कपिलवस्तुसहित तराईमा बढ्यो चिसो

जितपुर । पुष मध्यतिर आईपुग्दा कपिलवस्तुसहित तराईका जिल्लामा यसवर्षको चिसो ह्वात्तै बढेको छ । शुक्रबार देखि यहाँको मौसम यो वर्षकै अत्याधिक चिसो भएको हो । जसका कारण मानवीय जनजीवन कष्टकर बन्न थालेको छ ।

पुष १२ गते सम्म बिहान साँझ केही चिसो भएपछि दिउसोको समयमा चर्काे घाम लाग्ने गरेको थियो । तर पुष १३ गते शुक्रबार देखि भने जाडो बढेको हो । चिसो बढेसँगै बालवालिका र बृद्धबृद्धा थप प्रभावित हुने देखिएको छ । देशका पहाडी क्षेत्रमा शनिबार पनि मौसम आंशिक बदली छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका साथै कोशी र बाग्मतीका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

मधेस प्रदेशसहित तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागेको छ । कोशी र बाग्मतीसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झाले बताए । अहिले उल्लेखनीय मौसमी प्रणाली छैन तर दिउँसोदेखि पश्चिमी वायुको प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसममा आएको परिवर्तनसँगै जाडो बढ्दा चिसोबाट लाग्ने रोगहरु सक्रिय हुने र यसको असर बालवालिका र बृद्धबृद्धा तथा मौसमी रोगहरुपनि बढ्ने हुँदा थप सतर्क हुनु आवश्यक रहेको चिकित्सकहरुको सुझाव छ ।

बालवालिकाहरुमा निमोनिया, रुघाखोकी जस्ता रोगहरु चिसोका कारण लाग्ने हुँदा न्याना लुगा लगाउनुपर्ने, झोलिलो सुप बनाएर पिउने, तातो पानि सेवन गर्ने, अत्यावश्यक काम बाहेक चिसोमा घरबाहिर हिडडुल नगर्ने गरिए चिसोबाट बच्न सकिने चिकित्सकहरुले सुझाव दिएका छन् । बुटवल स्थित आम्दा अस्पतालमा कार्यरत बालरोग सर्जन डा. गोपाल गुप्ताका अनुसार यो समयमा बालवालिकामा निमोनिया, रुघाखोकी, झाडाबान्ता जस्ता रोगहरु लाग्ने भएकाले अन्य समयमा भन्दा थप हेरचाह र ख्याल गर्नुपर्ने सुझाव छ । उनका अनुसार अभिभावकले बालबालिकालाई न्यानो बनाइ राख्न र बाक्ला चिसोबाट जोगाउने लुगा लगाइदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

खबर सबै