सबैको स्वाभिमान, सबैको समृद्धि’ नारा दिदैँ ‘नागरिक पहिलो’ अभियान घोषणा

काठमाडौँ । ‘सबैको स्वाभिमान, सबैको समृद्धि’ नारा दिइएको अभियान सहितको ‘नागरिक पहिलो’ घोषणा भएको छ । अभियानको दुईदिने प्रारम्भिक भेला काठमाडौमा सम्पन्न गर्दै उक्त घोषणा गरिएको हो ।

सम्पन्न भेलाले प्रारम्भिक छलफल गरी पाँच ‘समस्या र पाँच समाधान’लाई समेट्दै अवधारणा–पत्र तयार गरेको छ, जुन केही दिनपछि सार्वजनिक गरिने जनाइएको छ ।

ती पाँच समस्या र पाँच समाधानलाई लोकतान्त्रिक, प्रगतिशील, समावेशी र अग्रगामी आँखाले हेरियो र काम गरियो भने समस्याहरू न्यूनीकरण हुँदै जाने अभियन्ताहरूको भनाइ ठम्याईँ छ ।

यो मोडेल नागरिक पहिलो हुने मोडेल हुने अभियन्ताहरू बताउँछन् । “राज्य नागरिकमा निहित हुन्छ । राजनीति, अर्थनीति, कूटनीतिलगायतका सबै नीति निर्धारण गर्दा नागरिक केन्द्रीयता स्थापित हुनुपर्छ,” अभियन्ता सुरेन्द्र चौधरीले भने, “यो मोडेल भनेको नागरिक पहिलो हुने मोडेल हो ।”

पुराना दलहरू विकृति, विसङ्गति, भ्रष्टाचार, कुशासनबाट बाहिर निस्कन नसकेको र नयाँ दलहरूमा पृयतावाद देखिएको अभियानका अर्का अभियन्ता डम्बर खतिवडा बताउँछन् । “पुराना दलहरूमा असक्षमता देखियो । नयाँ दलहरूमा पनि पपुलिज्म देखियो । त्यसैले अब नागरिक आफैँले प्रतिपक्षको भूमिका निभाउनुपर्ने बेला भएको छ,” उनले भने ।

त्यसलाई आफूहरूले ‘जनप्रतिपक्ष’ भन्ने गरेको र अब त्यो स्थापित हुनुपर्ने खतिवडाको भनाइ छ । “अब दलहरूले प्रतिपक्षको भूमिका निभाउन सक्दैनन् । अब जनता आफैँ प्रतिपक्ष हुनुपर्छ,” उनले भने ।

सरकार जनसेवामा जुट्नुपर्नेमा आफैँ बाधक बनेर बसिरहेको भनाइ अभियानका अर्का अभियन्ता केशव दाहालको छ । “अब जनता विकल्पको खोजीमा छन् । यही मोडेलमा हुँदैन भन्ने जनतालाई थाहा भइसक्यो । सरकार आफैँ बाधक बनेको छ । यसमा नागरिक पहिलो हुनुपर्ने देखिन्छ,” दाहालले भने ।

उनले थपे, “लोकतन्त्रलाई दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र, सिन्डिकेटतन्त्र, लुटतन्त्र र दलालतन्त्रमा सीमित र सङ्कुचन गरिनु देशको प्रमुख राजनीतिक समस्या हो । यसको समाधान एक नयाँ नागरिक आन्दोलनमार्फत प्रत्यक्ष, सहभागितामूलक, समावेशी, समानुपातिक, सभ्य र सुसंस्कृत लोकतन्त्र पुर्नस्थार्पित गर्नु हो । राजनीति र राजनीतिक संस्कृतिकै समग्र पुनर्गठन गर्नु हो ।”

के हो नागरिक पहिलो’अभियान ?
यही मंसिर ११ र १२ गते देशभरबाट काठमाण्डौँमा भेला भएका यो अभियानका अभियान्ताहरुको प्रतिनिधिमुलक भेलाबाट नागरिक पहिलो अभियान घोषणा भएको हो । जसले घोषाणाको प्रेस वक्तव्य सार्वजनिक गर्दै अभियानको उद्देश्यबारे जानकारी दिएको छ ।

