बिन्दाको प्रेम – भाग ७

मलाई भरोसा बसि गिज्याउथ्यो। बिश्वास खिक्का छोडेर हाँस्न थाल्थ्यो, मेरो आस निरास भै कुनामा बसेर रोए झैं हुन्थ्यो। यी भित्ता, पलङ्ग, टेबुल , कार्पेट यहाँ भएका सबै चिज साक्षी थिए मेरो अनुभुतिका ।यिनै सँग म दिन रात भलाकुसारी गर्थे प्रयासलाइ प्रेमको रुपान्तरण गरेर।

जिस्काउने त भए नै , म न्याउनो अनुवार , अनिदो आँखा बोकेर बिउँझिने गर्छु झिसमिसे उज्यालोमा त्रसिद हुँदै त्यो क्षितिज नजिकको तुवाँलो बिच आफुलाई गुम्नाम बनाउने प्रयासमा हुन्छु ।झट्पट आफ्नु जिन्दगीको निर्दोष पन अनि मलिन मुहारलाई हेर्छु मै माथी माया जागेर आयो फेरी आफ्नै माया लागेर आयो।

डराउँछु मायामा कयौंले आत्महत्या गरेका खबर सुनेर। म पनि खबर पत्रिका पल्टाएर हेर्ने गर्छु कतै छापिएकी मेरा नाममा समबेधनाका शब्दहरु।
आज फेरि उस्को यादमा टोलाएर रोए
दुर्भाग्यलाई आफू सामु बोलाएर रोए ।।
यो दुख्ने क्रम र दुखाउने क्रम जारी नै थियो। प्रयास घरमै आयो आज ।मैले बोल्नै चाहिन।उ ढोका खोल भन्दै थियो।
मैले सोचे म बोल्दिन ,ढोका खोल्दिन तर फेरि सोचे ।कुरा खुलेर स्पष्ट सँग गर्नु पर्छ।उ जस्तो म होईन ।म स्पष्ट भन्न सक्छु मैले ढोका खोले…..
यसपाली मेरो मुटु बढी जोरले धड्किदै थियो उस्को आहट वा चाहतले होईन। सत्य बताउन सक्छु कि सक्दिन वा म डराएको थिएँ त्यसैले।
उ भित्र पस्न खोज्यो। म आफै बाहिर निस्किएँ। मैले भने बाहिरै बसेर कुरा गरौं।
प्रयास अचम्भित भयो! उ केही बोल्न सकेन ।
मैले सोधे तिमी किन आयो?
प्रयासः मेरो मुहारमा हेरिरह्यो र भन्यो म तिमीलाई भेट्न आएको।
मैले भने के काम थियो र ? (मूख अर्कोतिर फेर्दै)
उसले जवाफ नदिँदै मैले आफ्नै जवाफ दिए। (ऊ तिर हेर्दै) मलाई तिमीसँग कुनै कुरा गर्नु नै छैन।
प्रयासः किन बिन्दा, म बाट केही गल्ती भयो र?
मैले भने गल्ती तिमीबाट होइन गल्ती म बाट भएको थियो मैले तिमीलाई बुझ्न सकिन। मेरो हृदयमा तिम्रो लागि त्यस्तो केही पनि छैन।
जतिबेला थियो त्यो बेला तिमीले बुझिनौ।
मेरो जिबनमा अरु कोही छ अब ।मैले भने।( यो झुटो थियो तर उ बाट टाढा हुनको लागी मैले यो सब झुट बोलिरहेको थिएँ।)
प्रयास अलमल्ल पर्यो।
त्यसो थियो त मलाई पहिला नै किन नभनेकी? प्रयास शान्तसँग भन्न हाल्यो।
तिमीले म प्रति प्रेम छ, भनेको जस्तो लागेर पो त म तिमी भए ठाउँमा आएको। ठिकै छ तिम्रो अरु कोही छ भने म के भनु?
तिमी खुशीसँग रहनु।
यति भनेर प्रयास बाहिर निस्केर गयो।
प्रयासको यो शान्त स्वभावले मलाई अझै अच्चमित र बिचलित तुल्यायो।
यति सहजै उसले मान्छन् भन्ने मलाई लागेको थिएन। उसँग निकैबेर बहस हुन्छ होला सोचेको थिए। एकै छिनमा म रित्तो भए जस्तो महसुस हुन थाले। कति सहज स्विकार्दै गयो उ मानौ केही नै थिएन हामी बिच। के उ मैले जताए को भएर मात्र आएको थियो? के उसको हृदयमा म प्रति कुनै प्रेम थिएन?
सदभाव थिएन? मैले छैन भन्दिए ,उस्ले स्वीकार गरेर गयो।
कता–कता यो हृदयले भन्दै थियो , बिन्दा म तिमीलाई प्रेम गर्छु भन्ने छ।
हुन त मलाई त्यो सुन्नु पनि थिएन।उसको अभिप्राय सब बुझिसकेको थिएँ मैले।
तर यो मन , बुझ्न कहाँ खोज्थ्यो र?
कुनै बेला..
समय थियो म थिएँ तिमी थिएनौ
समय थियो तिमी थियौं म थिईन
समय पनि छैन तिमि पनि छैन र म पनी छैन।
मेरो र प्रयासको सम्बन्ध यहि सकिन्छ।
आज प्रयासले कसलाई प्रेम गर्थ्यो त्यो मलाई थाहा भएन। तर उसले दिएका ती अभिव्यक्तिहरु ले मलाई घायल बनाएको थियो। उसलाई नपुग्दो केही पनि थिएन घनि बाउको छोरी को पछी लागेको कहानीले मलाई धेरै नमिठो दर्द दिएको थियो।
उस्को यि सहज र सरल बाणीले । प्रयास असल थियो कि वा म बाट बुझ्न गल्ती भयो?

