

सभापति अम्मरबहादुर थापासहितको टोली शिक्षा विधेयकबारे परामर्श लिन लुम्बिनी प्रदेशमा आए





प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापासहितको टोली शिक्षा विधेयकबारे परामर्श लिन लुम्बिनी पुगेको छ।
विधेयकबारे सात वटै प्रदेशमा परामर्श लिने काम भइरहेको सभापति थापाले जानकारी दिए।
उनको नेतृत्वको टोली बुधबार बुटवल पुगेको थियो। बिहीबार भने दाङको दंगीशरण गाउँपालिका-३ चखौरामा पुगेर थारू संग्राहलयको अवलोकन समेत गरेको छ।
सभापति थापाका अनुसार समय अनुकुल आत्मनिर्भर र सीपमूलक शिक्षा आवश्यक परेको हुँदा सबै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरिएको हो।
लुम्बिनीसहित ६ वटा प्रदेशको सुझाव संकलन भइसकेको र बागमती प्रदेशमा भने माघ १४ गते जाने तयारी रहेको उनको भनाइ छ।
‘एकेडेमिक सर्टिफिकेट मात्रै होइन। अब मुलुकलाई जीवन उपयोगी शिक्षा आवश्यक छ भन्ने सुझावहरू आएका छन्,’ थापाले भने, ‘अहिलेको शिक्षा भनेको जागिरमूलक शिक्षा मात्रै भयो भन्ने गुनासो आएको छ। अब सीपमूलक र आत्मनिर्भर शिक्षा चाहियो भन्ने छ।’
प्रस्तुत विधेयक विभिन्न संशोधनहरू परेको हुँदा कक्षा ४ वा कक्षा ८ कहाँदेखि त्यस्तो सीपमूलक शिक्षा लागु गर्ने भन्नेबारे सुझावका आधारमा निर्क्यौल हुने सभापति थापाले जानकारी दिए।
निजी विद्यालय पढेकाहरू युरोपियन देशहरूमा जान सक्ने तर सामुदायिक विद्यालय पढ्नेहरू किन खाडीतिर बढी गए भन्ने ढंगका सवालहरू पनि सुझावमा आएका उनले बताए।
विभिन्न विद्यालयहरूमा पुगेर सर्वसाधारण नागरिकलाई समेत प्रत्यक्ष सोधेर अबको कस्तो शिक्षा चाहिएको हो? भनेर सोधेको हुँदा त्यसैका आधारमा शिक्षा विधेयक बन्ने उनले विश्वास दिलाए।
‘अबको शिक्षा व्यक्ति मात्रै निर्माणका लागि भन्दा राष्ट्र निर्माणका लागि हुनुपर्छ भन्ने सुझावहरू आएका छन्,’ उनले भने, ‘सुझाव अनुसार राष्ट्रहीतका लागि आवश्यक शिक्षा कस्तो हुनुपर्छ? भन्ने बारे आएका सुझाव अनुसार निर्माण गरिने छ।’
समितिकी सदस्य सांसद तोसिमा कार्कीले पहिले बन्द कोठा भित्र बसेर शिक्षा विधेयक बनाउने गरिएको भए पनि ५२ वर्ष पछि पहिलो पटक सातै प्रदेशमा पुगेर सुझाव संकलन गरी शिक्षा विधेयक बनाउने काम भइरहेको बताइन्।
‘हामीले यो बीचमा थुप्रै विद्यालयहरू अनुगमन गरेका छौं। धेरै सरोकारवालाहरूसँग अबको शिक्षा कस्तो हुनुपर्छ भनेर छलफल गरेका छौं,’ उनले भनिन्, ‘अहिले एसइईमा राम्रो अंक ल्याएको छ। तर जीवन उपयोगी शिक्षा वा ज्ञान सीप ऊसँग छैन भने त्यो के कामको भयो।’
टोलीमा दाङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री रेखा शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी लगायत १५ जना सांसदहरू बिहीबार बिहान चखौराको थारु संग्राहलय अवलोकनका लागि पुगेको थिए।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया