शुद्धोदन मा.विमा सामाजिक परीक्षण, गुणस्तरीय शिक्षामा सहकार्य अपरिहार्य : घिमिरे

वाणगंगा नगरपालिका–९, जिनुवा स्थित शुद्धोद्धान माध्यमिक विद्यालयले आर्थिक वर्ष ०८१/०८२ को सामाजिक परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार तथा आर्थिक व्यवस्थापनबारे सरोकारवालालाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा अभिभावक, शिक्षक, जनप्रतिनिधि र स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कौलेश्वर मिश्राले विद्यालयको वर्तमान शैक्षिक अवस्था, भौतिक संरचना, उपलब्धिहरू र भावी कार्ययोजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले शिक्षाको गुणस्तर अभिवृद्धि नै विद्यालयको मूल लक्ष्य रहेको उल्लेख गर्दै विद्यार्थी केन्द्रित शिक्षण, शिक्षक–अभिभावक सहकार्य र समुदायको सक्रिय सहभागिताबाट मात्र विद्यालयले अपेक्षित उचाइ हासिल गर्न सक्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी विद्यालयका शिक्षक एकनारायण पौडेलले आर्थिक वर्ष ०८१/०८२ मा विद्यालयले सञ्चालन गरेको करिब १ करोड ४९ लाख रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गर्नुभयो। उहाँले विद्यालयले आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई उच्च प्राथमिकतामा राख्दै स्रोत–साधनको सदुपयोग गरिरहेको स्पष्ट पार्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख रोशन घिमिरेले विद्यालयको सबैभन्दा ठूलो पूँजी विद्यार्थी नै भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु शिक्षक, अभिभावक र समुदाय सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हितका लागि इमानदारीपूर्वक काम गर्न सके मात्र विद्यालयको दिगो विकास सम्भव हुने धारणा राख्नुभयो।

कार्यक्रममा समाजसेवी नारायण खनाल, धुर्बबहादुर रायमाझी, पूर्व वडा अध्यक्ष धुर्ब बेल्बासे, सामाजिक परीक्षण समिति सदस्य भुवनेश्वर पौडेल लगायत वक्ताहरूले विद्यालयको शैक्षिक उन्नति, अनुशासन र निरन्तर प्रगतिको कामना गर्दै रचनात्मक सुझाव प्रस्तुत गर्नुभएको थियो।

सामाजिक परीक्षण समिति संयोजक तथा वडा अध्यक्ष कमल पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम शिक्षक विष्णु प्रसाद बेल्बासेको सहजीकरणमा सञ्चालन भएको थियो।

वि.सं. २०२८ सालमा स्थापना भएको शुद्धोद्धान माध्यमिक विद्यालयमा हाल कक्षा १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ। विद्यालयले समुदायसँग हातेमालो गर्दै गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्ने लक्ष्यका साथ विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

खबर सबै