जिन्दगीले मलाई फेरी दोधार मा पुर्यायो।
उस्ले गरेका कुरा फेरि याद आयो , यी लालच ले भरिएका उसका मन।
होइन म गलत थिएन। धेरैबेर सोचेपछि मैले म सँग भने

अब कसैको लाग्दैन पत्यारै यहाँ
अब बिन्दा को हुँदैन कसैसँग प्यार यहाँ।
साँझ पर्यो झमक्क रात भइसकेको थियो। म खाना साना खाएर सुत्ने तयारीमा थिए। केहि लेखुँ कि भनेर पन्ना पल्टाउँदै थिए।
उस्को फेरी याद आयो, दुःखी भएर केही सोच्नै खोज्दै हिँडेको बेला ऊ फेरी याद आयो। हाम्रो सम्बन्ध जुरीएर अब हुन पाउनु पो के छ र सम्झिरहन को लागि? तैपनि ऊ याद आयो। उसलाई भुलाउनु मेरो सबैभन्दा ठूलो उपलब्धी हुनेछ। एती सोचेर म झ्याल बन्द गर्न जान्छु।
किन होला याद भित्र खोज एउटा तिम्रो भयो
त्यही खोज बढदै जादा रोज एउटा तिम्रो भयो ।।
कल्पनाको सहरको रंगीन सपना थिएन त्यो
धोका भयो याद मनमा बोझ एउटा तिम्रो भयो।।
लेक ढाकेर जुन माथि आउँदा रातिभरी अनुभूतिको गहिराईलाई गहिरिदै गएको र छाति चर्किएर मन पराएको प्रसङ्ग देखाएर संवेदनात्मक र अनुभुति परक बिम्बको प्रयोग गरि मलाई जिस्काएको हुन्छ। त्यो हावा सँगै कालो रातले।
आफूलाई आफैले उजुरि हान्दिउ जस्तो लागिरहेको थियो। आफ्नो मनले आफैँलाई सताइरहन्छ यसरी आफैंलाई सताउने मनलाई पनि बन्दकि बनाईदिने कुनै कानुन भइदिए पनि त हुन्थ्यो नि, कुनै धारा उपधारा लगाएर म बर्षौ कैद गरिदिन्थे।
अब सबै सबै सकिसक्यो , उ ठीक लागेन, टाढा गयो त सकियो।
चाहेको जस्तै भयो त। अब के को याद? केको चिन्ता?
आफ्नो मनलाई थुम थुमाउँदै म सुते।

