डब्ल्यूएचओले गर्‍यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

 विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओले करिब २४६ संदिग्ध संक्रमित र ८० जनाको मृत्यु भएको रिपोर्ट गरिएको यो प्रकोपले महामारीस्तरको आपत्कालीन मापदण्ड भने पूरा नगरेको जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले हाल संक्रमित व्यक्तिको वास्तविक संख्या र यो प्रकोपको भौगोलिक विस्तारबारे ठूलो अनिश्चितता रहेको चेतावनी दिएका छन् ।

इबोलाको यो वर्तमान प्रजाति ‘बुन्डिबुग्यो भाइरस’का कारण भएको र यसनिम्ति हालसम्म कुनै पनि स्वीकृत औषधि वा खोप उपलब्ध नभएको डब्ल्यूएचओले जनाएको छ ।

संगठनले हाल यो भाइरसका आठ प्रयोगशाला–प्रमाणित मामिला भएको र इटुरी प्रान्तको राजधानी बुनिया तथा सुनखानी रहेका सहरहरू मोंगवालु र र्वाम्पारासहित तीन स्वास्थ्य क्षेत्रमा अरू संदिग्ध संक्रमण र मृत्युका घटना देखिएको जनाएको छ ।

विश्वव्यापी स्वास्थ्य एजेन्सीले यो भाइरस प्रजातान्त्रिक गणतन्त्र कंगोभन्दा बाहिर पनि फैलिएको र छिमेकी राष्ट्र युगान्डामा दुई प्रमाणित संक्रमण रिपोर्ट गरिएको जानकारी दिएको छ । बिहीबार मृत्यु भएका ५९ वर्षीय एक पुरुषमा परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो ।

कंगोसँग सीमा जोडिएका देशहरूमा यो रोग थप फैलने उच्च जोखिम रहेको मानिएको छ । डब्ल्यूएचओले कंगो र युगान्डालाई संक्रमण निगरानी, ‘कन्ट्याक्ट ट्रेसिङ’ र रोकथामका उपाय अवलम्बनका निम्ति आपत्कालीन कार्यसञ्चालन केन्द्रहरू स्थापना गर्न सल्लाह दिएको छ ।

संक्रमणको विस्तार कम गर्न प्रमाणित भएका बिरामीलाई तुरुन्तै ‘आइसोलेसन’मा राख्नुपर्ने र कम्तीमा ४८ घण्टाको अन्तरालमा गरिएका दुई बुन्डिबुग्यो भाइरस–विशिष्ट परीक्षण नेगेटिभ नआएसम्म उपचार जारी राख्नुपर्ने स्वास्थ्य एजेन्सीले जनाएको छ ।

डब्ल्यूएचओले प्रभावित क्षेत्रभन्दा बाहिरका देशहरूले आफ्ना सिमाना बन्द गर्न वा यात्रा तथा व्यापारमा प्रतिबन्ध लगाउन नहुने उल्लेख गरेको छ । त्यस्ता उपाय सामान्यतया डरका आधारमा लागु गरिन्छ । र, तिनको वैज्ञानिक आधार नहुने भनेर स्पष्ट पारिएको छ ।

इबोला पहिलोपटक सन् १९७६ मा हालको प्रजातान्त्रिक गणतन्त्र कंगोमा पत्ता लागेको थियो । यो चमेरोबाट मानिसमा सरेको विश्वास गरिन्छ । उक्त देशमा यो घातक भाइरल रोगको १७औँ प्रकोप हो ।

यो रोग शरीरका तरल पदार्थसँगको प्रत्यक्ष सम्पर्क तथा काटिएको वा फुटेको छालामार्फत फैलिने गर्छ । त्यसले गम्भीर रक्तस्राव र अंगहरू निकम्मा बनाउने जोखिम पैदा गर्छ ।

यसका प्रारम्भिक लक्षणमा ज्वरो आउने, मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने, टाउको तथा घाँटी दुख्ने हुन् । त्यसपछि बान्ता हुने, पखाला लाग्ने, डाबर देखिने तथा रक्तस्रावको समस्या देखिन्छ ।

डब्ल्यूएचओका अनुसार, इबोलाको कुनै प्रमाणित उपचार उपलब्ध छैन । यसको औसत मृत्युदर करिब ५० प्रतिशत छ ।

विगत ५० वर्षमा अफ्रिकी देशहरूमा यो भाइरसका कारण करिब १५ हजार मानिसको मृत्यु भइसकेको छ ।

कंगोमा सबैभन्दा घातक प्रकोप सन् २०१८ देखि २०२० का बीचमा फैलिएको थियो । उक्त अवधिमा झन्डै २३ सयजनाको मृत्यु भएको थियो । गत वर्ष पनि एक दुर्गम क्षेत्रमा प्रकोप फैलँदा ४५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

खबर सबै