ने निर्णय गरेकाले उपयुक्त स्थान छनोट हुनेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य नारायण खनालले अर्घाखाँचीका जनताको मनोभावना बुझी सबैलाई सजिलो हुने स्थानमा कार्यालय खोल्न प्रदेश सरकार सँग माग गर्नु भयो । दुई जिल्लाको लागि तौलिहवा पायक नहुने भन्दै गोरुसिंगे बाहेक अन्य विकल्प नभएको उहाँको भनाइ थियो । जसपा नेपालका केन्द्रिय सदस्य खनालले उहाँले अर्घाखाँचीको खिल्जी असाुरकोट देखि जलुके सम्म र ढाकावाङ देखि सिमलपानी सम्मका जनतालाई गोरुसिँगेबाट सेवा प्रवाह भएमा मात्रै सुगम हुने पनि बताउनुभयो । शुसासन, विकास, समृद्धी र जनतालाई छिटो सेवा प्रवर्दन गर्ने कुरामा जसपा नेपालसँग सम्बन्धित मन्त्रालय र मन्त्रीहरु सजग र सचेत रहनुपर्ने पनि उहाँले बताउनुभयो ।

त्यस्तै जसपा नेपालका केन्द्रिय सल्लाहाकर समितिका अध्यक्ष विष्णुहरि शर्माले यातायात विभागको सेवा कार्यालय कपिलवस्तु जिल्लामा राखिने कुराको स्वागत गर्दै दुबै जिल्लालाई पायक पर्ने र भौतिक पूर्वाधार, सूचना तथा संचार, व्यवस्थित यातायात, सबै दृष्टिकोणले बुद्धभुमि नगरपालिकाको गोरुसिँगे उपयुक्त हुने बताउनुभयो ।

कार्यक्रममा जसपा केन्द्रीय सल्लाहाकार समितिका अध्यक्ष शर्माले सहजिकरण समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

खबर सबै