नेपालले साफ च्याम्पियनसिप गुमायो

नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिन नपाउने निश्चित भएको छ । 

अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)बाट लगाएको प्रतिबन्ध नहटेपछि बंगलादेशमा हुने १५औं साफ च्याम्पियनसिप नेपालले भाग लिन नपाउने भएको हो । 

फिफाले अखिल नेपाल फुटबल संघ(एन्फा) माथि लगाएको निलम्ब कायमै रहेपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले विहिबार खेलको तालिका प्रकाशित गरेको छ । साफले सेप्टेम्बर ३० सम्म निलम्बन फुकुवा भए नेपाललाई प्रतियोगितामा सहभागी गराउने बताएको थियो तर, उक्त समयसीमाभित्र निलम्बन फुकुवा नभएपछि नेपालले प्रतियोगिता खेल्न नपाउने निश्चित भएको हो । 

फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै गत असार ११ गते एन्फालाई निलम्बन गरेको थियो । गत अगस्ट १ मा भुटानको थिम्पुमा भएको समूह विभाजनमा नेपाललाई आयोजक बंगलादेश, श्रीलंका र भुटानसँगै समूह ‘ए’मा राखिएको थियो । त्यस्तै समूह ‘बी’मा साविक विजेता भारत, माल्दिभ्स र पाकिस्तान छन् ।

सन् १९९३ मा सुरु भएको दक्षिण एसियाको फुटबल महोत्सवका यसअघिका सबै संस्करणमा नेपाल सहभागी हुँदै आएको थियो । साफ च्याम्पियनसिपको १५औं संस्करण नोभेम्बर ९ देखि १७ सम्म बंगलादेशको ढाकामा हुँदैछ । 

प्रतिक्रिया

खबर सबै