रविको पक्षमा आज पनि पोखरामा प्रदर्शन

पोखरा| सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा आज पनि प्रदर्शन भएको छ ।

रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइरहँदा रास्वपाका नेता कार्यकर्ताले पोखराको वाइ चोकमा सडकमै बसेर विरोध प्रदर्शन गरेका हुन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोकदेखि वाइचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।

रास्वपा कार्यकर्ताले शनिबारदेखि उनको पक्षमा प्रदर्शन गरिरहेका छन् । तर, रास्वपाले सोचेअनुसार प्रदर्शनमा जनसहभागिता भने देखिएको छैन । उर्दी नै जारी गरेर पूर्वदेखि पश्चिमसम्मबाट बोलाइएका केही सय कार्यकर्ता र पार्टीको सिंगो नेतृत्व पंक्तिको भरमा आन्दोलन चलिरहेको छ ।

गत शुक्रवार काठमाडौंबाट पक्राउ परेका लामिछाने रातारात पोखरा पुर्‍याइएको थियो । यसअघि थपिएको म्याद सकिएपछि आज उनलाई पुन: म्याद थप गर्न कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

सहकारी प्रकरणमै एक महिनाअघि पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पनि आज अदालतमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया