नेपालमा जेन–जी पुस्ताको दृष्टिकोण र शिक्षा

  • जेन–जीलाई विश्वमा भइरहेको विज्ञान र प्रविधिको विकासले प्रभाव पारेको छ । यो पुस्ता मात्र पाठ्यपुस्तक र परम्परागत शिक्षामा सीमित छैन, जीवनमा प्रयोग हुने सीप र व्यावहारिक ज्ञानलाई यिनीहरूले महत्त्व दिन्छन् ।
  • प्रविधिको विकास र अनलाइन शिक्षाको विस्तारले शिक्षा प्रणालीमा ठुलो परिवर्तन ल्याएको छ । आजका विद्यार्थीलाई विश्वभरका शैक्षिक स्रोतहरूमा पहुँच भएको छ ।
  • नेपालको शिक्षा प्रणाली अहिले संक्रमणको अवस्थामा छ । प्रविधि र नयाँ सोचले केही अवसर प्रदान गरेको छ भने सामाजिक र आर्थिक असमानताले पनि केही कठिनाइ ल्याएका छन् ।

माधव घिमिरे | यतिखेर हामीकहाँ नयाँ पुस्ता वा जेन–जी (जेनेरेसन जेड अर्थात् सन् १९९७ र २०१२ बिचमा जन्मेको पुस्ता) शिक्षाको क्षेत्रमा ठुलो परिवर्तनको साक्षी बनिरहेकोे छ । यो पुस्ता सामाजिक, सांस्कृतिक र प्राविधिक दृष्टिले संसारसँग जोडिएको छ र त्यसको प्रभाव नेपालका विद्यार्थीको जीवनमा पनि प्रत्यक्ष रूपमा देखिएको छ ।

नेपालजस्तो विकासोन्मुख मुलुकमा शिक्षा प्रणालीको सुधार र प्रगति महत्त्वपूर्ण आवश्यकता बनिसकेको छ । जेन–जीको दृष्टिकोण र अपेक्षालाई ध्यानमा राख्दै यसका चुनौती र सम्भावनालाई विश्लेषण गर्नु अत्यन्त आवश्यक छ ।

जेन–जीलाई विश्वमा भइरहेको विज्ञान र प्रविधिको विकासले प्रभाव पारेको छ । यो पुस्ता मात्र पाठ्यपुस्तक र परम्परागत शिक्षामा सीमित छैन, जीवनमा प्रयोग हुने सीप र व्यावहारिक ज्ञानलाई यिनीहरूले महत्त्व दिन्छन् । यिनीहरूको चाहना भनेको आफूलाई समाज र विश्वसँग जोड्नका लागि त्यस्ता शैक्षिक अवसर प्राप्त गर्नु हो, जसले गर्दा यिनीहरू न केवल आ–आफ्नो भविष्यको निर्माण गर्न सकुन्, समग्र समाजमा सकारात्मक परिवर्तन ल्याउन सकुन् । यसका लागि जेन–जीका विद्यार्थी अनुसन्धान, समूहमा काम गर्ने कला र डिजिटल प्रविधिहरूको प्रयोग गर्न इच्छुक छन् ।

आजका विद्यार्थीलाई प्रयोगात्मक, अनुभवजन्य र सामाजिक गतिविधिहरूमा पनि गहिरो रुचि छ । त्यसैले शिक्षकहरूको भूमिका अब केवल ज्ञान दिने नभई विद्यार्थीलाई मार्गदर्शन गर्ने, प्रेरणा दिने र जीवनका लागि आवश्यक सीप सिकाउने हुँदै गएको छ । जेन–जीका विद्यार्थीका लागि कक्षाभित्रको शिक्षा र कक्षाबाहिरका अनुभव दुवै महत्त्वपूर्ण छन् । यिनीहरू आत्मनिर्भरता, सामाजिक उत्तरदायित्व र सिर्जनशीलताका पक्षमा प्रबल विश्वास राख्छन् ।

जेन–जीलाई विश्वमा भइरहेको विज्ञान र प्रविधिको विकासले प्रभाव पारेको छ । यो पुस्ता मात्र पाठ्यपुस्तक र परम्परागत शिक्षामा सीमित छैन, जीवनमा प्रयोग हुने सीप र व्यावहारिक ज्ञानलाई यिनीहरूले महत्त्व दिन्छन् ।

आज शिक्षकहरूलाई केवल ज्ञानको स्रोतको रूपमा होइन, मार्गदर्शक, सल्लाहकार र प्रेरणा स्रोतका रूपमा हेर्ने दृष्टिकोणमा पनि ठुलो परिवर्तन आएको छ । यसले शिक्षक र विद्यार्थीबिचको सम्बन्धलाई सहयोग र संवादमा आधारित बनाएको छ । शिक्षकले विद्यार्थीलाई ज्ञान दिनुका साथै उनीहरूको सोच, सिर्जनात्मकता र समस्या समाधान क्षमतामा पनि सुधार ल्याउने काम गर्नुपर्नेछ ।

जेन–जीलाई विश्वमा भइरहेको विज्ञान र प्रविधिको विकासले प्रभाव पारेको छ । यो पुस्ता मात्र पाठ्यपुस्तक र परम्परागत शिक्षामा सीमित छैन, जीवनमा प्रयोग हुने सीप र व्यावहारिक ज्ञानलाई यिनीहरूले महत्त्व दिन्छन् ।

यसरी जेन–जीका विद्यार्थीले सूचना तथा प्रविधिका माध्यमबाट सिर्जनशीलता र व्यावहारिक शिक्षामा जोड दिन थालेका छन् । यसले नेपालको शिक्षा प्रणालीलाई अझ जीवन्त, विद्यार्थीकेन्द्रित र व्यावहारिक बनाउन मद्दत पु¥याएको छ ।
नेपालमा जेन–जीका विद्यार्थीको शिक्षामा अन्य असंख्य चुनौती पनि छन्, जसले यिनीहरूको शिक्षामा गहिरो प्रभाव पारिरहेको छ । नेपालजस्तो विकासोन्मुख देशमा सामाजिक र आर्थिक असमानताले प्रमुख चुनौतीहरूको रूपमा आफूलाई प्रस्तुत गरेको छ, त्यहाँ शिक्षामा असमान पहुँच र गुणस्तरको भिन्नता देखिन्छ ।

नेपालका विभिन्न भागमा विशेष गरी ग्रामीण क्षेत्रहरूमा विद्यालयको कमी, शिक्षकको अभाव र स्रोत–साधन अभावले शिक्षामा पहुँच र गुणस्तरको अन्तर ल्याइरहेको छ । संघीय राजधानी काठमाडौँ र अन्य प्रमुख सहरमा भने सुविधासम्पन्न विद्यालय र आधुनिक प्रविधिको पहुँचले विद्यार्थीलाई अधिक अवसर र गुणस्तरीय शिक्षा प्रदान गरेको छ । यसले ग्रामीण र सहरी शिक्षामा ठुलो अन्तर सिर्जना गरेको छ । यस असमानताले शिक्षामा समान अवसरको अधिकारलाई चुनौती दिन्छ ।

प्रविधिको विकास र अनलाइन शिक्षाको विस्तारले शिक्षा प्रणालीमा ठुलो परिवर्तन ल्याएको छ । आजका विद्यार्थीलाई विश्वभरका शैक्षिक स्रोतहरूमा पहुँच भएको छ । जेन–जीका विद्यार्थीका लागि अनलाइन प्लेटफर्म र डिजिटल स्रोत अतिरिक्त शिक्षा वा ज्ञानका स्रोतको रूपमा छन् । यसले शिक्षा प्रणालीलाई अझ लचिलो, खुला र पहुँचयोग्य बनाएको छ ।

यद्यपि कोरोना महामारीले एकदमै स्पष्ट रूपमा देखाइदिएको छ कि प्रविधिको पहुँच भनेको सबैका लागि समान छैन । यो महामारीले प्रविधिको असमान वितरण र डिजिटल खाडललाई प्रकट गरिदियो । कति विद्यार्थीलाई अनलाइन शिक्षा र डिभाइसहरूको पहुँच थियो भने कतिलाई अभाव । यसरी हेर्दा जेन–जीका विद्यार्थीबिच पनि ठुलो वर्गीय र क्षेत्रीय खाडल छ ।

नेपालको शिक्षा प्रणाली अहिले संक्रमणको अवस्थामा छ । प्रविधि र नयाँ सोचले केही अवसर प्रदान गरेको छ भने सामाजिक र आर्थिक असमानताले पनि केही कठिनाइ ल्याएका छन् । असमानता, बेरोजगारी, परम्परागत सोच र प्रविधिको अभावजस्ता चुनौतीलाई समाधान गर्न सकियो भने यो पुस्ता (जेन–जी) सक्षम जनशक्तिका रुपमा उदाउनेछ । यसका लागि राज्य, समाज र शैक्षिक संस्थाहरूको सहयोग आवश्यक छ ।

(घिमिरे श्री वाणगंगा माध्यमिक विद्यालय, गजेहडा, कपिलवस्तुका शिक्षक हुन् ।)

प्रतिक्रिया

खबर सबै