कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड


भलवाड, भदौ १५ कपिलवस्तु | “रुख रोपौँ, वन जोगाऔँ” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ भर्तापुर, भर्लाबासमा रहेको कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहको २७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।साधारण सभामा समूहकी सचिव शुस्मा क्षेत्रीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कोषाध्यक्ष माधुरी सेन ओलीले आर्थिक वर्ष २०८२/०८३ को १ करोड १३ लाख ८४ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरेकी थिइन्।

कार्यक्रममा समूहका अध्यक्ष कुन्तामणि भुसालले सामुदायिक वनको आगामी कार्ययोजना तथा रणनीतिबारे जानकारी गराउँदै वन संरक्षणसँगै उपभोक्ताको हित र स्थानीय विकासलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम अघि बढाउने बताएका थिए ।कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख प्रभातविक्रम सापकोटाले सामुदायिक वनको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनमा उपभोक्ता समूहको भूमिका महत्वपूर्ण रहेको बताए। उनले वन क्षेत्रको संरक्षणसँगै वनबाट प्राप्त स्रोतलाई उत्पादनमूलक तथा आयआर्जनका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।सामुदायिक वनको संरक्षण तथा व्यवस्थापनका क्षेत्रमा उत्कृष्ट कार्य गर्दै राष्ट्रिय स्तरमा गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएकोमा कोइलीचौर साना किसान सामुदायिक वनलाई बधाई तथा शुभकामना दिँदै सापकोटाले आगामी दिनमा पनि वन संरक्षणको अभियानलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए ।

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि तथा वाणगंगा नगरपालिका–९ का वडा अध्यक्ष कमल पौडेलले कोइलीचौर सामुदायिक वन जिल्लाकै इतिहास बोकेको महत्वपूर्ण वन क्षेत्र भएको बताउदै यस वनले वाणगंगा–९ को भू–संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै उनले सामुदायिक वनले वडासँग समन्वय र सहकार्य गर्दै आफ्ना गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

साधारणसभामा सामुदायिक बनको तर्फबाट अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल, पत्रकार बाबुराम रायमाझी, समाजसेवी तथा सामुदायिक वनका सल्लाहकार नारायण खनाल, भलवाड सिकाइ केन्द्रका अध्यक्ष दीपक कुँवर लगायतले शुभकामना मन्तव्य राख्दै सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

साधारणसभाको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार ११ जना विद्यार्थीलाई छात्रवृत्तिस्वरूप शैक्षिक सामग्री प्रदान गरिएको थियो। सामुदायिक वनले वन संरक्षणका साथै शिक्षा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत योगदान गर्दै आएको समूहले जनाएको छ।कार्यक्रममा समूहका अध्यक्ष कुन्तामणि भुसालले साधारणसभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण उपभोक्ता, अतिथि, सरोकारवाला तथा सहभागीलाई धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रम समितिका वरिष्ठ उपाध्यक्ष देवबहादुर श्रीसको स्वागत तथा समूहकी सचिव शुस्मा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो।

कोइलीचौर साना किसान सामुदायिक वन २ सय १८ हेक्टर क्षेत्रफलमा फैलिएको छ। वनबाट ४ सय ७४ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन्। वन संरक्षण, भू–संरक्षण, वातावरणीय सन्तुलन तथा स्थानीय उपभोक्ताको जीविकोपार्जनमा सामुदायिक वनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

प्रतिक्रिया

खबर सबै