

चन्द्रमाबाट नमुना सङ्कलन गर्याे चिनियाँ अन्तरिक्ष यानले






ई–साझाकुरा, मंसिर १८
चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाबाट नमुना सङ्कलन गरेको छ । मङ्गलबार चन्द्रमा अवतरण गरेको मानवरहित चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाको सतहबाट नमुना सङ्कलन गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनको भनाइ उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीन सरकारले ‘चाङ्गे ५’ नाम दिएको यान मङ्गलबार राति ११ बजे चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको थियो । यानले चन्द्रमामा अवतरण गर्ने क्रममा सफलतापूर्वक आफ्ना सौर्य प्यानल फहराएको थियो, जसबाट यानलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन्छ ।
हैनान प्रान्तमा रहेको हैनान अन्तरिक्ष केन्द्रबाट यो यान गएको नोभेम्बेर २४ मा प्रक्षेपण गरिएको थियो । यो यान चिनियाँ अन्तरिक्ष कार्यक्रमको एउटा महत्त्वाकाङ्क्षी परियोजना रहेको खबरमा उल्लेख छ ।
चन्द्रमा पुगेको यान दुई दिनसम्म चन्द्रमाको सतहमा रहनेछ र त्यहाँबाट दुई किलोग्राम ढुङ्गा र अन्य पदार्थ सङ्कलन गर्नेछ । यो यान यही डिसेम्बर महिनाको मध्यतिर उत्तरी चीनमा अवतरण गर्ने चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । यदि यो उडान सफल भएमा सन् १९७७ पछि पहिलोपटक पृथ्वीमा चन्द्रमाको सहतबाट नयाँ नमुना प्राप्त हुनेछ ।
यी नमुनालाई अनुसन्धानका लागि अरु देशका वैज्ञानिकलाई पनि उपलब्ध गराइने चीनले यसअघि नै जनाइसकेको छ । चीनको यो सफलताका लागि अमेरिकी र रुसी अन्तरिक्ष कार्यक्रमका अधिकारीहरुले बधाई दिएका छन् ।
पृथ्वीमा यसअघि सोभियत रुसको अन्तरिक्ष अभियानबाट सन् १९७६ मा चन्द्रमाबाट ढुङ्गा ल्याइएको थियो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया