अर्घाखाँचीको सन्धिखर्कमा पहिरो प्रभावित परिवारलाई बाख्रा वितरण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा किसानहरुलाई बाख्रा वितरण गरिएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ भुजुंगेका पहिरो प्रभावित ३९ दलित परिवारलाई बाख्रा वितरण गरिएको हो ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत ३९ घरपरिवारलाई प्रति परिवार तीन वटाका दरले बाख्रा वितरण गरिएको सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसालले बताउनु भयो ।

पहिरोको उच्च जोखिम रहेको दलित बस्ती भुजुंगेमा रहेका घरपरिवारलाई प्रदेश सांसद रामजीप्रसाद घिमिरे र सन्धिखर्क नगरपालिकाका मेयर भुसालले बाख्रा वितरण गर्नुभएको हो ।

कार्यक्रममा प्रदेश सांसद घिमिरेले कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्न मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । गरिबी निवारण र स्वरोजगार सिर्जना गर्नु अहिलेको मुख्य काम भएकाले यसतर्फ लागिपरेको उहाँको भनाइ छ ।

सन्धिखर्क नगरपालिकाका मेयर भुसालले आफूहरूले दिएका बाख्राको राम्रोसँग पालनपोषण गरेर आम्दानी लिन सबैलाई आग्रह गर्नुभयो । कृषि र पशुपालनको विकास विना देशको समृद्धि नहुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

खबर सबै