अधिवेशनकाे पहिलाे दिन शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय : भट्टराई

काठमाण्डौ

राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय भएको बताउनुभएको छ ।

आज मङ्गलवार बैठकमा बोल्दै सदस्य भट्टराईले देश सङ्घीयता, लोकतन्त्रको व्यवस्थाअनुसार चल्न नसकेको दाबी गर्नुभयो । उहाँले सरकार र सभामुखको अकर्मण्यताका कारण देशको राजनीति गलत दिशामा अघि बढिरहेको आरोप लगाउनुभयो ।

उहाँले सभामुखको अकर्मण्यताबाट सङ्घीय संसद् पनि प्रभावित रहेको र सही ढङ्गबाट चल्न नसकेको बताउनुभयो । उहाँले सरकार र सभामुखले संसद् चलाउन नचाहेको आरोपसमेत लगाउनुभयो । देश सरकार विहीनताको अवस्थामा रहेको भन्दै अहिले नागरिकले सरकार छ र ? भन्न थालेको समेत बताउनुभयो । सांसद भट्टराईले सरकार मन्त्री र उनीहरूको परिवारका लागि मात्रै भएको बताउनुभयो ।

सदस्य भट्टराईले भन्नुभयो, ‘हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय बनेको छ । देश सङ्घीयता, लोकतन्त्रको व्यवस्थाअनुसार चल्न सकेको छैन । अहिले जनताले सरकार छ र भन्न थालिसकेका छन् । सरकार मन्त्रीहरू र उनीहरूको परिवारका लागि मात्रै भएको छ ।’

बैठकमा गृहमन्त्री बालकृष्ण खाणका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले  सामाजिक सुरक्षा ऐनसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक आउँदाे पुस ५ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

खबर सबै