लुम्बिनीका पहाडी जिल्लाका अधिकांश सडक अवरुद्ध, कहाँ कहाँको अवस्था के छ ?
बुटवल | लगातार परिरहेको झरीले गएको पहिरोका कारण लुम्बिनी प्रदेशका सबै पहाडी जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् । पानी रोकिने अवस्था नभएको र निरन्तरको झरीले तत्काल सडक खुल्ने सम्भावना नरहेको भन्दै अति आवश्यकबाहेक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।
प्रदेशभर बाढी र पहिरो चलिरहे पनि अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
लुम्बिनी प्रदेशमा पर्ने पूर्वपश्चिम राजमार्गको दाङ सडक खण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको केराबारी नजिक गएको पहिरोले सडक अवरुद्ध छ । पाल्पाको बर्तुङ–पोखरा सडक पनि अवरुद्ध छ । बगनासकाली–१ मा पहिरो गएपछि सडक बन्द छ ।
लामो समयदेखि सडक अवरुद्ध भएपछि बुटवलदेखि पोखरा, बाग्लुङ, गुल्मी, स्याङजा लगायतका जिल्लामा जाने यात्रु र सवारीसाधन सडकमै अलपत्र परेका छन् ।
लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरिक्षक श्यामबहादुर खत्रीका अनुसार गुल्मीका रिडी तम्घास सडक, रिडी रुद्रवेणी वामीटक्सार सडक, तम्घास छल्दी सिमलटारी सडक, अर्घाखाँचीको सन्धिखर्क गोरुसिंगे सडक, तम्घास सन्धिखर्क लगायतका सडकमा दर्जनौं पहिरो गएका छन् । पहिरोले सडक अवरुद्ध भएका छन् । ‘अहिलेसम्म मानवीय क्षति भएको छैन्,’ उनले भने, ‘अति आवश्यक बाहेकको अवस्थामा यात्रा गर्ने अवस्था पनि छैन । अति जरुरी बाहेक बाहिर ननिस्कन हाम्रो अनुरोध छ ।’
राजमार्ग र सहायक सडकहरु खुलाउने प्रयास प्रहरी र सडक डिभिजन कार्यालयहरुको सहकार्यमा भईरहेको उनले बताए ।
लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको त्रिबेणी गाउँपालिकास्थित सहिद मार्ग पनि पहिरोले पूर्ण रुपमा अवरुद्ध छ । त्यस्तै गुल्मीको छत्रकोट गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोले रिडी तम्घास सडक खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । धार्मिक क्षेत्र रिडी कालीगण्डकीमा पानीको बहाव बढेपछि जलमग्न छ । रिडीको तिनमुखे पुलको पहिलो खण्डसम्मै पानी पुग्न थालेको छ ।
प्यूठानको प्यूठान भालुवाङ सडक खण्डको माण्डवी गाउँपालिकाको गर्जेनी स्थित सिमलचौर, सरुमारानी गाउँपालिकाको पाखुरी खोला नौबहिनी गाउँपालिकाको कालिमाटी स्थित मैरामारे क्षेत्रमा दर्जनौ पहिरो झरेका छन् । प्यूठान र रुकुम पूर्वका मुख्य र सहायक सडकपनि अवरुद्ध भएका छन् । रोल्पाको सहिद मार्गको तीन स्थानमा पहिरो गएको छ ।
लुम्बिनी प्रदेशका तराईका जिल्लाहरु रूपन्देही, पश्चिम नवलपरासी, कपिलबस्तु, दाङ, बाँके र बर्दिया पानीको डुबानमा परेका छन् । नवलपरासीमा गण्डक, रुपन्देहीमा तिनाउ, दावन र रोहिणी, कपिलवस्तुमा वाणगंगा, दाङमा राप्ती नदीको सतह बढेपछि नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले बताए ।
प्रतिक्रिया