प्रदेश २ : लोसपा भन्दा जसपा बलियो

जनकपुर

९ भदौमा निर्वाचन आयोगबाट दलको मान्यता पाएको महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भन्दा प्रदेश २ मा उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) बलियो देखिएको छ।

१० वैशाख २०७७ मा समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरणपछि बनेको जसपा डेढ वर्ष नपुग्दै विभाजित भएको हो। यो पार्टीका ३४ संघीय सांसद मध्ये २० जना जसपामा र १४ जना लोसपामा लागेका छन्।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्यमध्ये ठाकुरले १६ जनाको साथ पाए। यादवले साविक राजपाबाट जितेका अधिकांश जनप्रतिनिधिलाई जसपामा तानेपछि ठाकुर पक्ष कमजोर देखिएको हो।

प्रदेश सभामा सपाले ३० र राजपाले २५ सांसद जितेका थिए। राजपाबाट निर्वाचित मध्ये ९ जना जसपामा लागेका छन्। प्रदेश सभामुख सरोज यादव दलको सदस्य नभए पनि उनलाई जसपाले आफूतिरै गणना गरेको छ।

ठाकुरनिकट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, सामाजिक विकासमन्त्री नवलकिशोर साह, पूर्वराज्यमन्त्री सुरेश मण्डल, रानी शर्मा तिवारी, डा. रिना यादव, अञ्जुकुमारी यादव, विन्देश्वर यादव, नेत्रविक्रम साह, प्रदेश सांसद मनिष सुमन, जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साह, राजविराज नगरपालिका मेयर शम्भु यादव लगायत जसपामा गएका छन्।

लोजपाका केन्द्रीय कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल पार्टी विभाजन हुँदा जनप्रतिनिधि यताउता जानु स्वभाविक भएको बताउँछन्। उनी भन्छन्, “राजपा र सपाबीचको एकीकरणको जग नै कमजोर भएकाले जसपाबाट लोसपा जन्मियो।”

जसपा केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका मनिष सुमन जसपामा केही प्रदेश सांसद थपिन सक्ने बताउँछन्।

जसपाका प्रदेश-१ मा तीन, प्रदेश-२ मा ५५ जना, बागमतीमा एक, लुम्बिनीमा तीन र सुदूरपश्चिम प्रदेशमा दुई प्रदेश सांसद छन्। लुम्बनी प्रदेशमा ६ प्रदेश सभा सदस्य रहेकोमा ठाकुर पक्षमा लागेका तीन जनालाई जसपाले पदबाट हटाइसकेको छ। ठाकुर नेतृत्वको लोसपाको प्रदेश-२ बाहेक अन्य प्रदेशमा प्रदेश सभा सदस्य छैनन्।
लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झा निर्वाचन आयोगले २३ भदौसम्म जिल्ला र प्रदेशको सनाखत गर्ने समय दिएकाले त्यसपछि जनप्रतिनिधिको यकीन तथ्यांक आउने बताउँछन्।

लोसपाका प्रदेश सभा सदस्य परमेश्वर साह प्रदेश-२ मा आफ्नो पार्टी कमजोर रहेको अस्वीकार्छन्। ६ वटा मधेश केन्द्रित दल मिलेर गठन भएको राजपाको जिल्ला र प्रदेश समिति नबन्दै सपासँग एकीकरण भएर जसपा बनेको उनको भनाइ छ।

जसपाका प्रदेश सांसद मनिष सुमन महन्थ ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारमा जानका लागि पार्टी विभाजन गरेको बताए। सुमनलाई यसअघि राजेन्द्र महतो निकट नेताको रुपमा परिचित थिए।

प्रदेश-२ मा साविक राजपाबाट निर्वाचित सहित जसपामा ३९ प्रदेश सांसद छन्। १६ जना ठाकुरको लोसपामा लागेका छन्।

सत्तारुढ जसपाले संगठन सुदृढिकरण अभियानमा जोड दिएको छ। ठाकुर पक्षका बढी भन्दा बढी जनप्रतिनिधिलाई आफ्नो पक्षमा ल्याउनै लागि अभियान चलाएको जसपाका नेताहरू बताउँछन्। यादवले ठाकुर पक्षमा जनप्रतिनिधिलाई छुट्टा-छुट्टै भेटेर मुल पार्टीमा नै बस्न आग्रह गरिरहेका छन्।

प्रतिक्रिया

खबर सबै