

अर्घाखाँची : ऐतिहासिक पौवा ओझेलमा


अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२, बल्कोटस्थित ऐतिहासिक पौवा संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । राणाकालीन इतिहास, अद्वितीय काठे शिल्पकला र स्थानीय किंवदन्तीले भरिएको यो सम्पदा अहिले पनि धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिए पनि यसको संरक्षण र प्रवर्धनमा अपेक्षित ध्यान पुग्न सकेको छैन । यो तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको न्वारान भएको स्थान भनेर चिनिन्छ ।
सन्धिखर्क–बल्कोट–प्युठान सडकखण्डछेउमा रहेको पौवा अहिले यात्रुको विश्रामस्थल, स्थानीय भेला तथा सामाजिक गतिविधिका लागि प्रयोग हुँदै आएको छ । यद्यपि यसको ऐतिहासिक महत्व अनुसार संरक्षण हुन नसक्दा काठमा कुँदिएका कलात्मक आकृति र संरचना क्रमशः जीर्ण बन्दै गएका छन् ।
छत्रदेव गाउँपालिका–२ का वडाध्यक्ष शङ्कर पाण्डेका अनुसार विसं १९०४ मा कर्णेल सनन्दसिंह रन्डुङको नेतृत्वमा पौवा तथा मन्दिर निर्माण सुरु गरिएको थियो । निर्माण सम्पन्न हुन करिब २० वर्ष लागेको बुढापाकाले बताउने गरेका छन् । पौवापरिसरमा शिवालय, विभिन्न देवीदेवताका मन्दिर र विश्रामस्थल छन् । काठमा कुँदिएका कलात्मक आकृतिलाई तत्कालीन नेपाली शिल्पकलाको उत्कृष्ट नमुनाका रूपमा लिइन्छ ।
स्थानीय बुढापाकाका अनुसार तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको जन्म अर्घाखाँचीको लामपाटी क्षेत्रमा भएको, बल्कोटमा न्वारान गरिएको र पछि उहाँकै इच्छा अनुसार यहाँ विचित्र पौवा निर्माण गरिएको थियो । छत्रदेव–२, बल्कोटका नारायण भट्टराईका अनुसार इतिहासकार प्राध्यापक दिनेशराज पन्त र युवराजशमशेर जबराले पनि आफ्नो अध्ययनमा यही तथ्य उल्लेख गरेका छन् । यस विषयमा तत्कालीन राजा सुरेन्द्र शाहका पालामा जारी लालमोहर र अन्य ऐतिहासिक अभिलेखसमेत रहेको स्थानीयको दाबी छ ।
छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले यो सम्पदा धार्मिक आस्थाको केन्द्र मात्र नभई अर्घाखाँचीको ऐतिहासिक पहिचानसँग जोडिएको अमूल्य धरोहर भएको बताउनुभयो । संरक्षण, पुनर्निर्माण र प्रभावकारी प्रचारप्रसार गर्न सके धार्मिक तथा ऐतिहासिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।
छत्रदेव–२, बल्कोटका स्थानीय पीताम्बर खनालका अनुसार विगतमा पौवाको सञ्चालनका लागि गुठी व्यवस्था गरिएको थियो । यहाँ दैनिक पूजा, आरती, बाजागाजा र मन्दिरको नियमित सरसफाइ हुने परम्परा थियो ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया