थारू समुदायले आज बड्की आइतबारी पर्व मनाउँदै

कपिलवस्तु : पश्चिम नेपालको तराई र भित्री मधेसका थारूले आज अट्वारी पर्व धुमधामसँग मनाउँदै छन् । दाजु र बहिनी, भाइ र दिदीको सम्बन्ध जोड्ने, बढाउने र सुधार्ने पर्वको रूपमा यो पर्वलाई लिइन्छ । यो पर्वमा दाजुभाइले विवाहित दिदीबहिनीलाई कोसेली दिने चलन छ । यो अनिवार्यजस्तै मानिन्छ ।

पश्चिम नेपालका थारूले कृष्ण जन्माष्टमीपछि अट्वारी मनाउँछन् । थारू जातिले ‘माघी’ र दसैँपछि ‘अट्वारी’ पर्वलाई तेस्रो ठूलो पर्वको रूपमा मनाउँदै आएका छन् । यो पर्वलाई थारू समुदायले दुई दिनसम्म मनाउँछन् ।

हरितालिका तिजको अघिपछि पर्ने आइतबार मनाइने भएकोले यो पर्वलाई अट्वारी भनिएको हो । पश्चिम नेपालका भित्रि मधेस र तराईका कपिलवस्तु सहित दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा सुर्खेत जिल्लाका थारू जातिले यो पर्व उल्लासमय वातावरणमा मनाउने गर्दछन् ।

अट्वारीमा के–के गरिन्छ ?

अट्वारीको अघिल्लो रात भालेले डाँको छोड्नुभन्दा पहिले दर खाइन्छ । दर खाएका पुरुष दिनभर निराहार ब्रत बस्छन् । र, दिउँसो नुहाएर बैठक कोठा लिपपोत गरी काठबाट निकालिएको आगोमा रोटी पकाउँछन् । सबैभन्दा पहिले भीमका लागि एकतर्फ पकाइन्छ । उक्त रोटीलाई ‘भेवाँ’ के रोटी भनिन्छ । भीमको लागि रोटी पकाइसकेपछि मात्र अरू रोटी पकाउने चलन छ ।

एकतर्फ मात्र पकाएको रोटी भीमलाई चढाइन्छ भने अरू रोटी अन्य देवीदेवता र आफ्ना चेलीबेटीलाई उपहार दिइन्छ । निराहार ब्रत बसेका पुरुष बेलुकी पख भीम र अन्य देवीदेवतालाई रोटी, फलफूल चढाउँछन् । एउटा टपरीमा रहेको रोटी र फलफूल एक–एक, दुई–दुईवटा अर्को टपरीमा राखिन्छ । र, रोटी, फलफूल आगोलाई पनि चढाइन्छ । यसलाई थारू भाषामा ‘अग्रासन कहर्ना’ भनिन्छ ।

त्यसपछि देवतालाई पानी चढाउने गरिन्छ । यसलाई पानी पर्छना भनिन्छ । यी सबै कर्म गरिसकेपछि घरका सबै एक ठाउँमा बसेर खाने चलन अझै पनि विद्यमान छ,’ पछला प्रगन्नाका देसबन्ढ्या गुर्वा लीलामणि चौधरीले भने ।

अट्वारीको दोस्रो दिन फह्रार

‘अट्वारी’को दोस्रो दिनलाई फह्रार गरिन्छ । अट्वारीको व्रत बस्ने पुरुषहरू बिहानै उठेर नजिकैको नदी, खोलामा गएर नुहाउँछन् । नुहाइसकेपछि बैठक कोठलाई लिपपोत गरी तीन, पाँच या सात थरीका तरकारी पकाउँछन् । तरकारीमा चना, मटर, केराउ, सिल्टुङको तरकारी अनिवार्य हुन्छ । फह्रार गर्नका लागि पोइँको पातको तरकारी पनि प्रायजसोले बनाउने गर्दछन् ।

यी विभिन्न थरीका तरकारी र भात टपरीमा राख्ने र आधा भाग आफ्ना चेलिबेटीका लागि अर्को टपरीमा राखिन्छ । र, सबै थरीका तरकारी र भात अलिकति झिकेर आगोलाई चढाइन्छ । यसलाई नै थारू समुदायले फह्रार कर्ना भन्दछन् ।

व्रत बसेका सबैले फह्रार गरिसकेपछि घरका सबैजना सँगै बसेर भात खान्छन् । अट्वारीको बेलुकीपख चेलिबेटीका लागि छुट्याइएको अग्रासनको रोटी र सोमबार बिहान गरिएको फह्रारको भात तथा तरकारी आफ्नो विवाहित चेलिबेटीलाई अग्रासनको रूपमा दिने चलन छ ।

अग्रासनको पर्खाइमा चेलिबेटी

थारू समुदायले अट्वारीको रोटीपुरी र तरकारी, भात आफ्ना चेलिबेटीलाई दिने गर्दछन् । यसलाई थारू समुदायले अग्रासन भन्छन् । परापूर्वकालदेखि नै अग्रासन दिने गरिएकोले विवाहित चेलिबेटीहरू अग्रासनको पर्खाइमा हुन्छन् । जबसम ‘अग्रासन’ दिन दाजुभाइ, काका, बाबा आउँदैनन् तबसम्म पर्खेर बसेका हुन्छन् । ‘अग्रासन दिन नआउँदासम्म केही नखाएर चेलिबेटी बसेका हुन्छन्,’ थारू अगुवा एकराज चौधरीले भने, ‘अघिपछिको भन्दा अट्वारीको अग्रासनको चेलिबेटीले महत्व मान्दछन् । अग्रासन दिन नजाने हो भने पीर मान्दछन् । अघिपछिको भन्दा चेलिबेटीलाई यसको आशा बढी हुन्छ ।’

सकारात्मक पक्ष

थारू समुदायको अट्वारी पर्व दाजु–बहिनी, दिदी र भाइबीचको सम्बन्ध जोड्ने, बढाउने र बजबुत बनाउने पर्वको रूपमा लिइन्छ । अघिपछि दाजु–बहिनी, भाइ र दिदीबीच भएको मनमुटाव पनि अट्वारी पर्वले मेटाउने गर्दछ ।

वर्षभरि दिदीबहिनीको घरमा नगएका दाजुभाइ जसरी भए पनि अट्वारीको अग्रासन दिन जान्छन् । वर्षभरिको रिसराग पनि ‘अट्वारी’को अग्रासनले मेटाउने गर्दछ । त्यसैले ‘अट्वारी’ पर्वलाई मेलमिलाप र सदभावको पर्वको रूपमा लिइन्छ । यो पर्वले दाजुभाइ र दिदिबहिनीको भेटघाट गर्ने अवसर जुराउने गरेको छ ।

प्रतिक्रिया

खबर सबै