नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउने रास्वपाको वाचा, १० वर्षमा ३० अर्ब डलरको आईटी निर्यात गर्ने लक्ष्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार सुर्खेतबाट आयोजित सभामा सार्वजनिक गरिएको घोषणापत्रमा रास्वपाले डिजिटल सुशासनदेखि आईटी सेवा निर्यात र साइबर सुरक्षा क्षेत्रका कार्यक्रम समेटेको छ ।

यसअन्तर्गत राष्ट्रिय परिचयपत्रलाई एकीकृत डिजिटल डेटाबेसको आधार बनाएर सरकारी सेवा प्रवाहलाई ‘फेसलेस’ र झन्झटमुक्त बनाउने रास्वपाको दाबी छ । वाचापत्र नाम दिइएको यस चुनावी घोषणापत्रमा जन्म दर्ता, सामाजिक सुरक्षा, लाइसेन्स र व्यवसाय दर्ता जस्ता सेवाहरू डिजिटल माध्यमबाट प्रदान गर्ने र सरकारी कार्यालयहरूमा हुने ढड्डा प्रणालीलाई विस्थापित गरी डिजिटल हस्ताक्षर र अत्याधुनिक ‘डिजिटल सर्भिस डेलिभरी’ को समयबद्ध कार्ययोजना लागु गर्ने उल्लेख छ ।

नेपाल सरकारले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ को रूपमा घोषणा गरेको छ । त्यसैलाई आधार बनाउँदै रास्वपाले यो अवधिमा ३० अर्ब डलरको आईटी सेवा तथा सफ्टवेयर निर्यात गर्ने लक्ष्य प्राप्त गर्न एक स्वायत्त ‘आईटी प्रवर्द्धन बोर्ड’ गठन गर्ने बताएको छ । यस क्षेत्रका लागि विशेष आयकर सहुलियत, वैदेशिक लगानी भित्र्याउन र नाफा लैजान सरल नीति र बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋणको म्याक्रो व्यवस्था गर्ने योजना समेटिएको छ । साथै, नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सातै प्रदेशमा अत्याधुनिक डिजिटल पार्क निर्माण गरी पाँच लाख प्रत्यक्ष रोजगारी सुनिश्चित गर्ने रास्वपाको दाबी छ ।

त्यस्तै जलविद्युत र उच्च हिमाली जलवायुको उपयोग गरी ‘ग्रीन डेटा सेन्टर’ हरू स्थापना गर्ने योजना अघि सारिएको छ । नेपाललाई ‘विश्वको सबैभन्दा हरित सर्भर रुम’ को रूपमा चिनाउँदै विदेशी कम्पनीहरूका लागि सुरक्षित डेटा होस्टिङ हब बनाउने पार्टीको नीति छ । साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ब्लकचेन र क्लाउड कम्प्युटिङ जस्ता चौथो औद्योगिक क्रान्तिका प्रविधिहरूलाई उद्योग र कृषिमा एकीकृत गर्ने विषयमा घोषणापत्रमा समेटिएका छन् ।

आफ्नो सरकार बनेमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि अनलाइन मतदानको व्यवस्था गर्ने सुनिश्चितता गर्ने रास्वपाको दाबी छ । यस्तै, पार्टीले प्रत्येक प्रदेशमा एआईमा आधारित अनुसन्धान केन्द्र, ई-लाइब्रेरी र टेलिमेडिसिन सेवालाई देशभर विस्तार गर्ने सङ्कल्प प्रस्तुत गरेको छ।

सहरी विकासतर्फ रास्वपाले छनौट भएका नगरहरूलाई चरणबद्ध रूपमा ‘स्मार्ट सिटी’ मा रूपान्तरण गर्ने र देशभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्य राखेको छ । बढ्दो डिजिटल अपराधलाई मध्यनजर गर्दै २४सै घण्टा सक्रिय रहने ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ र नागरिकको डेटा गोपनीयताका लागि कडा कानुन निर्माण गर्ने प्रतिबद्धता समेत घोषणापत्रमा समेटिएको छ ।

प्रतिक्रिया

खबर सबै