कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा एकै रात दुई स्थानमा आगलागी हुँदा गोठहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागीमा एक पशुको मृत्यु भएको छ भने तीन पशु घाइते भएका छन् ।

शनिबार राति करिब ११ः२० बजे विजयनगर गाउँपालिका–१ नौरङ्गियामा सहिम मुसलमानको गोठबाट सुरु भएको आगलागीले आसपासका अन्य गोठसमेत जलेर नष्ट भएका हुन् । लामखुट्टे धपाउन बालिएको आगोबाट सल्किएको आगोले काठले बनेका र फुसले छाएका चारवटा गोठ पूर्ण रूपमा नष्ट गरेको प्रहरीले जनाएको छ ।

आगलागीमा जम्मे मुसलमानको एउटा भैँसीको पाडो जलेर मरेको छ भने एउटा भैँसी र एउटा गोरु घाइते भएका छन् । सहिम मुसलमानको एउटा गोरु पनि जलेर घाइते भएको छ । आगलागीबाट अन्य दुई जनाका गोठसमेत पूर्ण रूपमा नष्ट भएका छन् ।

स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो निभाउने प्रयास गरिएको थियो । राति १ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

त्यस्तै, शनिबार राति नै विजयनगर गाउँपालिका–४ देउपुरामा जहुर हसेत मुसलमानको गोठमा पनि आगलागी भएको छ । लामखुट्टे धपाउन बालिएको आगोबाट सल्किएको आगलागीमा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

गोठमा रहेका आठ बाख्रामध्ये दुईवटा जलेर घाइते भएका छन् भने एउटा कुखुरा जलेर मरेको छ । उक्त आगलागीबाट करिब ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार राति १२ः२० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

दुवै स्थानका आगलागीमा मानवीय क्षति भने भएको छैन ।

लामखुट्टे धपाउन बालिएको आगोबाट एकै रात दुई स्थानमा आगलागी भएपछि पशुचौपाया र गोठमा ठूलो क्षति भएको छ । प्रहरीले आगो बाल्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

खबर सबै