विद्यार्थीहरुको छाला सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ८ स्थित श्री जनसेवा आधारभूत विद्यालयमा विद्यार्थीहरुको निशुल्क छाला सम्बन्धी शिविर सम्पन्न गरिएको छ । मंगलबार द लेप्रोसी नेपालद्धारा आयोजित छाला सम्बन्धी निशुल्क विद्यालय स्वास्थ्य शिविर कार्यक्रम अन्र्तगत विद्यार्थीहरुको जाँच गरिएको हो ।

वडा नम्बर ८ को उदयपुर मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयको कक्षा ५ देखि ८ सम्म अध्ययनरत ९० बढी विद्यार्थीहरुको छालाको जाँच गरिएको विद्यालयले जनाएको छ । पछिल्लो पटक कपिलवस्तुको बणागंगा सहितका केही पालिकामा छाला सम्बन्धी रोगहरु मध्ये कुष्ठरोगीहरुको पहिचान भइरहेका कारण विद्यालय उमेरका विद्यार्थीहरुमा पनि उक्त रोगको संक्रमण हुन सक्ने आँकलनका साथ सो शिविर गरिएको द लेप्रोसी मिसन नेपालका सहजकर्ता जगदिश थारुले जानकारी बताउनुभयो । बाणगंगा नगरपालिकामा कुष्ठरोगीहरुको संख्या हाल २६ जना रहेको तथ्याङ्क छ । उनीहरुमा देखिएको संक्रमणका कारण रोगको जोखिम क्षेत्रमा बढी सतर्कता अपनाउन समेत भनिएको छ ।

जनसेवा आधारभूत विद्यालयमा गरिएको परीक्षणमा सहभागी विद्यार्थीहरुमा रोगको लक्षण तथा संक्रमणको संकेत नदेखिएको सहजकर्ता जुना आलेले बताउनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये छात्र छात्राहरुलाई छुट्टा छुट्टै समुह बनाई परिक्षण गरिएको थियो ।

के हो कुष्ठरोग ?
कुष्ठरोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो। पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए। त्यसैले यसलाई ह्यानसेन्स रोग पनि पनि भनिन्छ। प्रत्येकवर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ। यही सन्दर्भमा केही दिन अघि मनाइएको यस वर्षको विश्व कुष्ठरोग दिवसका बेला वडा नम्बर ८ मा एक जना रोगीको पहिचान भएको थियो ।

शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु शुरूको चिह्न हो। यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन्। अन्त्यमा अपाङ्गता हुन सक्छ। स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु आदि लक्षण भेटिएमा कुष्ठरोग हो कि भनि शंका गर्न सकिन्छ।

नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको भए पनि समुदायमा अझै रोगका संक्रमित बिरामी फेला पर्ने गरेका छन् । कपिलवस्तुमा बाणगंगा नगरपालिका र शिवराज नगरपालिका यो रोगको जोखिममा रहेको जनाइएको छ ।

के छ उपचार ?
यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका अर्थात (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्ने चिकित्सकहरुको भनाई छ । बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ भने उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन। कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशूल्क पाइन्छ।

प्रतिक्रिया

खबर सबै