म बिहान उठ्छु। आज मलाई मेरो शरीर धेरै हलुका महसुस भइरहेको थियो। मेरो दिल अनि दिमाग पूर्णरूपले खाली भएको थियो। ऐना हेर्छु म , आफैँलाई आफूभन्दा फरक पाइरहेकी छु। त्यो ऐनामा देखिएकी बिन्दा हिजो अस्तिको बिन्दा थिइन्।
आज हलुका, चुलबुले अनी चनंचले उहीँ वर्षअघि हराएकी बिन्दा थि।
बिन्दा प्रयासको प्रेममा यति हराएकी थि, उसले आफ्नो आसपासका मानिसहरु कसैलाई पनि राखेकी थिइन। सबैजना ऊबाट पर भइसकेका थिए। सबैलाइ उ बिना बस्ने आदत भइसकेको थियो।
बिन्दा, कैदी जीवन विताएर निस्केर आएकी जस्ती भए कि थिए ।
मेरा आसपासका सबै जना टाढा भै सकेका थिए। मलाइ भने कुनै कुराको ज्ञान सम्म थिएन। यस्तो के नै पाउनुपर्ने थियो र मलाई जुन मैले आफन्तहरुलाई गुमाउन पुगे। उनीहरूको मनमा ठेस पुर्याएर।
सधै बन्द कोठामा एक्लै टोलाउने, खाना खाने अनि कोठामा गएर आफुलाई थुनेर बस्ने बिन्दा, आज स्वतन्त्र भएर सबैसँग बोल्न खोज्दैछे,
सबैजनाको मुहारमा आश्चर्य थियो।
बिन्दा को परिवर्तन व्यवहार देखेर सबै जनालाई आज बिन्दा के भै भन्ने लागिरहेको थियो।
पहिला हराएकी विन्दा फेरी पाएझैं , बहिनीले प्याच्च भनी।
मेरा मनका कुराहरू सबैसँग खोलेर भन्न चाहन्थेँ उनीहरूसँग ढुक्कसँग रुन चाहन्थेँ मलाई यस्तो भयो जिन्दगीमा भन्न चाहन्थेँ।
मलाई थाहै भएन मैले मेरा आफन्तहरु कति खेर मारी सकेछु भनेर। सबैलाई म बिना नै रमाउने आदत भैसकेको रहेछ।
कहिँ कतै बहिनीलाई मेरो सम्बन्ध थाहा थियो, कतै उसले सबैलाई भनदि कि भन्ने डर पनि लाग्यो, जुन सम्बन्धमा अहिले केही छैन। सिवाय दर्द।
आवाज मनमा छ धेरै तर सुन्दैनन कसैले अब
दर्द यो ह्रदयको मुहारमा देख्दैनन कसैले अब
तिम्रो हुन सबै सित सम्बन्ध तोडेको थिए मैले
मेरो हकमा न्याय दिन बोल्दैनन कसैले अब ।।
दिन बित्दै जान्छन, अब बिस्तारै सबै संग म घुलमिल गर्दै जान्छु। समयको रफ्तार सँगै म पुर्ण बिन्दा भैसकेको हुन्छु। अब फेरि उहीँ बिन्दा। धेरै महिना पछि फेरि एक सन्ध्यामा..
सन्ध्याको राताम्य दीप्ति, दीप्ति मुनी सडक र घरहरूको भिड
हेर्दाहेर्दै लखतरान भएको म, प्रतिबिम्बमा , के आउँछ त्यहाँ बाट? मेरो अस्तित्व संतृप्त गर्न त्यहाँबाट गोधुलीमा, सुमधुर स्वरहरु आउछन शारदीय एकान्त झरिको। सुगन्ध मय वासना मिसिएर आउछन्, अनेकानेक जीवनका स्वरहरु अनि प्रेमिल स्वरहरु
म झ्यालमा आड लागेर सुनिरहेको हुन्छु।
मलाई जीवनसँग जिउन एउटा नयाँ शब्द छान्नु थियो त्यो थियो प्रेम ,प्रेमको अनुभुति मैले बिल्कुल पाएको थिएन। म यो भौतिक प्रेम अर्थात मानबिय आकर्षणलाई प्रेम सम्झने भुल गरिरहे कि थिए ।अब म भुलेर पनि ती भुल गर्दिन मलाई प्रयास वा प्रयास जस्ता कोहि ती चाहिएको होईन ।मलाई एक अनुभुति उहीँ राधाकृष्ण झै गर्नु थियो जुन हजुरामाले सुनाउनु हुन्थ्यो ।राधे ! राधे भन्दै।
जिन्दगीको अनुभव नै नलिइकन जिन्दगी कहाँ हुन्छ र?ती सब मेरा अनुभब मात्रै थिए।
मलाई अब प्रकृति जस्तै गहन बन्नु थियो, जसको भित्रबाट आफ्नै स्वरुप होस, म भित्र भएका बिकार म माथी हावी नहोस्।
जसरी एकथोपा जलबिन्दु सम्पुर्ण शीत बिन्दुको फसल हुन्छ,
अध्यारो सन्ध्याको एउटा लाल प्रकाश बिन्दु सम्पूर्ण विश्वको रात हुन्छ।
त्यसैगरी म पनि सम्पूर्ण मा एउटा मीठो याद भएर मर्न सकु।
आज म पूर्णतय ताजा भएकी छु
पीर चिन्ता मेरो स्मृतिबाट मुक्त भएको छ।
प्रभात भूमिको हसिया जस्तो बसन्ती तालको हिम जस्तो
अचानक म आफ्नै अनुचिन्तनबाट गीत गाउन थाल्छु।आफ्नै घुनमा मेरा स्वर मिठा छैन्न मेरो गितमा शुर ताल पनिछैन
म पÞmेरि नाच्छु, मेरो नाचमा पनि कुनै तालमेल छैन। तर पनि मलाई सम्पुर्ण ज्ञान भए झैँ महसुस भएको थियो।
चैत महिनाको बेला थियो, सबैजना बुवाको जन्मथलो सिन्धुपाल्चोक घुम्न जाने कुरा भयो, म पनि धेरै उत्सुक थिए सिन्धुपाल्चोक जानको लागि सानो बेलामा गएको थिए त्यसैले अब त्यहाँका विषयमा निरीक्षण गर्न मलाई अत्यन्तै सजिलो हुनेछ। त्यहाँबाट देखिने हिमाल, पहाड खोलानाला हरियाली हरुलाई हेरि नियाल्ने छु, यही सोची म उबअपष्लन तिर लागे। उता सिन्धुपाल्चोकमा पनि हाम्रो एउटा घर छ, म दिदी बैनी र आमा सिन्धुपाल्चोकतिर लाग्यौं।
हुनतः सिन्धुपाल्चोक भोटेचौर हाम्रो घर भन्दा धेरै पर पनि थिएन जम्मा ४५मिनेटको बाटो थियो बाइकमा जाँदा, तर गाडीले लगभग डेढ घण्टा लगाउँथ्यो। हामी बस्न चढेर लाग्यौं।
सिन्धुपाल्चोकको यात्रामा।
गाउँ शहर बाट धेरै टाढा नभएकाले बाटोमा त्यही पक्की घर र सडकहरु बाहेक केही देखिँदैन थिए। जम्माजम्मी डेढ घण्टाको यात्रापछि सिन्धुपालचोक आयो अर्थात् जोतिष गाउँ ।हाम्रो गाउँ ,
गाउँमा हाम्रो आफ्नो पक्की घर भएको कारण हामी कसैको घरमा बास बस्न जानु पर्ने थिएन । हामीले झोला सोला आफ्नै घरमा राख्यौं। यात्रा लामो नभएको कारण हामीलाई थकाइ पनि लागेको थिएन। उतिबेला मोबाइल नभएको कारण फोटो खिच्न पाइँदैन थियो तर हामीसँग रील वाला क्यामरा थियो। क्यामारा मैले नै बोकेको थिए।
