वैकल्पिक शिक्षा संचालनको तयारी, स्थानिय तहमा कसरत सुरु
राजेन्द्र खनाल
भदौ २९ कपिलवस्तु
कोरोना संक्रमणको संटकमा विद्यार्थीहरुको पठन पाठनलाई सुचारु राख्न सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । तर सो निर्देशिका अनुसार ग्रामिण क्षेत्रका सामान्य परिवारका विद्यार्थीले यसको सहज उपयोग गर्न भन्ने चुनौति देखिएको छ ।
कपिलवस्तु जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय सँगै मदरशा र पूर्व प्राथाकि तहका बालवालिकाहरुले घरमै बसेर अनलाईन वा विभिन्न सूचना र संचारका साधनबाट अध्ययनमा सहभागि हुन मुस्किल पर्ने देखिएको छ । कक्षाकोठामै प्रत्यक्ष शिक्षकको सम्पर्कमा रहेर सिक्ने बानी परेका विद्यार्थी र शिक्षक दुबैलाई अबको वैकल्पिक विधि त्यति सहज देखिएको छैन ।
जारी गरिएको निर्देशिका अनुसार अब असोज १ देखि विद्यार्थी भर्ना कार्यक्रम सुरु गरेर स्कूलको कक्षाकोठामा गरिने अध्यापनको विकल्पमा प्रविधिका साधान प्रयोग गरेर पठन पाठनलाई अघि बढाउने सरकारको तयारी छ ।
तर यता कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित बाल मावि बैरियाका प्रधानाध्यापक अर्जुन शाहीको बिचारमा भने रेडियो कक्षा र टेलिभिजन कक्षा कपिलवस्तुमा सम्भव रहेको छ । साना कक्षाका अक्ष्रारम्भ गर्ने उमेरका वालवालिकाहरुलाई भने टोलटोलमै गएर सिकाउनुको विकल्प नभएको पनि उहाँले बताउनुभयो ।
गत भदौ १९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको सो निर्देशिकामा प्रविधिको आधारमा विद्यार्थीलाई ५ समूहमा वर्गिकरण गरिएको छ । जसमा सबै किसिमको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीको समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएको विद्यार्थीको समूह, टेलिभिजनमा पहुँच भएको विद्यार्थी समूह, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी समूह र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधानमा पहुँच भएका बिद्यार्थीको समूह । कपिलवस्तु जिल्लामा यस्ता समुहका विद्यार्थीहरुको अवस्थालाई अध्ययन गर्दा रेडियो र टेलिभिजनको पहूँचमा प्राय वालवालिका पुगेको भए पनि ईन्टरनेट र कम्प्युटर तथा अनलाईन कनेक्टिभिटीमा कमै विद्याथीैको पहुँच रहेको देखिएको छ । यस्तो अवस्थामा मन्त्रालयले तयार गरेको निर्देशिका अनुसार स्थानिय तहसँग समन्वय गरिने बताउनुहुन्छ जिल्ला शिक्षा समन्वय ईकाई किपलवस्तुका प्रमुख थानेश्वर घिमिरे ।
यता कपिलवस्तुको वाणगंगा नगरपालिकाले निर्देशिका आउनुभन्दा तीन महिना अघि नै वैकल्पिक विधिको प्रयोगबाट शिक्षण सिकाई कार्य संचालन गरेको छ । स्थानिय तह भित्रका रेडियोहरुको माध्यमबाट संचालन गरिएको रेडियो कक्षा ४५ दिन संचालन भई हाल स्थागित गरिएको छ भने अर्काे चरणको कक्षा संचलनको तयारी पनि भईरहेको नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले बताउनुभयो । हाल सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको र सोही अनुसार नगरपालिकाका सबै विद्यार्थीहरुलाई पहुँचमा पुग्ने साधन र विधिहरुको प्रयोग गरिने पनि उहाँले बताउनुभयो । यस अघि नै विद्यार्थी पहुँचको विश्लेषण गरिसकिएको र सोही अनुसारको विधि र पद्धतिको माध्यमबाट सिकाई कार्य संचालन गरिएको पनि भट्टराईले बताउनुभयो । कक्षा तीन भन्दा साना कक्षाका वालवालिकाहरुलाई घरमै बसेर सिकाउन सकिने स्वअध्ययन पुस्तिका हातहातमा पु¥याइएको र अब अर्काे चरणका लागि छलफल र तयारी भइैरहेको बारे जानकारी दिनुभयो ।
जिल्लाको सुगम नगरपालिका भएर पनि अझै सबै क्षेत्रमा रेडियोको पनि पूर्ण पहुँच पुग्न नसेका कारण रेडियो कक्षालाई पनि पूर्ण प्रभावकारी बनाउन गाह्रो भएको छ भने अभिभावक र विद्यार्थीैहरुलाई पनि नौलो विधि भएका कारण रेडियो र टेलिभिजन कक्षामा सहभागि भई सिकाई हासिल गर्न सहज नदेखिएका कारण अन्य विधिहरुलाई पनि प्रयोग गर्ने तयारी गरिएको भट्टराईको भनाई छ । अब घर नै विद्यालय र अभिभावक नै वालवालिकाको मुख्य शिक्षक बनी वालवालिकालाई शिक्षा दिनुपर्ने उहाँले बताउनुभएको छ ।
कोरोना संकट कायम रहँदासम्म यही निर्देशिका बमोजिम विद्यालय शिक्षाको कार्यक्रम सञ्चालन गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । तर यस विषयमा प्रदेश सामाजिक विकास मन्त्रालयले पनि प्रविधिको पहुँच नभएका विद्यार्थीका लागि स्थानिय तहहरु सँगेको समन्वयमा सिकाईलाई प्रभावकारी बनाउने बताएको छ ।
प्रतिक्रिया