ब्राइट लुम्बिनीबाट ४५ जना जापानका लागि सिओइ प्राप्त विद्यार्थीको बिदाई


हरि आचार्य, कपिलवस्तु । शैक्षिक क्षेत्रमा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले सिओई प्राप्त विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरेको छ । विगतका जस्तै यस पटक पनि शत प्रतिशत सिओई खसाल्न सफल जिल्लामै उत्कृष्ट उक्त शैक्षिक संस्थाले अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई सफलताको शुभकामना सहित विदाई तथा सम्मान गरेको हो । एप्रिल इन्टेक २०२५ का लागि जापानको विद्यार्थी भिसा प्राप्त ४५ जना विद्यार्थीहरूलाई सम्मान, विदाई तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । सि.ओ.ई. प्राप्त विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको हो ।

कार्यक्रममा सिओई प्राप्त विद्यार्थीहरुले ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन शैक्षिक क्षेत्रमा अब्बल सावित भएको बताउदै धन्यवाद दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै अध्ययन तथा अनुभवले आफू, परिवार र देशलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाले कठिन परिश्रम, अनुशासन र निरन्तर प्रयत्न नै सफलताको कडी हुने बताउदै मातृभुमिलाई बिर्सन नहुनेमा जोड दिनुभयो ।

विशिष्ट अतिथि वडा नं. ४ का वडा अध्यक्ष छवि रेश्मी मगरले जापानमा अध्ययनपछि आर्जन गरिने ज्ञान तथा सीपलाई स्वदेशमै उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले बिदाइ कार्यक्रममा संस्थाले देखाएको चासो र योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूको सफलताको कामना गर्नुभयो ।

राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष लेखनाथ घिमिरेले नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै राष्ट्रको गौरव बढाउने कुरामा जोड दिँदै अध्ययन तथा संस्कृतिमा सन्तुलन राख्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बिक्रम परियार, पुर्ण चन्द्र परियार, शिव खनाल, भक्तिराम घिमिरे लगायतले शुभकामना मन्तब्य सहित सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

संस्थाका प्रमुख असीम क्षेत्रीले कार्यक्रम विदाई तथा सम्मान कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिंदै सम्पुर्णको शैक्षिकसंगै समुज्ज्वल भविष्यको कामना गर्नुभयो । उहाँले गतिविधिहरुबारे स्पष्ट रुपमा जानकारी गराउदै जापान पुगिसकेपछि हुने क्रियाकलापको बारेमा प्रस्ट पार्नुभएको थियो । उहाँले यस शैक्षिक संस्थाले अध्यापन गराएर शुल्क लिने काम मात्र नगर्ने भन्दै विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढ्दै जाने बताउनुभयो ।

ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा. लि.का संचालक असिम कंडेल क्षेत्रीको अध्यक्षता तथा कोरियन भाषा प्रशिक्षक माधव घिमिरेको स्वागत मन्तव्य तथा संस्थाका प्रेस सल्लाहकार हरि आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया