

मौसमविद भन्छन्– सोमबार पानी पार्ने अर्को प्रणाली आउँछ



मंगलबार रातिलेखि बुधबार दिउँसोसम्म दोस्रो हिउँदे वर्षा भयो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अद्यावधिक विवरणअनुसार काठमाडौं उपत्यकासहित बुधबार देशका अधिकांश भूभागमा वर्षा भयो।
तुलनात्मक रूपमा कोशी प्रदेशमा कम वर्षा भयो। महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा खानीखोला केन्द्रमा २५.८ मिलिमिटर वर्षा भयो। बिहीबार उल्लेख्य वर्षाको सम्भावना छैन।
अहिले बिहान कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बिहीबार दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ।
मौसमविद् विनोद पोखरेलले आगामी सोमबारबाट पानी पार्ने अर्को पश्चिमी वायु भित्रने प्रक्षेपण गरेका छन्।
‘हिजो पश्चिमी वायुले आधाभन्दा धेरै नेपालमा हल्कादेखि मध्यम वर्षा गरायो। अब अर्को प्रणाली फेरि सोमबारदेखि आउँदै छ,’ उनले पूर्वानुमान गर्दै भनेका छन्।
अर्को प्रणालीले पनि यस्तै खालको वर्षा गराउने सम्भावना रहेको उनले बताएका छन्।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया