लुम्बिनीमा कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन दाबी

दाङ । लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसका नेता एवम् दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित सांसद डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेश गरिएको छ । नेकपा माओवादी केन्द्रलगायत छ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै चौधरीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनसमक्ष प्रदेश सभामा रहेका आठ दल र एक स्वतन्त्र सदस्यले हस्ताक्षर गरेर नेपालको संविधानको धारा १६८ (२) बमोजिम सांसद चौधरीलाई मुख्यमन्त्री बनाउन आग्रह गर्दै दाबी गरेका हुन् ।

उनीहरुले माग गरेको पत्रमा भनिएको छ, ‘लुम्बिनी प्रदेश सरकार गठनको लागि लुम्बिनी प्रदेश सभाका सदस्य एवम् लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिपाउँ भनी हामी लुम्बिनी प्रदेश सभामा रहेका तपशिलमा उल्लेखित राजनीतिक दलका नेता एवम् लुम्बिनी प्रदेश सभाको बहुमत प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसमेतका कागजातसहित यो निवेदन पेश गरेका छौँं ।’

आजै माओवादी केन्द्र र जनमत पार्टीबाट यसअघि मन्त्री बनेका सबैले राजीनामा दिएका हुन् । यसअघि एमालेका मुख्यमन्त्रीलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टीले पनि समर्थन फिर्ता लिएको जानकारी गराइसकेका छन् ।

नयाँ सरकार गठनको निम्ति कम्तीमा ४४ प्रदेश सदस्यको आवश्यकता पर्छ । अहिले चौधरीको समर्थनमा ५४ जना देखिएका छन् ।

प्रतिक्रिया

खबर सबै