विष्णु माझीको चरी जेलैमा– २ को रहस्य : गत वर्षै रेकर्ड भएको अडियो, गुपचुप शूटिङ

काठमाडौं । 

जेलैमा हो जेलैमा, चरी जेलैमा,
मै छोरी रुँदैरुँदै बेसी मेलैमा ।।

गतवर्ष विष्णु माझीको स्वरमा तीज गीत ‘चरी जेलैमा’ सार्वजनिक भयो । छोटो समयमै गीत निकै ‘हिट’ भयो । लाखौंले टिकटक बनाए, यत्रतत्र–सर्वत्र घन्कियो गीत ।

सार्वजनिक जीवनमा गुमनाम र रहस्यमयी गायिकाको उक्त गीतलाई धेरैले वास्तविक जीवनसँग मेल खाएको भनेर समेत टिप्पणी गरे । अन्ततः १३ दिनको छोटो समयमै गीतले करोड भ्युज पार गर्‍यो, युट्युबमा । त्यतिञ्जेलसम्म कुनै नेपाली गीतले त्यति छोटो समयमा युट्युबमा करोड भ्युज पाएका थिएनन् । अहिले उक्त गीतको भ्युज झण्डै ४ करोड हाराहारी छ ।

तीज नजिकिँदै गर्दा विष्णु माझीको गीतको प्रतिक्षा सधैं हुन्छ । किनकी उनले हरेक वर्ष तीज गीत ल्याउँदै आएकी छन् । ‘पुतलीको भट्टी’ एल्बमको नाममा गीत ल्याउन थालेको झण्डै दुई दशक पुग्न लागिसकेको छ । यसमा समावेश उनका तीज गीतहरू उत्तिकै हिट भएका छन् । विष्णु माझीको तीज गीतमा अभिनय गर्नेमा अभिनेता राजेश हमालदेखि सीताराम कट्टेल ‘धुर्मुस्’सम्म छन् ।

अरूले भन्दा ‘खास गीत’ ल्याउने गरेका कारण हरेक वर्ष तीजमा विष्णु माझीको गीतको प्रतिक्षा हुँदै आएको छ । तीज नजिकिँदै जाँदा ‘विष्णु माझीको गीत नआउँदासम्म तीज आएको महसूस नै हुँदैन’ भन्नेहरू पनि धेरै छन् ।

यसवर्ष स्रोतारदर्शकहरू विष्णु माझीको तीज गीतको प्रतिक्षा अझ बढी गरिरहेका थिए, कारण गतवर्षको ‘चरी जेलैमा’ उनका तीज गीतहरूमध्येमै सर्वाधिक हिट थियो ।

यसवर्ष पनि विगतमा जस्तै असारदेखि नै तीज गीत सार्वजनिक गर्ने क्रम चल्यो । साउनको मध्यसम्म धेरै कलाकारहरूको तीज गीत आइसकेका थिए । अन्य कलाकारहरूका तीज गीतको भिडियोको कमेन्टमा उही देखिन्थ्यो– ‘विष्णु माझीको गीत कहिले आउँछ रु उहाँको गीत नआउँदासम्म तीज आएको जस्तो लाग्दैन ।’

कमेन्टमा मात्र होइन्, लोकदोहोरी कलाकारहरूलाई समेत स्रोता तथा दर्शकबाट यस किसिमको जिज्ञासा आउने गरेको छ । तर, त्यसरी जिज्ञासा राख्ने स्रोतारदर्शकलाई दिने जवाफ कोहीसँग हुँदैन । कारण, विष्णु आफैँमा जति रहस्यमयी छिन्, उनका गीत उत्तिकै रहस्यमयी तरिकाले सार्वजनिक हुने गरेका छन् ।

सांगीतिक क्षेत्रका कतिपय भन्छन्, ‘विष्णु माझीको गीत र भूकम्प उस्तै हो । कतिबेला आउँछ कसैलाई पत्तो हुँदैन ।’

त्यही भनाइ नै सही, विष्णुको तीज गीत ‘चरी जेलैमा–२’ बुधबार राति युट्युबमा सार्वजनिक भयो । तर, यसपटक विष्णु माझीको तीज गीतलाई लिएर स्रोतारदर्शकहरूले त्यति नयाँपन महसूस गर्न सकेनन्, भिडियो शिवाय । गत वर्षकै भाका, धूनमा नयाँ लोकेशनमा ‘चरी जेलैमा–२’ तयार पारिएको छ । पात्रहरू उही छन्, ललिता पौडेल र सुन्दरमणि अधिकारी । शब्द, संगीत एवं भिडियो निर्देशन सुन्दरमणिकै छ ।

केहीले युट्युबमै नयाँपन महसूस गर्न नसकेको प्रतिक्रिया दिएका छन् । कतिपयले सामाजिक सञ्जालमा गीतलाई लिएर विभिन्न प्रतिक्रियाहरू दिइरहेका छन् । विष्णुको स्वरको भने खुलैरै प्रशंसा गरेका छन् । गीतका शब्दहरू मुटुमा छुने खालको रहेको प्रतिक्रियाहरू समेत भेटिन्छन् ।

कोरियोग्राफर भन्छन्, पहिलेको गीत आधा र अधुरो थियो, यो त्यसकै बाँकी अंश हो

भिडियोका कोरियोग्राफर शिव बिकले ‘चरी जेलैमा–२’ गतवर्षको गीतको दोस्रो भाग रहेको बताए । उनले गीतको अडियो गतवर्ष नै तयार भएको बताउँदै नयाँ लोकेशनमा यसवर्ष भिडियो खिचिएको जानकारी दिए ।

उनले ‘चरी जेलैमा’को अडियो ४० मिनेटको रहेकोमा गतवर्ष २० मिनेटको अडियोमा भिडियो आएको बताए । उनले  भने, ‘गतवर्ष हामीले २० मिनेटको अडियोमा भिडियो तयार पारेका थियौँ । सोही गीतको बाँकी अंशको लागि भिडियो खिचेर ‘चरी जेलैमा–२’ भनेर यो वर्ष ल्याएका हौँ ।’

कोरियोग्राफर विकले प्रस्ट्याए, ‘यही गीत राम्रो छ । यसवर्ष अर्को तीज गीत नबनाऔँ भनेर भाग २ भनेर ल्याएका हौँ । भाग २ भनेपछि पहिलेकै निरन्तरता त हुने भयो ।’ सोही कारण गतवर्ष र यस वर्षमा प्रस्तुति मात्रै फरक रहेको उनको प्रस्टीकरण छ ।

शूटिङमा हुन्छ निगरानी

‘चरी जेलैमा–२’को भिडियो एक साता अघिमात्रै खिचिएको हो । कोरियोग्राफर बिकले दुई दिन लगाएर भिडियो खिचिएको जानकारी दिए ।

उनका अनुसार गीतको भिडियो काठमाडौंको साँखुस्थित शालीनदीको पारिपट्टि रहेको मुक्तिनाथ बाबा आश्रममा खिचिएको हो । गीतको कथाको भाग भने फर्पिङमा खिचिएको हो । नृत्य र कथाको भाग एकरएक दिन खिचिएको हो । ७० जना कोरसका साथ १ सय बढीको टीमले काम गरेको उनले बताए ।

गतवर्षको ‘चरी जेलैमा’गीतको नृत्यको भाग भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा खिचिएको थियो । त्यसको कथा–भाग भने फर्पिङमै खिचिएको थियो ।

दुईदिन लगाएर सार्वजनिक स्थानमा शूटिङ गर्दा पनि चरी जेलैमा– २ आउँछ भनेर कसैले संकेतसम्म पाएका थिएनन् । विष्णु माझीको गीत कस्तो आउँछ भनेर प्रतिक्षामा रहेकाहरूले युट्युबमा भिडियो अपलोड भएपछि मात्र चरी जेलैमा– २ बारे जानकारी पाए ।

अधिकांश कलाकारहरूले गीतको रेकर्डिङ, छायांकनका तस्वीरहरू सार्वजनिक गरिरहेका हुन्छन् । गीतको पोष्टर बनाएर उल्लेखित मितिमा गीत आउँदैछ भनेर जानकारी गराइएको हुन्छ ।

