

बाणगंगामा ओभरलोड टिप्परको तिव्र गतिले कालोपत्रे माटोमा परिणत





कपिलवस्तु | कमजोर गुणस्तरका सडकमा क्षमता भन्दा दोब्बर बढी लोडसहितका टिप्परको तिब्र गतिका कारण सडक ध्वस्त भएका छन् । नदिजन्य तथा वनजन्य पदार्थको लिलाम बिक्री र निकासी गर्न वैकल्पिक सडकको व्यवस्था नगरी ग्रामिण सडककै भर पर्दा यहाँका सडकमा गरिएको कालोपत्रे माटोमा परिणत भएका छन ।
डिभिजन वन कार्यालय मार्फत लुम्बिनी प्रदेश सरकारले लगाएको ठेक्काका अन्र्तगत नदीजन्य पदार्थ बोक्ने टिप्परका कारण बाणगंगामा सडक जीर्ण बनेका छन् भने टिप्परको तिव्र गतिका कारण दुर्घटना जोखिम समेत बढाएको छ ।
कपिलवस्तुको बाणगंग नगरपालिका वडा नम्बर ९ अन्र्तगतका विभिन्न सामुदायिक वन क्षेत्र स्थित खोल्साखोल्सी व्यवस्थापन कार्यक्रम अन्र्तगत निकालिएको ढुङ्गा, गिटी बालुवा बिक्रिका लागि लगाइएको ठेक्काले यहाँको सडक कमजोर बनेको छ । स्थानीय तहले गरेको कालोपत्रे क्षमता भन्दा बढी (ओभरलोड)सहित टिप्पर गुडाउँदा सडक भत्किन थालेको छ भने टिप्परको तिव्र गतिका कारण दुर्घटना जोखिम समेत बढेको छ ।
पछिल्लो एक महिना देखि ओभेरलोड बोकेर टिप्परहरू गुड्दा नगरपालिकको योजनामा बनेका कमजोर गुणस्तरको कालोपत्रे सडक जीर्ण बन्नुका साथै साना सवारीसाधनलाई साँघुरो सडकमा सास्ती हुने गरेको छ ।
वैकल्पिक सडक बनाउनुको साटो ग्रामिण सडकमा ओभरलोडसहितका टिप्पर महिनादिन बढी समय देखि दौडिरहेका छन् । खासगरी बाणगंगा नगरपालिकाले नगरको सडक कालोपत्रे बजेट अन्र्तगत गरिरहेको सडक अन्त्याधिक कमजोर गुणस्तरको देखिन्छ । नगरपालिकाले आफ्नो बजेटबाट गर्ने कालोपत्रेलाई प्रिमिक्स पद्धती भन्ने गरिन्छ । यो पद्धती भन्दा कमजोर पद्धती ओटाशील हो । ओटाशील हाल शुन्य मात्रामा झरिसकेको भए पनि प्रिमिक्स सडकको गुणस्तरमा समेत समस्याहरु बढी देखिने गरेका छन् । प्रिमिक्स भन्दा उत्कृष्ट कालोपत्रे अस्फाल्ट हो । सडक डिभिन कार्यालय मार्फत बन्ने सडक अस्फाल्ट प्रयोग भएको भए पनि पालिकाले गर्ने सडक यो पद्धतीमा हाल सम्म आउन सकिरहेको छैन । तर यीनै कमजोर सडकमा सडकको क्षमता भन्दा बढी लोडसहित टिप्पर हुइकिन्छन् । टिप्पर मात्रै होइन यीनै सडकमा ओभरलोडसहितका वनक्षेत्रबाट लिलामविक्रि गरिएका काठ बोक्ने ट्रक्क पनि हुइकिन्छन् ।
यहाँका सडकको भार क्षमता जम्मा दश टन सम्मको हो । सामान्यतया एउटा टिप्परले यहाँका सडकमा १२ देखि २२ टन सम्म सामान बोक्ने गरेको पाइन्छ । यस्तो अवस्थामा समेत कुनैपनि निकायबाट चेकजाँच र कार्वाही हुने गरेको पाइदैन । सडकको क्षमता भन्दा दोब्बर बढी भारसहित टिप्पर हुइकिदा कालोपत्रे माटोमा परिणत भइरहेको छ । यस्तै हरेक वर्ष सडक मर्मतका नाममा करोडौँ बजेट स्वाहा भइरहेको छ ।
नदिजन्य पदार्थको निकासी तथा ढुवानी हुने सडक सञ्जाल अस्फाल्ट पद्धतीमा कालोपत्र नहुँँदा क्षणभरमै प्रिमिक्स सडक ध्वस्त भइरहेका छन् । वन तथा नदिजन्य पदार्थ स्थानीय तह देखि प्रदेश र केन्द्र सम्मकै सरकारका आन्तरिक स्रोत हुन । यी स्रोतको निकासी र बिक्रीबाटै तीन तहकै सरकार सञ्चालनमा टेवा पुगिरहेको छ । तर आन्तरिक आम्दानीको स्रोत ढुवानी गर्ने सडक भने कमजोर गुणस्तरमा निर्माण गर्दा एउटै सडकमा हरेक वर्ष बजेटको खोलो बगेको छ भने स्थानीय नगरिकहरुलाई विकासे योजनाले थप निराश पार्ने गरेको छ ।
यता कपिलवसतुको बुद्ध मार्गका नामले चिनिएको तिलौराकोट–बनगाई सडक पनि उस्तै जोखिममा पुगेको छ । क्रसर उद्योगका लागि नदिजन्य पदार्थ ढुवानी गर्ने टिप्परका कारण यो सडकका ठाउँठाउँमा भत्किसकेको छ । क्रसर उद्योगले वैकल्पिक सडकबिना नै सोही सडकमा पानी चुहाउँदै टिप्पर हुइकाएपछि सडक बिग्रिएर जीर्ण बनेको स्थानीयले बताउँछन् । यही कारण बाणगंगाका कतिपय स्थानमा कालोपत्रे गरिएको सडक अहिले भेट्टाउनै मुस्किल पर्ने गरेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया