४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्‍यो उत्कृष्ट विद्यार्थी सम्मान

राधा पाण्डे,
सुन्दर नगरी बाणगंगा ११, ओदारी कपिलवस्तुमा अवस्थित हथौसा लिटल स्टारमा ४ जीपीए सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विद्यालयले सम्मान गरेको छ । विद्यालयले २०८२ सालको एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र अभिभावकलाई सम्मान गरेको हो । ४ जिपिए सहित ए प्लस, ए र बि प्लस नतिजा ल्याउने उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालयले सम्मान गर्नुका साथै सर्वोत्कृष्ट नतिजा ४ जिपिए ल्याउने विद्यार्थी पुष्पा पाण्डेलाई एक लाख दुई हजार बयासी ( रू .१०,२,०८२) रुपैयाँ सहित सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै बिद्यालयका प्राचार्य सुन्दर पाण्डेले उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई बधाई दिदै उज्ज्वल भविष्यको कामना गर्नुभयो । उहाँले विद्यार्थीलाई आफूप्रति विश्वास अभिभावकलाई आफ्ना विद्यार्थीहरूप्रति विश्वास र विद्यालयलाई समग्र आफ्नो शिक्षक र विद्यार्थी प्रती विश्वास गर्ने वातावरण सिर्जना गर्न सके विद्यार्थीलाई हामीले चाहेजस्तो बनाउन कसैले रोक्न नसक्ने बताउनु भयो । उहाँले हरेक वर्ष एकै किसिमको नतिजालाई राम्रो मानिने हुँदा सधैं समान तरिकाको नतिजालाई निरन्तरता दिन सकियो भने त्यो विद्यालय गुणस्तरीय विद्यालय छ भन्ने कुरा मापन गर्न सकिने तर्क दिनुभयो ।

कार्यक्रममा ४ जिपिए ल्याएकी सम्मानित विद्यार्थी पुष्पा पाण्डेले जीवनमा निरन्तर मेहनत, समयको सदुपयोग र सकारात्मक सोच अत्यन्त आवश्यक रहने बताउनुभयो । उहाँले आफ्नो लक्ष्य प्राप्त गर्न निरन्तर प्रयास गरेको र आगामी दिनहरूमा अझ जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै यस अवसरमा आफूलाई यहाँसम्म पुर्याउन अहोरात्र खट्नुहुने विद्यालय परिवार, अभिभावक, शिक्षक तथा साथीहरूलाई पनि धन्यवाद दिनुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यले विद्यालयलयले स्थापनाकालदेखि नै जिल्लामा उत्कृष्ट नतिजा ल्याउँदै आएको र वर्तमानमा पनि विद्यार्थीहरूले विद्यालयको नाम उच्च राख्दै आफ्नो र परिवारको गरिमा बढाएको बताउनुभयो ।


यस्तै कार्यक्रममा अभिभावक इन्द्र हरिजनले हाम्रा बिद्यार्थीलाई यस बिद्यालयले दिएको शिक्षा र संस्कारले भविष्यमा पनि अगाडि बढ्न प्रेरित गर्ने बताउनुभयो । उहाँले विद्यालय प्रशासन, विद्यार्थी र शिक्षकहरुको मिहिनेतले नै आज उत्कृष्ट नतिजा हात पारेको स्पष्ट पार्नुभयो ।
अभिभावक तारा केसिले अभिभावकका लागि यो गर्वको क्षण भएको बताउदै विद्यालयले गरेको सम्मानले बच्चाहरूलाई भविष्यमा अझ मेहनत गर्न उत्साहित बनाउने र आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्राचार्य सुन्दर पाण्डेको अध्यक्षता, सहायक प्राचार्य रमेश भट्टराईको स्वागत मन्तव्य तथा सहायक मदन मल्लको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संचालक समिति सदस्यहरु, शिक्षक, बिद्यार्थी र अभिभावकको सहभागिता रहेको कार्यक्रममा शिक्षकहरू समेत सम्मानित भएका थिए।

प्रतिक्रिया

खबर सबै