नेपालगन्ज नाकाबाट १० महिनामा करिब १७ अर्ब राजस्व सङ्कलन

 नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब १७ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार चालु आवको १० महिनामा कार्यालयले १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

उहाँले सो अवधिमा २० अर्ब १० करोड ७८ लाख ५५ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिए पनि करिब १७ अर्ब रुपियाँ मात्र राजस्व सङ्कलन भएको बताउनुभयो ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १६ अर्ब ४६ करोड २४ लाख रुपियाँ राजस्व सङ्कलन भएको जानकारी दिँदै प्रमुख पौडेलले चालु आवमा गत वर्षको तुलनामा करिब २७ करोड रुपियाँ बढी राजस्व सङ्कलन भएको बताउनुभयो ।

उहाँका अनुसार सोही अवधिमा नेपालगन्ज नाकाबाट ७० अर्ब २३ करोड ९ लाख २४ हजार रुपियाँ बराबरको आयात तथा २ अर्ब ८२ करोड ६९ लाख ६७ हजार रुपियाँ बराबरको निर्यात भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षमा गत आवको तुलनामा आयात र निर्यात दुवै बढेका छन् । नेपाल–भारत सीमास्थित जमुनाह नाकामा एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आएपछि आयात–निर्यात वृद्धि भई भन्सार राजस्व बढ्ने अपेक्षा गरिए पनि सो अनुसारको परिणाम आउन नसकेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले नेपालगन्ज नाकाबाट पछिल्ला केही वर्षयता लक्ष्य अनुसार भन्सार राजस्व सङ्कलन हुन नसकेको उल्लेख गर्दै त्यसबारे विस्तृत अध्ययन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै