

मुस्लिम पर्व मुहर्रम प्रति हिन्दु आस्था, कपिलवस्तुमा धार्मिक सद्भावको अनुपम उदाहरण बन्दै ‘मुहर्रम’


किरणमान बज्राचार्य, कपिलवस्तु | मुस्लिम समुदायको महान पर्व मुहर्रममाथि तराईका हिन्दु समुदायको आस्था बढ्दै जाँदा कपिलवस्तुमा यो पर्व धार्मिक सद्भावको अनुपम उदाहरण बनेको छ।
मुस्लिमहरूले आफ्ना धर्मगुरु हजरते इमामे हुसैनको बलिदानको सम्झनामा शोक (मातम) का रूपमा मनाउने यो पर्वलाई हिन्दुहरूले भने पारिवारिक सुख, समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ धुमधामले मनाउन थालेका छन्।
इस्लामिक नयाँ वर्ष (हिजरी संबत्) सुरु भएपछि एक महिनाअघि देखि नै जिल्लाको दक्षिणी भेगका हिन्दु, मधेसी र थारु समुदायका गाउँघरमा मुहर्रमको रौनक छाएको छ। उनीहरू ढोलक र तासा बजाउँदै, नाचगान गर्दै यो पर्व मनाउँछन्।
हिन्दु समुदायले भाकल गरेर घरमा हुसैनको प्रतीक स्वरूप कागज र बाँसबाट बनेको ‘ताहजिया’ स्थापना गरी पूजाआजा गर्छन्। यसो गर्नाले पारिवारिक सुख, शान्ति र बिग्रेको कामसमेत बन्ने उनीहरूको विश्वास छ।
यशोधरा गाउँपालिका, मर्यादपुरका राधेश्याम मौर्यले १० वर्षदेखि मुहर्रम मनाउँदै आएको सुनाए। ‘५ वर्षअघि नै मेरो मनोकामना पूरा भयो। यो पर्व मनाउँदा पारिवारिक सुख मिल्छ,’ उनले भने। उनले मुस्लिम दाजुभाइहरूसँगै यो पर्व मनाउन पाउँदा निकै खुसी लागेको बताए।
त्यसैगरी, शुद्धोदन गाउँपालिकाका भिभुन यादव र कपिलवस्तु नगरपालिका-९ निग्लिहवाकी रामरति थारुले पनि आफ्ना बाबुबाजेको पालादेखि नै यो पर्व मनाउँदै आएको र यसबाट फलिफाप भएकाले निरन्तरता दिएको बताए।
मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा दुवै समुदायले सामूहिक रूपमा यो पर्व मनाउँदा आपसी भाइचारा र सद्भाव बढेको अधिकारकर्मी रवि ठाकुर बताउँछन। ‘देशमै मुस्लिमहरुको दोस्रो ठूलो बाहुल्यता रहेको जिल्लामा दुवै समुदायले सामूहिक रूपमा यो पर्व मनाएकोले एकआपसमा भाइचारा कायम गरेको छ,’ उनले भने।
मुस्लिम धर्मगुरुहरूका अनुसार १४ सय वर्ष पहिले इस्लाम धर्मको रक्षाका लागि इमामे हुसैन र उनका ७२ जना परिवारजनले दिएको बलिदानको सम्झनामा मुहर्रम मनाइन्छ।
हिन्दुहरूले उत्सवका रूपमा मनाए पनि मुस्लिम समुदायले भने यसलाई शोकको पर्वका रूपमा लिन्छन् र अन्तिम दिन (आसुरा) मा साहसिक प्रदर्शनहरू गर्छन्।
घरमा राखिएको ताहजियालाई अन्तिम दिन ‘करबला’ मा लगेर सेलाइने चलन छ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया