लुम्बिनीमा ‘बालीवस्तु विशेष सघन कार्यक्रम’ : कुन जिल्लामा के बाली उत्पादन गर्ने ?


लुम्बिनी प्रदेशलाई खाद्यबालीमा आत्मनिर्भर बनाउन र उत्पादकत्व वृद्धि गर्न लुम्बिनी प्रदेश सरकारले १२ जिल्लामा बालीवस्तु विशेष सघन कार्यक्रम ल्याएको छ । उत्पादनलाई बढाउँदै लैजाने र कृषकलाई आत्मनिर्भर बनाउने यसको लक्ष्य रहेको बताइएको छ ।
प्रदेशका तराई र पहाडी जिल्लामा फरक–फरक बाली उत्पादन गर्न बालीवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको हो । जसमा पहाडका रोल्पा र रुकुममा स्याउ र वर्षे आलु उत्पादन गर्न लागिएको छ । प्यूठान, गुल्मी, अर्घाखाँची र पाल्पामा सुन्तला जातका फलफूल र तरकारी उत्पादन रहेको छ ।
तराईका ६ जिल्ला रुपन्देहीमा तोरी, हिउँदे वसन्ते मकै, नवलपरासीमा वसन्ते मकै र आलु, कपिलवस्तुमा मसिनो धान र वसन्ते मकै, दाङमा तोरी र तरकारी, बाँकेमा मसिनो धान, मसुरो, बर्दियामा चैते धान, तोरी र मसुरो रहेको कृषि विकास निर्देशनालयका कृषि प्रसार निर्देशक रामप्रसाद पाण्डेले बताए । यसका लागि प्रदेश सरकारले नीति तथा बजेटमा उल्लेख अनुसार उत्पादन वृद्धि गर्ने, कृषकलाई आत्मनिर्भरसहित स्वरोजगार बनाउने लक्ष्य लिएको उनले बताए ।
एक जिल्ला एक उत्पादनलाई जोड दिइएको छ । एउटा जिल्लामा एक बाली विशेष प्राथमिकतामा राखेर सहयोग गर्दा उत्पादन बढ्छ भन्ने रहेको पाण्डेले बताए । कार्यक्रमलाई कृषक फार्म, कम्पनी, कृषक समूह र सहकारी समेटिनेछन् । पहाडमा भन्दा तराईमा तोरी, मकै, आलु उत्पादन धेरै हुने र पहाडमा सुन्तला तथा सुन्तलाजन्य र तरकारी उत्पादन उपयुक्त हुने भएकाले १२ जिल्लामा बाली नै छुट्याएर कार्यक्रम सञ्चालन गरिएको पाण्डेको भनाइ छ ।

प्रतिक्रिया