

प्रथम कपिलवस्तु व्यापार मेला भव्य समारोहका बीच उद्घाटन


मायादेवी रंगशालामा आयोजित ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ शुक्रबार एक भव्य समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरिएको छ। मेलाको उद्घाटन उद्योग व्यापार संघ नेपालका केन्द्रीय अध्यक्ष खेम नारायण भण्डारीले गर्नुभयको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले देशमा निजी क्षेत्रको दायित्व र भूमिकालाई राज्यले आवश्यकरूपमा सम्बोधन गर्न नसक्दा उद्योगहरू कमजोर बन्दै गएको गम्भीर टिप्पणी गर्नुभयो। निजी क्षेत्रमा कमिसनको प्रलोभन अस्वाभाविक रूपमा बढ्नु, आयातमुखी प्रवृत्ति हावी हुनु र घरेलु उत्पादनलाई संरक्षण नदिनु वर्तमान आर्थिक समस्याका प्रमुख कारण भएको उहाँको भनाइ थियो ।
उहाँका अनुसार, “हाम्रा घरेलु उत्पादनले बजार गुमाइरहेका छन्, तर विदेशी उत्पादन भित्र्याउनेहरूले भने निर्बाध फाइदा उठाइरहेका छन्,” भन्दै सरकारले सुशासन, सहज सेवा र व्यवसायमैत्री वातावरण निर्माण गर्न नसक्दा औद्योगिक संरचना कमजोर बनेको स्पष्ट गर्नुभयो। भण्डारीले सरकारी निकायले सहजीकरण, प्रोत्साहन र दीर्घकालीन योजनासहित निजी क्षेत्रसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो।
समारोहमा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले व्यापार मेलाले स्थानीय उत्पादन, संस्कृति र उद्यमशीलतालाई राष्ट्रिय बजारसँग जोडेर आर्थिक विकासको आधार बलियो बनाउने बताउनुभयो। बाणगंगा नगरप्रमुख चक्रपाणी अर्यालले मेला साहित्य, संस्कृति, कृषि, पर्यटन र उद्योगलाई एकै छातामुनि ल्याएर समग्र नगरको आर्थिक–सामाजिक विकासलाई गति दिने अवसर भएको टिप्पणी गर्नुभयो।
उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल ‘कोपिल’ ले मेलालाई सफलतापूर्वक आयोजना गर्न पाउनु संघको दीर्घ इच्छाशक्तिको परिणाम भएको बताउँदै संघलाई साथ र सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, स्थानीय निकाय तथा समुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो।
वक्ताहरूले व्यापार मेलाले कृषि तथा घरेलु उद्योगको प्रवर्द्धन, महिला उद्यमशीलताको विस्तार, रोजगार सिर्जना तथा स्थानीय उत्पादनको बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उद्घाटन समारोहमा मेलाका निर्देशक कृष्णबहादुर कुँवरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव बासुदेव खनालले गर्नुभएको थियो। नगरका विभिन्न विद्यालय, क्लब तथा आमासमूहले बाजागाजासहित आकर्षक झाँकी प्रदर्शन गर्दै मेला परिक्रमा गरे। साथै मयुर नृत्य, पञ्चेबाजा र स्थानीय पहिचान झल्काउने विविध सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो।
“राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधिकरण” भन्ने मूल नाराका साथ सुरु भएको प्रथम कपिलवस्तु व्यापार मेला आगामी मंसिर १७ गतेसम्म निरन्तर सञ्चालन हुनेछ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया