लुम्बिनी प्रदेश नेपालको सबैभन्दा धेरै ‘ख्याउटेपन’ भएको सूचीमा

नेपालको सबैभन्दा धेरै पुड्कोपन भएको प्रदेश कर्णाली देखिएको छ भने सबैभन्दा धेरै ख्याउटेपन भएको सूचीमा लुम्बिनी प्रदेश परेको छ । नीति अध्ययन प्रतिष्ठानसँगको सहकार्यमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानले ल्याएको एक ‘शून्य भोकमरीतर्फ नेपालको यात्रा’ अनुसन्धानमा यस्तो देखाइएको छ ।

कर्णालीमा ३५.८ प्रतिशत पुड्कोपन देखिएको छ । यो भनेको हरेक १०० जनामा झण्डै ३६ जना पुड्कोपनको समस्यामा पर्नु हो । सबैभन्दा कम पुड्कोपन देखिएको प्रदेश भने बागमती प्रदेश छ, जहाँको पुड्कोपनको प्रतिशत १७.६ प्रतिशत रहेको छ ।

ख्याउटेपनमा भने सबैभन्दा अगाडि लुम्बिनी प्रदेश छ, जहाँ १६.२ प्रतिशत ख्याउटेपनको सिकार भएका छन् । अर्थात् हरेक १०० जनामा झण्डै १६ जना ख्याउटेपनबाट पीडित छन् । पाँच वर्षमुनिका बालबालिकामा गरिएको पोषणको अवस्था हेरेर यस्तो पाइएको हो ।

कृष्ण पहारी, हरि शर्मा न्यौपाने, जगन्नाथ अधिकारी, मञ्जेश्वरी सिंह र पूण्यप्रसाद रेग्मीजस्ता विद्यावारिधि गरेका पाँच जना र अरु दुई जना (रिजा मानन्धर र रामहरि गैरे)ले तयार गरेको रिपोर्टले वैश्विक भोकमरी सूचकांकमा नेपाल छिमेकी भारत तथा दक्षिण एसियाका पाकिस्तान तथा बंगलादेशभन्दा राम्रोस्तरमा रहेको देखाएको छ ।

नेपालभन्दा माथि भोकमरी सूचकांकमा श्रीलंका देखिएको छ । १४.८ अंकको भोकमरी सूचकांक भएको नेपालभन्दा चीन भने धेरै अगाडि ५ अंकभन्दा कममा रहेको देखिएको छ । पछिल्लो दुई दशकमा नेपालीले प्रयोग गर्ने क्यालोरी झण्डै ४ सयले बढेको पनि रिपोर्टमा उल्लेख छ ।

सन् २००३/४ मा २ हजार ४ सय ३४ क्यालोरी औसतमा प्रयोग गर्ने नेपालीले अहिले बढाएर २ हजार ८ सय ६ क्यालोरी पुर्‍याएको देखिएको छ । खाद्य असुरक्षाको पिँधमा तराईका दलित देखिएका छन् भने सबैभन्दा शिरमा पहाडी बाहुन देखिएको छ ।


बाहुनको ४ प्रतिशत हुँदा तराईका दलितको भने २१ प्रतिशतलाई खाद्य असुरक्षा भएको देखिएको छ । नेपालको कमजोर खाद्य सुरक्षाका विभिन्न कारणहरूमा अपुग्दो कृषि उत्पादन, आयातमा निर्भर अर्थतन्त्र, रेमिटेन्समा निर्भर मुलुक, कमजोर सुशासनलगायतका बुँदाको चर्चा गरिएको छ ।

खाद्य सुरक्षालाई राष्ट्रिय सुरक्षा मानेर नेपालका तीनै तहले खाद्य प्रणालीको चक्रको सम्बोधन, पोषण कार्यक्रम, शून्य भोकमरीका लागि वित्तीय व्यवस्थापनलगायतका सुझाव प्रतिवेदनमा दिइएको छ । सन् २०३० मा भोकमरी अन्त्यका लागि संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्य लिए पनि पूरा नहुने पक्कापक्की भएको अवस्थामा यो प्रतिवेदन सार्वजनिक भएको छ ।

सर्वेक्षणअनुसार पछिल्ला दुई दशकमा भोकमरी अन्त्यमा राम्रो प्रगति गर्ने देशमा नेपाल परे पनि शून्य भोकमरीका लागि भने नेपालले दिगो विकास लक्ष्य भेट्टाउने अवस्था देखिएको छैन ।

प्रतिक्रिया

खबर सबै