वक्तव्यमा भनिएको छ, अभियानको मूल बिषय–शीर्षक ‘सबैको स्वाभिमान, सबैको संमृद्धि’तय भएको छ । देशमा स्वशासन र सुशासन प्रत्याभूत गर्न एक प्रगतिशील,लोकतान्त्रिक, समावेशी र अग्रगामी बिशेषतायुक्त नागरिक अभियान विकसित गर्नु यसको मुख्य उद्देश्य रहेको छ । राज्य नागरिकमा निहित हुन्छ। राजनीति, अर्थनीति, कुटनीतिलगायत प्रत्येक नीति निर्धारण गर्दा ‘नागरिक केन्द्रियता’ हुनु पर्दछ भन्ने अभियानको मान्यता छ।

यस्तै अभियानको अवधारणा–पत्र प्रस्तुत, छलफल र पारित भएको जनाइएको छ । सहभागीबाट प्राप्त पृष्ठपोषण र सुझाबलाई समावेशी गरी केही दिनभित्र अवधारणा–पत्र सार्वजनिक गरिने अभियान्ताहरुले जनाएका छन् । अवधारणा–पत्रले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा भूराजनीतिक संकटको चित्रण गर्दै ‘पाँच समस्या, पाँच समाधान, पाँच काम, एक अभियान’ अघि सारेको बताइएको छ ।

अवधारणा–पत्रमा उल्लेखित ‘पाँच समस्या र पाँच समाधान’ के हुन ? (जस्ताको त्यस्तै )