विष्णु माझीको गीतको सन्दर्भमा भने शूटिङका तस्वीरहरूसमेत कसैले सार्वजनिक गर्न पाउँदैनन् । त्यति धेरै कोरसहरू रहेको गीतमा समेत कसैबाट तस्वीर ‘लिक’ हुँदैन । शूटिङ हेर्न जानेहरूबाट पनि तस्वीर तथा भिडियोहरू सार्वजनिक हुँदैनन् । कसरी सम्भव होला रु

विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारी स्वयं शूटिङमा हुने भएकाले उनीबाटै कडाइ हुने गरेको टिमभित्रका सदस्यहरू बताउँछन् ।

‘उहाँको गीतको शूटिङमा यी कुराहरूमा अलि कडाइ नै हुने गरेको छ । तस्वीरहरू खिचेकोरनखिचेको चारैतिर निगरानी गर्ने गरिएको हुन्छ’, कोरियोग्राफर बिक भन्छन्, ‘खिच्न खोज्नेहरूलाई हामीले रोकेका हुन्छौँ । आफूले गरेको काम एकैचोटी भिडियोमार्फत आओस् भन्ने सुन्दरमणि (विष्णुका श्रीमान) चाहनुहुन्छ ।’

कसैले तस्वीर तथा भिडियोहरू खिचे पनि गीत रिलिज हुनुअगाडि गोप्य राख्ने गरिएको छ । भिडियो सार्वजनिक भइसकेपछि भने खिचिएका तस्वीरहरू सार्वजनिक गर्न पाउने शिवको भनाइ छ ।

‘चरी जेलैमा २’का कोरियोग्राफर शिव वि।क। । ‘चरी जेलैमा’ को भिडियो पनि शिवले नै कोरियोग्राफी गरेका थिए ।
‘चरी जेलैमा २’का कोरियोग्राफर शिव वि।क। । ‘चरी जेलैमा’ को भिडियो पनि शिवले नै कोरियोग्राफी गरेका थिए ।

सार्वजनिक समारोह, मिडिया, कतै नदेखिएकी विष्णु गुपचुप रुपमा हुने म्युजिक भिडियोको छायांकनमा पुग्छिन् कि रु धेरैको जिज्ञासा हुने गरेको छ । यद्यपि, उनी आफ्नो गीतको शूटिङमा समेत जाने गरेकी छैनन् ।

२४ घण्टा नपुग्दै झण्डै ७ लाख भ्युज

‘चरी जेलैमा–२’लाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहँदा गीतले भ्युज भने राम्रो पाइरहेको छ ।

भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै झण्डै ७ लाखले हेरिसकेका छन् । ५० हजार बढी लाइक, ३ बढी प्रतिक्रियाहरू आइसकेका छन् ।

अहिले अधिकांश गीतका भिडियोहरू ‘बूस्ट’ गरिएका हुन्छन् । विष्णु माझीको गीत भने कहिल्यै पनि बूस्ट हुँदैनन् । विनाबूस्ट यति भ्युज पाउनुलाई निकै राम्रो मान्न सकिने संगीतकर्मीहरू बताउँछन् ।

एक चर्चित गायकले लोकान्तरसँग भने, ‘अधिकांशले डलर खर्चिएर बूस्ट गर्छन् । तर पनि भ्युज नजाँदा गायकरगायिकाहरू तनावमा छन् । यस्तो अवस्थामा विनाबूस्ट यति भ्युज पाउनु निकै राम्रो हो ।’

यसवर्ष धेरै तीज गीतहरू नचलिरहेको अवस्थामा अब तीज बजारमा केही साता यही गीतको बोलवाला बढ्ने संगीतकर्मीहरूको अनुमान छ ।

नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेका केही कलाकारहरू विष्णुको गीत सार्वजनिक भएपछि ‘ब्याक’ समेत भएका छन् । बुधवार राति विष्णुका गीत सार्वजनिक भएपछि अन्य गीतहरू पनि निकै कम आएका छन् ।  सुशील नेपालले लोकान्तर डटकममा समाचार लेखेका छन् । 

प्रतिक्रिया

खबर सबै