विवेकशील र साझा पार्टीबीच पुनः एकीकरण

मंसिर २४ काठ्माडौँ ।
विवेकशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण भएको छ । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ ।
“आज २०७७ मङ्सिर २४ गते बुधबार, भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन विवेकशील नेपाली दल र साझा पार्टी पुनः एकीकृत भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै हर्षित भएका छौँ,” विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकीकरण घोषणापत्रमा भनिएको छ।
विवेकशील नेपाली दल र साझा पार्टी २०७४ साउन ११ गते विवेकशील साझा पार्टीको रूपमा यसअघि एकीकृत भएका थिए। तर एकीकरण लामो समय रहेन। परिणामस्वरूप २०७५ पौष २७ गते पार्टी विभाजित भइको थियो। आज जारी घोषणापत्रमा उक्त घटनालाई ‘निकै दुःखद्’ उल्लेख गरिएको छ।


“पार्टी विभाजनले वैकल्पिक राजनीति, यसको वैचारिक, राजनीतिक अपेक्षा र एक उन्नत पार्टी स्थापना गर्ने हाम्रो साझा लक्षलाई नै गम्भीर क्षति पु¥यायो। तत्पश्चात्, हामीलाई पुनः एकीकरणका लागि हाम्रा सदस्य, शुभचिन्तक, आमनागरिक र मतदाताहरूबाट निरन्तर सुझाव, दबाब र उत्प्रेरणा प्राप्त भइरह्यो। परिणामस्वरूप, संवादलाई निरन्तर अगाडि बढाउँदै हामीले आज पुनः पार्टी एकीकरण गरेका छौँ,” एकीकरण घोषणापत्रमा लेखिएको छ।
आज भएको एकीकरण स्वभावतः विगतमा भएको पार्टी विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमा याचना गर्ने प्रयास रहेको जनाइएको छ।
“यो एकीकरणले परम्परागत राजनीतिको दुष्चक्रबाट नेपाली समाजलाई मुक्त गर्नेछ भन्ने हाम्रो विश्वास हो। यो एकीकरणले भ्रष्टाचार, कुशासन र राज्यहीनताको अवस्थाबाट थिलथिलो भएका नेपाली नागरिकका सपनाहरूलाई पुनर्जागृत गर्दै राजनीतिमा नयाँ आशा सञ्चार गर्नेछ भन्नेमा पनि हामी विश्वस्त छौँ,” घोषणापत्रमा भनिएको छ।
एकीकरणपछि विवेकशील साझा पार्टीले आफूहरूले बहुलवादमा आधारित ‘कल्याणकारी लोकतन्त्र’, समन्वयात्मक बजार अर्थतन्त्र, सामाजिक न्यायको वैचारिक आलोकमा मूल्यमान्यता सहितको अग्रगामी राजनीतिक विकल्प स्थापना गर्न चाहेको बताएको छ।
“यस्तो राजनीति जसले निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्यून आय भएकाहरूका लागि आवासको व्यवस्था तथा सार्वजनिक यातायातलाई राज्यको प्रमुख दायित्व बनाउन सकोस्,” घोषणापत्रमा भनिएको छ, “यस्तो राजनीति जसले समाजको तल्लो तप्कामा रहेका बहुसङ्ख्यक किसान र मजदुरलाई श्रम गरेर स्वाभिमानपूर्वक बाँच्ने वातावरण तयार गर्न सकोस्। र, इमानदार, सक्षम र दूरदृष्टिपूर्ण नेतृत्व भएको खण्डमा ती सबै सम्भव छन् भन्ने हाम्रो ठहर हो।”
एकीकृत पार्टीले नेपाली नागरिकका लोकतान्त्रिक अधिकारहरूको सम्मान गर्दै, विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै, नेपाली नागरिकको भावनाको कदर गर्दै र संविधानको पूर्णतः पालना गर्दै पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता, समानुभूती, साहसजस्ता मूल्यमान्यतामा रहेर विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार र कल्याणकारी राज्यको परिकल्पनालाई साकार बनाउन निरन्तर क्रियाशील रहने जनाएको छ।

प्रतिक्रिया

खबर सबै