ज्येष्ठ नागरिकको आँगनमै पुगेर ‘जस्मिन बड्स’का विद्यार्थीले दिए सम्मान र शुभकामना

कपिलवस्तु | ज्येष्ठ नागरिकप्रति सम्मान, आत्मीयता र सद्भाव अभिव्यक्त गर्दै कपिलवस्तुको बाणगंगा नगरपालिका–९ जिनुवास्थित जस्मिन बड्स–जे.बी.एस. स्कुलले ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस फरक र सन्देशमूलक ढंगले मनाएको छ।

दिवसको अवसरमा विद्यालयमा कार्यरत शिक्षक तथा अध्ययनरत विद्यार्थीहरू वडा नम्बर ९ का विभिन्न टोलमा पुगेर ज्येष्ठ नागरिकलाई उहाँहरूकै घरमा भेट्दै शुभकामना तथा सम्मान व्यक्त गरेका हुन्। विद्यालयले औपचारिक कार्यक्रमभन्दा ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर आत्मीयता साटासाट गर्ने अभ्यासलाई दिवस मनाउने माध्यम बनाएको हो।

विद्यालयका अनुसार वडा नम्बर ९ पडरियाका ज्येष्ठ नागरिक चन्द्रप्रसाद पौडेल, जानकी भण्डारी लगायत विभिन्न टोलमा बसोबास गर्दै आएका एक दर्जनभन्दा बढी ज्येष्ठ नागरिकसँग भेटघाट गरी दिवसको शुभकामना प्रदान गरिएको छ।

ज्येष्ठ नागरिकसँग रहेका जीवनका भोगाइ, ज्ञान, सीप र अनुभवको सम्मान गर्दै नयाँ पुस्तालाई उनीहरूप्रति आदर र सम्मान गर्ने संस्कार विकास गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको विद्यालयले जनाएको छ।

विद्यालयले ज्येष्ठ नागरिकप्रतिको सम्मान केवल एउटा दिवसमा सीमित नभई बालबालिकाको व्यवहार र संस्कारमै स्थापित हुनुपर्ने सन्देश दिन खोजेको जनाएको छ। समुदायमा लामो जीवनयात्राबाट अनुभव हासिल गरेका ज्येष्ठ नागरिकसँग विद्यार्थीको प्रत्यक्ष भेटघाट गराउँदा उनीहरूमा मानवीय संवेदना, पारिवारिक मूल्य, सामाजिक जिम्मेवारी र सम्मानको भावना विकास हुने विद्यालयको विश्वास छ।

विद्यालयका शिक्षकहरूले ज्येष्ठ नागरिकसँगको भेटघाट विद्यार्थीका लागि नयाँ पुस्ता र पुरानो पुस्ताबीचको सम्बन्धलाई थप आत्मीय बनाउने अवसरसमेत बनेको बताएका छन्।

संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १४ मा अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर हरेक वर्ष अक्टोबर १ मा यो दिवस मनाइँदै आएको छ। दिवसका अवसरमा ज्येष्ठ नागरिकको योगदान, अधिकार, सुरक्षा, सम्मान तथा कल्याणका विषयमा विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन्।

सोही अवसरमा ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका क्षेत्रमा क्रियाशील संघसंस्थासँगै जस्मिन बड्स विद्यालयले पनि ज्येष्ठ नागरिकको घरमै पुगेर सम्मान र शुभकामना व्यक्त गर्दै दिवस मनाएको हो।

प्रतिक्रिया

खबर सबै