

गौतम बुद्ध क्रिकेट लाई रोकेन कोरोनाले




ई–साझाकुरा, भदौ ९
कोरोना भाइरस संक्रमणका कारण देशका ठूला परियोजनाहरु प्रभावित बनेका छन् । कतिपयको काम निकै सुस्त छ भने कुनै बन्द छन् । तर, चितवनको भरतपुर–१५ रामपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम भने अटुट रूपमा चलिरहेको छ । कोरोना भाइरस संक्रमणको जोखिम भएपछि गएको चैत ९ गतेबाट रोकिएको काम बैशाख २० गतेबाट पुनः सुरु भएको छ भने काम रोकिएको छैन ।
मध्य बर्खा, बढ्दो गर्मी, कामदारको अभाव, भनेजस्तो आर्थिक स्रोत नजुटेको अवस्था एवम् कोरोना कहरबाट उब्जिएका बाधा–व्यवधान र उत्पन्न प्रतिकूल अवस्थाका बीच पनि रंगशाला निर्माणको कामलाई धुर्मस–सुन्तली फाउण्डेशनले अघि बढाइरहेको छ । रंगशालामा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल “धुर्मस” र उपाध्यक्ष कुञ्जना घिमिरे “सुन्तली” आफैँ पनि खटिरहेका छन् । पिलर उठाउने काम सुरु भएसँगै रंगशालाले विस्तारै आकार लिन थालेको छ । रंगशालामा प्याराफिट निर्माणको बेस र पिलरको काम भैरहेको छ ।
झण्डै १५ हजार दर्शक अट्ने प्याराफिट ‘ए’ स्ट्याण्डको काम धमाधम भैरहेको छ । प्याराफिट ‘ए’ को पिल्लरको काम सकिएलगत्तै प्याराफिट ‘बी’ को काम सुरु गर्ने योजना फाउण्डेशनको छ । आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर इन्जिनियर मणि दासले दिएको जानकारी अनुसार एक लाइनमा पाँचवटा पिलर रहनेछ भने जसमा १४० पिलर खडा गरिएको छ । प्याराफिटको पहिलो स्टेप डिपिसी लेभलबाट १ मिटर २० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने, अन्तिम पाँचौ पिलर २१ मिटर उचाइको हुने इन्जिनियर दासले बताए । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि डेढ साता अघिबाट जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञाका कारणले बजार क्षेत्र ठप्प छ । रंगशालाका लागि आवश्यक सामाग्रीहरु जुटाउन पनि मुस्किल हुँदै गैरहेको छ । ‘परिस्थिति निकै जटिल बन्दै छ, तर पनि हामीले यताउता मिलाएर अत्यन्तै सावधानी र सचेतनापूर्वक रंगशालाको काम गरिरहेका छौं,’ फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले भने, ‘कोरोना र बर्खाले दुःख नदिएको भए अहिलेसम्म ‘बी’ साइडको पनि सबै काम सकिएको हुन्थ्यो ।’ अहिले रंगशालामा दैनिक १३१ जना कामदारलाई कोरेटाइन राखेर काममा लगाइएको छ । उनीहरूलाई बाहिर जान र समुदायसँग सम्पर्कमा जान रोक लगाइएको छ । कामदारहरूको नियमित जस्तो स्वास्थ्यको ख्याल गरेर काममा लगाउने गरिएको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए । दिउँसोमा चर्को गर्मी हुने भएकाले कहिलेकाहीँ मौसमले साथ दिँदा रातमा समेत काम गर्ने गरिएको छ ।
‘अहिले भैरहेको कामदारमा तीन गुणा थपेर तीन सिफ्टमा काम गर्ने योजनामा थियौं तर कोरोना भाइरसको त्रासका कारणले गर्न सकिरहेको अवस्था छैन,’ अध्यक्ष कट्टेलले जानकारी दिदै भने ‘रंगशालाको काम प्रभावित हुँदै नभएको भन्ने हैन, भैरहेको छ तर जति सकेका छौं त्यति गरेका छौं ।’ नेपालमा कोरोना भाइरसको संक्रमण फैलिनुअघि रंगशालामा हेर्न आउने दर्शकहरुको निकै ठूलो भीड र घुइँचो लाग्ने गर्दथ्यो । पर्यटकीय केन्द्रका रूपमा नै रंगशाला विकास भैरहेको थियो । विभिन्न आमा समूह, सहकारी, टोल विकास संस्था, विभिन्न जिल्लाबाट आउने भ्रमण टोलीहरू नियमित जस्तो रंगशालामा पुग्ने र सकेको सहयोग गर्ने गर्दथे । विदेशमा रहेका नेपालीहरूले पनि सहयोग गरेका थिए । दैनिक ७÷८ लाख आर्थिक सहयोग उठ्ने अवस्था थियो । तर, अहिले रंगशाला हेर्न जाने परिस्थिति छैन ।
सहयोग गर्ने क्रम पनि निकै न्यून छ । विदेशमा रहेका केही नेपालीहरूले रंगशालाका लागि सहयोग पठाउने गरेका छन् । गएको माघमा रंगशाला निर्माणका लागि चितवनका धनधाञ्चाल महोत्सव आयोजना गरी करीब ७ करोड नगद उठाइएको थियो । सरकारी बोलकबल गरिएका रकमहरू अझै आएका छैनन् । भरतपुर महानगरपालिकाले गत आर्थिक बर्षमा नै दिने भनेर घोषणा गरेको ६ करोड ४५ लाख रकम अझै दिएको छैन । चालु वर्ष ५ करोड दिने भनेको छ । जिल्लाका अन्य स्थानीय तह, जिल्ला समन्वय समिति, प्रदेश सरकारले दिने भनेको रकम रंगशाला निर्माणका लागि आएको छैन । जसले गर्दा काम गर्न निकै असहज हुँदै गएको कट्टेल बताउँछन् । अझै पनि स्रोत जुटेको अवस्थामा अबको १८ महिनाभित्र रंगशाला निर्माणको काम सकिने विश्वासमा छन् धुर्मस । कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गरकोमध्ये २० बिघा जग्गामा बनिरहेको रंगशालाको लागत २ अर्ब ६० करोड हाराहारी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया