लुम्बिनीका ४ स्थानको नतिजा राति नै आउने, पुथा उत्तरगंगामा भोलि मात्रै मतगणना 

रुपन्देही । लुम्बिनी प्रदेशका ५ स्थानीय तहको आइतवार भएको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ ।

आइतवार लुम्बिनीमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष र वडाअध्यक्ष, गुल्मीको मुसिकोट नगरपालिकामा, बर्दियाको ठाकुरबाबा गाउँपालिका, रोल्पाको रुन्टीगढी गाउँपालिका र कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा वडाअध्यक्षका लागि निर्वाचन भएको थियो ।

सम्बन्धित स्थानीय तहका मतदान अधिकृतहरुका अनुसार सबै स्थानीय तहमा निर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षको वाहेक अन्य सबै वडामा आइतवार रातीदेखि नै मतगणना सुरु गरिएको छ । पुथामा सोमबार विहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने गरी तयारी गरिएको छ ।

पुथाको १४ वडाको २२ मतदान केन्द्रबाट निर्वाचन भएको र सबै केन्द्रबाट मतपेटिका गणनास्थलसम्म ल्याउन समय लाग्ने भएकाले सोमबार विहानबाट मात्र मतगणना गर्ने गरी तयारी गरिएको निर्वाचन सहायक अधिकृत इश्वरीप्रसाद सुवेदीले बताए । पुथामा ११ हजार १ सय ८० मतदातामध्ये ५ हजार ९ सय ३३ जनाले मतदानमा सहभागी भएको सुवेदीले बताए ।

कपिलवस्तुको वडा नम्बर १ मा ६९ दशमलब ४१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी अमरबहादुर वलीका अनुसार तीन हजार ३ सय ७९ मत खसेको छ । उनले तीन वटै मतदान स्थलमा गरी ६९.४१ प्रतिशत मत खसेको बताए ।

वलीले मतगणनाको सबै तयारी सकिएकाले आइतबार राति ८ बजेदेखि नै मतगणना सुरु गर्ने बताए । रुकुम पूर्वको पुथा उत्तरगंगाको वडा नं. २ को वडा अध्यक्षमा भने यस अघि नै माओवादीका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भइइसकेका छन् ।

शुद्धोधन गाउँपालिका १ मा निर्वाचनका लागि ४ हजार ८ सय ६८ मतदाता रहेका थिए । नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रिक्त पदको लागि निर्वाचन भएको थियो । वडा अध्यक्ष पदमा चार स्वतन्त्रसहित १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

त्यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्षका लागि भएको निर्वाचनमा ६३ दशमलब ७९ प्रतिशत मतदान भएको छ । बर्दियामा पनि आइतवार रातीबाटै मतगणना सुरु भएको छ ।

ठाकुरबाबा नगरपालिका वडा नं ४ मा ३ हजार ५ सय १० मतदातामध्ये २ हजार २ सय ३९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताए । त्यहाँ वडाध्यक्ष पदका लागि ६ जना उम्मेदवार छन् । वडाध्यक्ष सुर्यबहादुर विष्ट जिल्ला समन्वय समितिका प्रमुख भएपछि हाल उपनिर्वाचन भएको हो ।

त्यस्तै, गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाअध्यक्षका लागि भएको निर्वाचनमा ५७ दशमलब १ प्रतिशत मत खसेको छ । वडाका ४ हजार ५१ मतदातामध्ये २ हजार ३ सय ३४ जनाले मात्र मतदान गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । गौतमका अनुसार मुसिकोट नगरपालिकामा पनि आइवार रातिदेखि नै मतगणना सुरु भएको छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडा अध्यक्षका लागि भएको निर्वाचनमा झण्डै ६० प्रतिशत मत खसेको छ । १ हजार ९ सय मतदाता रहेको वडामा १ हजार २ सय ९७ जनाले मतदान गरेका छन् ।

रुन्टीगढीको मतगणना सुरु भईसकेको छ । तिन घण्टाभित्र नै नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको प्रमुख जिल्ला अधिकारी खिमबहादुर अधिकारीले बताए ।

प्रतिक्रिया