

कपिलवस्तुमा एक पछि अर्काे गर्दै भेटिन थाल्यो नक्कली नोट, २ भारतीय पक्राउ


कपिलवस्तु । कपिलवस्तु जिल्लामा पछिल्ला केही समय यता नक्कली १ हजार दरका नोटको कारोबार व्याप्त रहेको पइएको छ । यस्ता नक्कली नोटहरु जिल्लाभर नै फेला पर्ने गरेका घटना सार्वजनिक भइरहेका छन् ।
पछिल्लो एक महिनामा मात्रै जिल्लाका विभिन्न स्थानमा त्यस्ता नक्कली नोट फेला परेका हुन । गत सोमबार बाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाई स्थित मेरिट बचत तथा ऋण सहकारी संस्थामा रकम जम्मा गर्न पुगेका एक स्थानीयले ल्याएको रकममा एक थान १ हजार दरको नक्कली नोट फेला पर्याे । सहकारीका सहायक प्रबन्धक गोबिन्द के.सीका अनुसार सर्वसाधारणले आफुले नक्कली नोट थाहा नपाउने तर बैँकमा कारोवारका लागि आउँदा मेसिनबाट चेक गर्दा त्यस्ता नक्कली नोट फेला पर्ने गरेको बताउनु भयो । मेरिटमा भेटिएको उक्त नोट सहकारीले नै जफत गरी नष्ट गरेको उहाँले बताउनु भयो ।
त्यस अघि जिल्लाको तौलिहवा स्थित एभरेष्ट बैँकमा केही साता अघि मात्रै नक्कली १ हजार दरको एक थान नोट फेला परेको थियो । उक्त नोट पनि बैँकले जफत गरी नष्ट गरेको केही साता नबित्दै कपिलवस्तुको सीमावर्ती क्षेत्र मर्यादपुर बजारमा १३ हजार नेपाली नक्कली नोटसहित दुई भारतीय पक्राउ परेका छन्।
जिल्लाको यशोधरा गाउँपालिका ७ मर्यादपुरस्थित एक मदिरा पसलबाट १३ वटा १ हजार दरका नक्कली नेपाली नोट सहित उनीहरु पक्राउ परेका हुन्। भारत जिल्ला सिद्धार्थनगर थाना सोहरतगढ ग्राम अतरी बस्ने वर्ष ३२ का फैसल अहमद र ४२ बर्षीयको विनोद यादव सो नक्कली नोटसहित पक्राउ परेको हुन्।
प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार पक्राउ परेका दुवै जना स्थानीय चन्द्रभान गुप्ताले संचालन गरेको करन वाईन सेन्टरमा सामान किन्न आएका थिए। विशेष सुराकीका आधारमा प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। मर्यादपुर प्रहरी चौकीका प्रमुख गगन बहादुर शाहीले पक्राउ परेका दुवै जनाले नक्कली नोट मार्फत बजारबाट केही सरसामान समेत किनेको हुन सक्ने बताए।
नक्कली नोट गुणस्तरीय रङ्गिन प्रिन्टरबाट प्रिन्ट गरिए जस्तो देखिएको छ। तर प्रिन्ट गरिएको वा छापिएको त्यसको यकिन भने भएको छैन। नियन्त्रणमा लिइएका दुई जना माथि मुद्रा सम्बन्धि कसुर सम्बन्धी मुद्दा चलाई थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरीक्षक घलेले बताए।
पछिल्ला केही समयमा जिल्लामा नक्कली नोट सर्वाधिक देखिएको छ । केही महिना पहिले समेत चार नम्बर जीतपुर स्थित बिद्युतको महसुल काउन्टरमा समेत एक हजारको नक्कली नोट फेला परेको थियो। यी घटनाले कपिलवस्तुका बजारमा नक्कली नोटको मात्रा अत्यधिक भएको अनुमान गरिएको छ ।
बजारमा अहिले नक्कली नोटहरु हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ । शंकास्पद नोटहरु फेला परेमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन प्रहरीले अनुरोध समेत गरेको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया