मुख्यमन्त्री आचार्यद्वारा कपिलधामको अवलोकन

बाबुराम रायमाझी,जितपुर | लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले आइतबार कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ९ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको कपिल आरोग्य मन्दिर (कपिलधाम) को अवलोकन गरेका छन्। यस भ्रमणका क्रममा उनले कपिलधामको वर्तमान अवस्था र विकासका सम्भावनाहरूबारे विस्तृत जानकारी लिए।

मुख्यमन्त्री आचार्यले कपिलधामलाई लुम्बिनी प्रदेशको एक महत्वपूर्ण गौरवको आयोजनाको रूपमा विकसित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले यस स्थललाई पर्यटकीय केन्द्र र नमूना विकास परियोजनाको रूपमा अघि बढाउने योजना रहेको बताए। मुख्यमन्त्रीले चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कपिलधामको विकासका लागि बजेट विनियोजन भइसकेको जानकारी दिँदै, आगामी दिनहरूमा यस क्षेत्रको समग्र विकासमा विशेष जोड दिइने बताए। यस अवलोकनका क्रममा, आचार्यले निर्माणाधिन कोइली खोला (ख) मा बन्न लागेको पुलको पनि अवलोकन गरे। सोही क्रममा कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्यले मुख्यमन्त्री आचार्यलाई धामको विकास र विस्तारका लागि तयार योजनासहितको सुझाव पत्र पेश गरेका थिए ।

कार्यक्रममा वडा नं. ९ का अध्यक्ष कमल पौडेलले वडाको भौगोलिक अवस्था र लामो समयदेखि चर्चामा रहेको बनगाई-डोहोटे सडकको समस्याबारे मुख्यमन्त्रीलाई अवगत गराए। कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्यले मुख्यमन्त्री आचार्यलाई धामको सौन्दर्यीकरण र विकासका विभिन्न पक्षहरूबारे विस्तृत जानकारी दिए। उनले धाम परिसरमा रहेका गौशाला, साहित्य तीर्थ स्थल, त्रिरत्न गुम्बा, पुस्तकालय, प्राकृतिक चिकित्सालय, बाल उद्यान, गुरुकुल जस्ता संरचनाहरूको महत्व र तिनको विकासको आवश्यकताबारे प्रकाश पारे। साथै, सनातन धर्म र संस्कृतिको प्रवर्द्धनका लागि महायज्ञ सञ्चालन गर्दा  आएको  पनि बताए।

कार्यक्रमको सञ्चालन धामका सह-सचिव दुर्गा पौडेलले गरेका थिए। यस अवसरमा वडा नं. ७ का अध्यक्ष विष्णु गिरि, स्थानीय नेता, कार्यकर्ता र बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

मुख्यमन्त्री आचार्यको यस पहलले स्थानीय पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको गरिनुका साथै, यसले धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने विश्वास गरिएको मुख्यमन्त्रीलाई स्वागत गर्न उपस्थित भएका सहभागीहरुले बताएका छन् ।

प्रतिक्रिया