इसराइल उडेको विमानमा दुई पाइलटबीच कुटाकुट, साउदीमा आकस्मिक अवतरण

दुबईबाट इसराइलको तेल अभिभतर्फ उडेको फ्लाइ दुबईको एउटा यात्रुवाहक विमानमा दुई पाइलटबीच हिंसात्मक झडप भएपछि विमानलाई साउदी अरबतर्फ मोडिएको छ।

फ्लाइ दुबईको उडान नम्बर एफजेड–१०७३ बुधबार साउदी अरबको तबुक स्थित प्रिन्स सुल्तान बिन अब्दुलअजिज विमानस्थलमा सुरक्षित अवतरण गरेको हो। विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको फ्लाइ दुबईले जनाएको छ।

घटनापछि केही समय विमान अपहरणमा परेको आशंका गरिएको थियो।

विमानबाट आपतकालीन संकेत प्रसारण भएपछि इसराइलले लडाकु विमानसमेत पठाएको सिएनएनले जनाएको छ।

तर इसराइली अधिकारीहरूले पछि यो घटना अपहरण नभएको बताएका छन्।

उडानका क्रममा दुई पाइलटबीच शारीरिक झडप भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। झडपको कारण भने तत्काल स्पष्ट भएको छैन।

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार विमानले सुरुमा ‘७७००’ कोड प्रसारण गरेको थियो। यो सामान्य आपत्कालीन अवस्थाको संकेत हो।

त्यसपछि विमानले ‘७५००’ कोड प्रसारण गरेको थियो। यो विमानमा गैरकानुनी हस्तक्षेप वा अपहरणको आशंका जनाउने संकेत हो। पछि फेरि ‘७७००’ कोड प्रसारण गरिएको थियो।

विमानको उचाइ पनि केही समयमै तीव्र रूपमा घटेको थियो। फ्लाइट ट्र्याकिङ तथ्यांक अनुसार विमानले दुई मिनेटभन्दा केही बढी समयमा करिब १७ हजार ४०० फिट उचाइ गुमाएको थियो।

अर्को विवरण अनुसार विमान करिब ३३ हजार फिटबाट १७ हजार फिट आसपासमा झरेको थियो।

घटनाबारे जानकारी पाएपछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षा मन्त्रीले सुरक्षा अधिकारीहरूसँग छलफल गरेका थिए।

 इसराइली सेनाका अनुसार आपत्कालीन संकेत आएपछि इसराइली वायुसेनाका लडाकु विमानहरू पनि परिचालन गरिएका थिए।

इसराइली अधिकारीहरूले विमानमा ठूलो दुर्घटना हुनबाट जोगिएको बताएका छन्। केही इसराइली सञ्चारमाध्यमले एक पाइलटले अर्को पाइलटमाथि चक्कुले आक्रमण गरेको दाबी पनि गरेका छन्।

यात्रु र चालक दलका सदस्यहरूले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको बताइएको छ। तर यी विवरणको पूर्ण स्वतन्त्र पुष्टि भइसकेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। विशेषगरी झडप कसरी सुरु भयो र त्यस क्रममा विमानको नियन्त्रणमा कस्तो असर परेको थियो भन्नेबारे अनुसन्धान भइरहेको छ।

विमान तबुकमा अवतरण गरेपछि यात्रुहरू सुरक्षित रहेको फ्लाइदुबईले पुष्टि गरेको छ। कम्पनीले सम्बन्धित अधिकारीहरूसँग मिलेर घटनाको अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ।

इसराइल र साउदीबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन। त्यसैले इसराइली यात्रुहरूलाई तबुकबाट तेल अभिभ फर्काउने विषयमा पनि विशेष समन्वय आवश्यक परेको छ। फ्लाइदुबईले यात्रुहरूलाई इसराइल फर्काउन अर्को विमान पठाउने तयारी गरेको बताइएको छ।

यस्तै प्रकृतिको घटना यसअघि पनि व्यावसायिक विमानमा भएको थियो। सन् २०२२ मा जेनेभाबाट पेरिसतर्फ उडेको एयर फ्रान्सको विमानमा दुई पाइलटबीच ककपिटमै हात हालाहाल भएको थियो। चालक दलका अन्य सदस्यहरूले उनीहरूलाई छुट्याएका थिए। विमान भने सुरक्षित रूपमा गन्तव्यमा पुगेको थियो।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

प्रतिक्रिया

खबर सबै