रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे

 रास्वपा सभापति रवि लामिछानेको धार्मिक यात्राको एउटा प्रमुख गन्तव्यका रूपमा रहेको भारतीय राज्य उत्तराखण्डको कैँची धाम यतिबेला चर्चामा छ। भारतका प्रसिद्ध धार्मिक तथा आध्यात्मिक स्थलमध्ये एक मानिने यस आश्रमको पहिचान आध्यात्मिक गुरु नीम करोली बाबा ‘महाराजजी’सँग जोडिएको छ।

नीम करोली बाबा भारतका प्रसिद्ध आध्यात्मिक सन्त तथा भगवान् हनुमानका अनन्य भक्त थिए। उनले स्थापना गरेको यो धाम उत्तराखण्डका प्रमुख धार्मिक स्थलमध्ये एक हो। पहाडको काखमा रहेको आश्रम, नजिकै बग्ने खोला, शान्त परिवेश र नीम करोली बाबाप्रतिको आस्था कैँची धामका आकर्षण हुन्। साधारण श्रद्धालुदेखि विश्वप्रसिद्ध व्यक्तिसम्म पुगेको यो धार्मिक स्थल अहिले लामिछानेको पारिवारिक भ्रमणका कारण नेपालीमाझ पनि चर्चामा छ।

तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत गएका लामिछानेले परिवारसहित कैँची धाम पुगिसकेका छन भने आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम समेत छ। उनले आफ्नाे जेल बसाइका क्रममा गरेकाे भाकल पुरा गर्न धार्मिक यात्रामा रहेकाे संचाकर्मीहरूसंग बताइसकेका छन् । उनको सचिवालयले पनि भ्रमणलाई पूर्णतः आध्यात्मिक तथा पारिवारिक यात्राका रूपमा उल्लेख पनि गरिसकेकाे छ।

के हो कैँची धाम? नीम करोली बाबासँग यसको सम्बन्ध कसरी जोडियो? अनि भारतबाहिर पनि यसको चर्चा किन हुन्छ?
कैँची धाम भारतको उत्तराखण्ड राज्यको कुमाउँ क्षेत्रमा रहेकाे छ।  नैनीताल–अल्मोडा सडकमा रहेको यो स्थल नैनीतालबाट करिब १७ किलोमिटर र भवालीबाट नौ किलोमिटर टाढा छ। नीम करोली बाबाको आश्रमका कारण यसले प्रसिद्धि पाएको हो।

यो धाम  मन्दिर र आश्रम रहेको धार्मिक परिसर हो। यहाँ हनुमानको दर्शन र पूजाअर्चनासँगै ध्यान तथा आत्मचिन्तनका लागि पनि मानिसहरू पुग्ने गरेका छन्। भारतको पर्यटनसम्बन्धी सरकारी पोर्टल ‘इन्क्रेडिबल इन्डिया’ले यसलाई शान्ति खोज्ने र ध्यान गर्न चाहनेहरूको गन्तव्यका रूपमा चिनाएको छ।

kaichi dham1

सन् १९६२ बाट सुरु भएको इतिहास
उत्तराखण्ड पर्यटन विभागका अनुसार नीम करोली बाबाले सन् १९६२ मा कैँची धाम आश्रम स्थापना गरेका थिए। त्यसपछि यहाँ मन्दिर र अन्य धार्मिक संरचना विकास हुँदै गए। सन् १९६४ को जुनमा पहिलो हनुमान मन्दिरको प्रतिष्ठापन गरिएको नीम करोली बाबा आश्रमको विवरणमा उल्लेख छ।

हरेक वर्ष जुन १५ लाई प्रतिष्ठा दिवसका रूपमा मनाइन्छ। त्यस अवसरमा भक्तजन दर्शन र प्रसाद ग्रहण गर्न भेला हुन्छन्। सामूहिक भोजन गराइने ‘भण्डारा’ यहाँको प्रमुख धार्मिक परम्परामध्ये एक हो। आश्रमको स्थापना र मन्दिरको प्रतिष्ठापन फरक समयमा भएका कारण यसको इतिहासमा सन् १९६२ र १९६४ दुवै वर्ष उल्लेख हुने गरेका छन्।

को थिए नीम करोली बाबा?
नीम करोली बाबा भारतका आध्यात्मिक सन्त थिए। उनका भक्तले उनलाई आदरपूर्वक ‘महाराजजी’ भनेर सम्बोधन गर्छन्। उत्तर प्रदेशमा जन्मिएका बाबाकाे जन्मनाम लक्ष्मण नारायण शर्मा रहेको जीवनीसम्बन्धी विवरणमा उल्लेख छ। उनी विशेषगरी हनुमानको भक्तिका लागि परिचित छन्। उनका शिक्षासँग प्रेम, सेवा, करुणा र भक्तिको सन्देश जोडिन्छ। अनुयायीहरूले उनका शिक्षालाई अरूको सेवा गर्ने र सरल जीवन बिताउने प्रेरणाका रूपमा लिन्छन्।

नीम करोली बाबाकाे सन् १९७३ मा निधन भएकाे थियाे । उनको निधनपछि पनि अनुयायीहरूको आस्था धाममा कायम रह्यो। बाबाको शिक्षा, स्मृति र आध्यात्मिक विरासतसँग जोडिएर कैँची धाम उनका अनुयायी तथा हनुमान भक्तहरूको प्रमुख तीर्थस्थलका रूपमा स्थापित हुँदै गएकाे हाे।

‘कैँची’ नाम कसरी रह्यो?
कैँची धामको नामसँग त्यहाँको सडकको बनावट जोडिएको पाइन्छ। कुमाउँ पहाडमा अवस्थित यस ठाउँका दुई तीखा घुम्तीलाई कैँचीका पातासँग तुलना गर्ने लोकप्रिय व्याख्या पनि छ। तर नैनीताल जिल्ला प्रशासनका अनुसार स्थानीय भाषामा सडकका दुई तीखा घुम्तीलाई ‘कैँची’ भनिने भएकाले यही नाम रहन गएको हो। जिल्ला प्रशासनको विवरणले नामको सम्बन्ध सीधै काट्ने कैँचीसँग नरहेको स्पष्ट पारेको छ।

किन पुग्छन् श्रद्धालु?
कैँची धाम पुग्नेहरूको मुख्य उद्देश्य दर्शन र पूजाअर्चना हो। कतिपय भक्तजन मनोकामना व्यक्त गर्न पुग्छन् भने केही ध्यान, आत्मचिन्तन र मानसिक शान्तिको खोजीमा जान्छन्। पहाडको बीचमा रहेको आश्रम, नजिकैको खोला, हरियाली र प्राकृतिक शान्तिले एकाग्र भएर बस्ने अवसर दिने त्यहाँ पुगेकाहरू बताउँछन्।

श्रद्धालुका लागि यो आस्था, विश्वास र मानसिक शान्तिको खोजी गर्ने गन्तव्य पनि हो। उनीहरूले यहाँको यात्रालाई आफ्नो आस्था र व्यक्तिगत अनुभूतिसँग जोडेर हेर्छन्। सरकारी पर्यटन विवरणमा पनि धामलाई ध्यान र शान्तिका लागि उपयुक्त स्थलका रूपमा प्रस्तुत गरिएको छ।

kaichidham

स्टीभ जब्स र मार्क जुकरबर्गसँग जोडिएको नाम 
कैँची धाम स्थानीय श्रद्धालुको आस्थाको केन्द्रसँगै विभिन्न देशका आध्यात्मिक खोजमा रहेका मानिसको गन्तव्यका रूपमा पनि चिनिन्छ। यसको अन्तर्राष्ट्रिय चर्चासँग प्रविधि क्षेत्रका दुई प्रसिद्ध नामहरूः एप्पलका सहसंस्थापक स्टीभ जब्स र फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि जोडिएका छन्। उनीहरूको भ्रमणले यस स्थललाई थप चिनाएको उत्तराखण्ड पर्यटन विभागले उल्लेख गरेको छ।

जब्स सन् १९७४ मा आध्यात्मिक खोजका क्रममा भारत आएका थिए। उनी नीम करोली बाबालाई भेट्न चाहन्थे। तर अघिल्लो वर्ष नै बाबाको निधन भइसकेकाले उनले प्रत्यक्ष भेट्न भने पाएनन्। बताइए अनुसार पछि जब्सले  फेसबुकका संस्थापक जुकरबर्गलाई आफ्नो कम्पनीको उद्देश्यबारे पुनर्विचार गर्न भारतको मन्दिर भ्रमण गर्न सुझाव दिएका थिए।

सन् २०१५ मा अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुक मुख्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संवादका क्रममा फेसबुकका संस्थापक मार्क करबर्गले उक्त यात्राबारे स्मरण गरेका थिए। कम्पनी कठिन अवस्थाबाट गुज्रिरहेका बेला आफूले जब्ससँग सल्लाह लिएको र उनले कम्पनीको उद्देश्यबारे फेरि सोच्न भारतको मन्दिर जान सुझाएको उनको भनाइ थियो।

भारत यात्राले मानिसलाई जोड्ने कामको महत्त्वप्रतिको आफ्नो विश्वास बलियो बनाएको उनले बताएका थिए।  अमेरीकी संचारसंस्था द वासिङ्टन पोस्टले जुकरबर्ग सन् २००८ मा कैँची धाम पुगेको समाचार प्रकाशित पनि गरेको थियाे ।

दर्शन र आश्रममा बसाइको व्यवस्था फरक
कैँची धाममा दर्शन गर्न जानु र आश्रमभित्र बास बस्नु फरक विषय हुन्। आश्रममा बस्नेहरूका लागि धार्मिक अनुशासन तथा बिहान–साँझको आरतीमा सहभागिताजस्ता नियम रहेको नीम करोली बाबा आश्रमको विवरणमा उल्लेख छ। यात्रा वा बसाइको योजना बनाउनेलाई श्री कैँची हनुमान मन्दिर ट्रस्टको आधिकारिक जानकारी हेर्न उक्त आश्रमले सुझाव दिएको छ। ट्रस्टले पनि आफ्नो वेबसाइटलाई आधिकारिक स्रोतका रूपमा चिनाएको छ।

लामिछानेको यात्रासँगै चर्चामा आएको कैँची धामको मूल परिचय नीम करोली बाबाको आश्रम र हनुमानको धार्मिक स्थल हो। प्रसिद्ध व्यक्तिहरूको आगमनले यसको चर्चा फैलाए पनि भक्तजनका लागि यसको महत्त्व आस्था, सेवा र आध्यात्मिक शान्तिसँग जोडिएको छ।

प्रतिक्रिया

खबर सबै