दिदीको विवाह भइसकेको थियो दिदीको एउटा सानो छोरा पनि हामीसँगै गएको थियो,सौरब छोराको नाम जम्मा दुई बर्षको थियो बाबू।
आमा ओल्लो पल्लो घर तिर हालचाल बुझ्न निस्किनु भयो दिदी बाबू सानू भएको कारण त्यस्लाई खाना बनाउने तयारीमा लाग्नुभयो। गाउँमा खासै ग्यासको आएको थिएन शहरमा ग्याँस भएपनि, मट्टीतेलबाट बल्ने स्टप थियो हामीसँग, दिदी स्टप मा मटितेल भर्न थाल्नुभयो, बैनी सानो छोरालाई खेलाउन थाली।
म भने क्यामेरा बोकेर गाउँ तिर लागे। गाउँमा स–साना केटाकेटीहरु थिए मैले क्यामेरा बोकेको देखेर कत्रो न बाहिर बाटै आएको जस्तो सोचिरहेका थिए। उतिबेला क्यामरा देख्न पनि अति गाह्रो थियो गाउँका मानिसलाई।
मलाई गाउँमा अति रमाईलो भईरहेको थियो किनकि मेरो साथ स– साना केटाकेटीहरु थिए! सबैतिरको दृश्यहरु उनीहरु बताइरहेका थिए। बोटबिरुवाका प्रकारहरु चराचुरुङ्गी का आवाज हरु हिमालहरू तालहरु सबै चिनाइरहेका थिए।म दङ्ग थिए उनीहरुसँग घुम्न पाएर।
एसेलु ,चुत्रो, के के टेपेर लेराउँदैथे,मलाई अति पर्ने, ऐसेलु । मैले मलाई ऐसेलु अति मन पर्छ के भनेको थिएँ गाउँ घरका केटाकेटीहरु गएर थुप्रै ऐसेलु टिपेर ल्याउँदै मलाई दिनथाले। मैले पनि स्वादले मीठो मानेर खान थालेँ। अब त खाँदाखाँदा पेट दुख्न थालेको थियो।
म फेरि केटाकेटीहरु सँग घुमफिर गर्न लागे। माथी ठुलो जंगल थियो, जङ्गलको आसपास थरीथरीका फूल हरु थिए। बोटबिरुवाहरु थिए, कति फूलहरु दुर्लभ पनि थिए।
दुर्लभ फूलहरू हेर्दा हेर्दै दिन ढलेछ ,
फूलहरूको वरपर हावा झन्झन् चिसो हुन्छ एउटा शलभ पनि देखिंदैन कतै बाट, हुनतः बसन्त ऋतुको रात थियो,
किराफट्यांग्राका आवाजहरु पानी जस्तै बग्ने र रातभरि कराउने।
ती आवाजहरुले के खोजेका होलान्?
मेरा मनमा ती सबै कुरा तरंगित भएर बसिरहेका थिए, स्पन्दन भित्र बगिरहेका थिए।
अन्ततः हिमालबाट निस्किएको पानी हिमनदी मा परिणत भए झैं। यहाँका सुवर्ण अनुभुतीहरु मेरो हृदयमा हिमनदी भएर बग्न थाले।
रातको समय , लामखुट्टेको टोकाई, सुत्न कहाँ सजिलो थियो र? तर दिनभर केटाकेटीहरु सँगै हिंडेको भएर होला भुसुक्क निदाएछु। धेरैपछि आनन्दको निन्द्रामा पुगेँ।
म सुते….

बिन्दाको प्रेम (भाग ६)

बिन्दाको प्रेम (अध्याय–३)

बिन्दाको प्रेम (अध्याय–३)

 

बिन्दाको प्रेम (अध्याय–३)

 

विन्दाको प्रेम (अध्याय २)

 

बिन्दाको प्रेम : अध्याय एक

प्रतिक्रिया