सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान

बर्दियाको सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। मृतक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ५ चिसापानीकी २७ वर्षीया उमा ज्ञवाली रहेको खुलेको हो। शनिबार बेलुकीपख श्रीमान् सुवास न्यौपानेले शवको सनाखत गरेका हुन्।

भदौ २५ गते बेलुकी साढे ५ बजेतिर उमा घरबाटै बेपत्ता भएको घर परिवारले बताएका छन्। शुक्रबार बर्दियाको गेरुवा गाउँपालिका –६ सोनाहाफाँटस्थित मनाउदेखि टपरा जाने सिँचाइ कुलोमा शव फेला परेको थियो।

गेरुवा – ५ का स्थानीय तीर्थबहादुर सुनारले शव पानीबाट निकालेर प्रहरीलाई खबर गरेका थिए ।त्यसपछि इलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट प्रहरी निरीक्षक भूपेन्द्रकुमार बुढाथोकीको नेतृत्वका टोली घटनास्थल पुगेको थियो ।

सोही प्रहरी टोलीले शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल बर्दिया पुर्‍याएको थियो । श्रीमान् सुवासका अनुसार उनकी श्रीमती मृतक उमा मानसिक रुपमा बिरामी थिइन्। उनले औषधि पनि सेवन गर्दै आएकी थिइन्।

घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

खबर सबै