

कोईली नदीको वितण्डा : प्रत्यक्षदर्र्शीको भनाई र ज्यान बचाएकाको अनुभव




असोज ८ कपिलवस्तु
कपिलवस्तुको कोईली नदीमा बुधबार खसेको विद्युत प्राधिकरण जितपुर शाखाको गाडिमा सवार ६ जना मध्ये अझै एक जना बेपत्ता छन् । तीन जनाले गाडिबाटै हाम फालेर पौडिदै ज्यान बचाए भने एक जनाको घटना स्थलबाटै शव फेला परेको थियो । त्यस्तै बिहिबार बिहान देखि वेपत्ताहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । बेपत्ता दुई जना मध्ये दिउसो १ बजे एक जनाको शव फेला परेको छ भने थप एक जना हराईरहेका छन् ।
प्राधिकरण शाखाका प्रमुख कृष्ण पौडेल अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ । बिहिबार नदी किनारबाट लिफ्ट मागेका अर्घाखाँचीको सितगंगा १३ का केशव भाट क्षेत्रीको शव वाणगंगा नगरपालिकाको वडा नम्बर ६ भगलापुर स्थित सुठौली नाकाको नदी किनारमा फेला परेको हो । शरिरमा कालो रङ्को झोला बोकिराखेको अवस्थामा घाँसमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको घटनास्थलबाट हाम्रा सहकर्मी सागर पौडेलले जानकारी दिएका छन् । त्यस्तै वेपत्ता पौडेलको खोजीकार्य जारी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
वाणगंगा नगरपालिका वडा नम्बर ७ र ९ को सीमा क्षेत्रमा रहेको कोईली नदीले बुधबार दिउस विद्युत कर्मचारी सवार जीप बगाएको थियो । यस अघि सोही दिन बिहान पनि एउटा मोटरसाईकल बगाएको स्थानियले बताएका छन् । झण्डै डेढ दशक देखि एउटै समस्याको रुपमा रहेको कोईली नदीको कजवे पुलको कमजोर संरचनाका कारण नागरिकहरु हरेक वर्षको वर्षायाममा जोखिमपूर्ण यात्रा गरिरहेका थिए ।
कैयौँ पटक पशु चौपाया बगाईराखेको सो नदीले यस पटक सरकारी कर्मचारी सवार गाडि नै बगाएको छ । भलवाडका जनताले लामो समय देखि माग गरिरहेको पक्कि पुल निर्माण प्रति सरकारी निकायको उदासिनताका कारण पटक पटक यस्ता घटनाहरु हुने गरेका छन् । पुलको कमजोर संरचनाले विशेष गरी भलवाडका विभिन्न स्थानबाट अध्ययन अध्ययपनका लागि विभिन्न विद्यालय र कलेजहरुमा पुग्ने विद्यार्थी तथा शिक्षकहरु बढि जोखिममा पर्ने गरेका छन भने विरामी भई अस्पताल पुग्ने नागरिकहरुले समेत सास्ति खेप्ने गरेका छन् ।
घटनाबारे यस्तो बताउँछन प्रत्यक्षदर्शी
वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित शुद्धोधन जनजीवन माविमा कार्यरत शिक्षक भागिरथ न्यौपाने घटनाको प्रत्यक्षदर्शी हुनुहन्थ्यो । नदीमा पानिको बहाव वारपार थियो । विद्युत कर्मचारीहरु सवार गाडि नदी किनारमा करिब एक घण्टा नदी घट्ने र पारी जाने प्रतिक्षामा बसेको थियो । एक घण्टाको पर्खाई पछि भने नदी तर्न सकिने ठानेपछि उनीहरु गाडिमा चढे र पारी जान थाले । नदी माथि पुल, पुलको माथिमाथि तिव्र वेगमा बगिरहेको पानीको बहावमा विस्तारै हुईकिएको उनीहरुको गाडि झण्डै पुल पारी पुग्न पाउँदा नपाउँदै पुलबाट बगेर नदिमा खस्यो । करिब ३० सेकेण्ड जति गाडि बेलुन जस्तै पानीमा उत्रियो । अनि जब गाडि पानि भित्र जाँदै थियो सोही समयमा तीन जनाले पानीमा हाम फाले र पौडिदै ज्यान बँचाए । त्यस पछि नदी किनारमा सन्नाटा छायो । न कसैले गाडिको दृश्य देख्न पाए, न गाडि भित्र सवार अन्य मान्छे । सबैको अत्तोपत्तो हरायो ।
घटनाबाट बाँचेका विजय यस्तो बताउँछन् ।
कोईली नदीमा बग्दै गएको गाडिबाट हाम फालेर ज्यान बचाएका मध्ये एक हुन विद्युत कर्मचारी विजय पोख्रेल । उनका अनुसार पुल पार गर्न एक मिटर मात्रै दुरी थियो । सोही क्रममा गाडि नदीमा खस्यो । त्यस अघि करिब एक घण्टा नदी किनारमा बाढि घट्ने र पारी जाने प्रतिक्षामा उनीहरु बसेका थिए । पोख्रेलका अनुसार नदी किनारबाट विद्युत कर्मचारी बाहेक अन्य दुई जनाले लिफ्ट मागेर नदी पारी जान तयार भएका थिए । उनीहरु मध्ये एक स्थानिय शिक्षक कोपिला अधिकारी हुन भने अर्का केशव भाट क्षेत्री । उनीहरु दुई मध्ये अधिकारीले विजय पोख्रेल सँगै हाम फालेर ज्यान बचाईन भने भाट क्षेत्रीको शव बिहिबार सुठौलीमा फेला परको छ ।
विजयका अनुसार नदिमा हाम फालेपछि पौडी खेलेर आफुले ज्यान बचाएर नदी बाहिर आउँदा आफुले गाडि देख्न पनि पाएनन् । यस विषयमा के कसरी भयो अनुमान पनि गर्न नसकिएको उनको प्रतिक्रिया छ ।
पटक पटकको जोखिम कहिले सम्म ?
झण्डै डेढ दशक देखि सो सडकखण्ड भएर यात्रा गर्ने नागरिकहरु हरेक वर्षको वर्षायाममा जोखिमको यात्रा गरिरहेका छन् । सामान्य वर्षामा पनि पुल नै नदेखिने गरी आउने बाढी र त्यसमाथिको नागरिकहरुको जोखिमको यात्राका विषयमा विभिन्न संचारमाध्यमहरुबाट पटकपटक समाचार प्रकाशन र प्रसारण भए तर सम्बन्धित निकाय कानमा तेल राखेर बसिरह्यो । भलवाडमा पटक पटक भित्रने राजनितिक दलका नेता कार्यक्रताहरु देखि निर्वाचित जनप्रतिनिधिहरुको चुनावी नारा बनिरहेको सो कजवे पुल, यथार्थमा अहिले पनि नागरिकहरुलाई सास्तिपुर्ण बनिरहेको छ । तर पुलको स्तरबृद्धि वा नयाँ निर्माण हुने बारे कुनैपनि तहमा यसको योजना छैन । जसका कारण नागरिकहरु कहिले सम्म पुल बन्छ र सहज र निर्धक्क यात्रा गर्न पाईएला भन्नेमा आसावादी छन् ।
नदीको बहाव उच्च भए पछि जती ठूलो विपत्ति आईपरे पनि नदी पारी जान नपाईने बाध्यात्मक स्थितिले सुगम नगरको दुर्गम वस्तीको वास्तविकता झलझली देखाईरहेको छ ।

प्रतिक्रिया