-१-लोकतन्त्रलाई दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र, सिन्डिकेटतन्त्र, लुटतन्त्र र दलालतन्त्रमा सीमित र संकुचन गरिनु आज देशको प्रमुख राजनीतिक समस्या हो । यसको समाधान एक नयाँ नागरिक आन्दोलनमार्फत् प्रत्यक्ष, सहभागितामुलक, समानुपातिक–समावेशी, सभ्य र सुसंस्कृत लोकतन्त्र पुनस्र्थार्पित गर्नु हो । राजनीति र राजनीतिक संस्कृतिको समग्र पुनर्गठन गर्नु हो ।
२-२-आर्थिक मन्दी, गरिबी, बेरोजगारी, महंगी, मुद्रास्फिति, उद्यमशील तथा लगानीमैत्री वातावरणको अभाव, निरन्तर बढ्दो बजेट घाटा र सार्वजनिक ऋण, न्यून पुँजीगत खर्च, वित्तिय तथा बजेटरी असन्तुलन, कृषि तथा पर्यटनजस्ता अर्थतन्त्रका आधारस्तम्भ धरासायी हुनु, जनशक्तिको अस्वभाविक विदेश पलायन, असाध्यै महंगो तथा गुणस्तरहीन शिक्षा, स्वास्थ्यलगायतका सार्वजनिक सेवा, भौतिक पूर्वाधार विकासमा सुस्तता, सुस्त आर्थिक बृद्धि तथा गरिब र धनी बीचको बढ्दो खाडलआदि देशका मुख्य आर्थिक समस्या हुन । यसको समाधान सामाजिक बजार अर्थतन्त्रको अवधारणा अनुरुप तीव्र बृद्धि, वातावरणीय दीगोपन, समावेशी विकास, समन्यायिक वितरण, समतामुलक संमृद्धि र मानवीय खुशीको मानकअनुरुप अर्थतन्त्रको उत्पादनमुलक पुनर्संरचना हो ।
२-३-संघीयता, समावेशिता र सामाजिक न्यायको कार्यभार अधुरो रहनु, यस सवालमा संविधानले व्यवस्था गरेकै कुरा पनि कार्यान्वयनमा नजानु देशको तेस्रो ठूलो समस्या हो । सीमान्तकृत समुदायको भावना र आवाजलाई न्याय हुने तथा पहिचान र अधिकारको आन्दोलनसमेत संवोधन हुने गरी संघीयताको पुनरावलोकन, वित्तिय संघीयता, भाषिक, सांस्कृतिक तथा धार्मिक स्वतन्त्रता र अधिकारको प्रत्याभूति, शक्तिको परिभाषित निक्षेपण, स्वायक्तता र स्वशासनको सम्मान यसको समाधान हो ।
२-४- भ्रष्टाचार र कुशासन देशको चौथो ठूलो समस्या हो । यसको समाधान कर्मचारीतन्त्रको पुनर्गठन, दंडाधिकारी तथा नियमक निकायको सबलीकरण, निष्पक्षता र तटस्थता हो । देशमा यस बीचमा दर्जनौं ठूला भ्रष्टाचारका काण्ड भएका छन । त्यसमा तथाकथित ठूला, पुराना दलका नेता, कार्यकर्ताको संलग्नता घाम जत्तिकै छर्लङ छ । भ्रष्टाचारका काण्डको निष्पक्ष छानविन र कार्वाहीका लागि जनदबाब बढाउँन जरुरी छ ।
२-५-भूराजनीतिक असन्तुलन र कुटनीतिक अपरिपक्कताको कारण देशको अन्तर्र्राष्ट्रिय प्रतिष्ठा र विश्वासनीयता कमजोर भएको छ । विदेश नीतिको पुनरावलोकन, कुटनीतिक संयन्त्रको सबलीकरण, विदेश नीतिमा राष्ट्रिय एकता र राष्ट्रिय हित अनुरुपको संलग्नता यसको समाधान हो ।
३-अभियानको कार्यबिधि तथा चैत्र समान्तसम्मको पाँच महिने कार्ययोजना प्रस्तुत, छलफल र पारित भएको छ । यस बीच ३-१-अभियानको सम्पर्क पालिका तहसम्म विस्तार गर्ने, ३-२- सबै प्रदेशमा अभियानको उद्धेश्यबारे प्रादेशिक अभिमुखिकरण भेला गर्ने, ३-३- आवश्यक व्यवस्थापकीय तथा कार्यालय सञ्चालन सम्बन्धि काम गर्ने, ३-४- नागरिक विधेयक तथा मागपत्र तयार प्रस्तुत गर्ने ३-५- नागरिक विधेयक र मागपत्रको पक्षमा देशव्यापी पैरवी र जनपरिचालन गर्ने काम गरिने छ ।
४-अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत दंडाधिकारी निकायको पुनर्र्संरचना, ढिलासुस्तीपूर्ण प्रशासनिक प्रक्रियाको सुधार र पारदर्शी अर्थतन्त्र निर्मांण गर्ने उद्देश्यबाट प्रेरित जनलोकपाल ( पब्लिक अम्बुड्स्म्यान ) को अवधारणामा आधारित सुशासन ऐन तथा दलतन्त्रलाई अन्त्य गरी अन्तपार्टी लोकतन्त्र प्रत्याभूत गर्ने गरी राजनीतिक दल सम्बन्धि ऐन संशोधन गर्ने नागरिक विधेयक मस्यौदा गरी दर्ता र पैरवी गरिने छ । देशका समग्र समस्यालाई समेटिएको माग–पत्र अबिलम्ब सार्वजनिक गरिने छ।
५-अभियानको संयोजन तथा सञ्चालन गर्न एक अभियान संयोजन कार्य दल निर्माण गरिएको छ ।
६-देशको बिषम, जटिल, समस्याग्रस्त तथा संकटपूर्ण अवस्थाको निकास दिन संसदमा उपस्थिति पुराना तथा नयाँ दुबै प्रकारका दलहरु असक्षम र असफल देखिएका छन । देशमा भयानक राजनीतिक रिक्तता र शक्तिशून्यताको अवस्थामा छ । यस्तो रिक्ततालाई चिर्दै अभियानले ‘जनप्रतिपक्ष’ को भूमिका गर्दछ । देशको संकटलाई दृष्टिगत गर्दै अभियानमा जोडिन र आआफ्नो ठाउँबाट सशक्त भूमिका गर्न सबैमा आम अपिल गरिन्छ ।

प्रतिक्रिया