

कपिलवस्तुमा चुनावी सरगर्मी : कुन दलबाट कसको उमेद्धारी ?





राजेन्द्र खनाल, जितपुर । आगामी फागुन २१ मा तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुको सरगर्मी र नेताहरुको दौडधुप गाउँघरमै बढेको छ । स्थानीय नेताहरुको राजधानी केन्द्रित दौडधूप पनि उस्तै देखिन्छ । उता निर्वाचन आयोग र सरकारले पनि निर्वाचनसम्बन्धी गतिविधिलाई तिव्रताका साथ अगाडी बढाएको जनाइरहेका छन् । राजनीतिमा रास्वपाले बालेन र कुलमानसँग एकता गरि अघि बढेसँगै पुराना दलहरु नेपाली कांग्रेस र एमाले पनि परिस्थितिलाई हेरेर चुनावी एकता गर्न सक्ने अवस्थामा देखिन्छन् ।
जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेले पनि संघीय समानुपातिक उमेद्धारको टुङ्गो लगाइसके भने यसपटक नयाँ भनिएका र वैकल्पिक शक्तिको रुपमा उदाएका दलहरुमा पनि उमेद्धार चयनको चटारो छ ।
वर्तमान सरकारलाई असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताउँदै आएका कांग्रेस र एमाले पनि समानुपातिक उमेद्धारको बन्द सूची निर्वाचन आयोगमा बुझाउँदै अब प्रत्यक्ष तर्फका उमेद्धारको खोजीमा केन्द्रित बनेका छन् । यसले फागुन २१मा जसरी पनि निर्वाचन हुने संकेतलाई बलियो बनाएको छ ।
यस बिचमा आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ। आयोगले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको थियो । राष्ट्रिय सभामा १९ सिट रिक्त हुन लागेको छ। माघ ११ को राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दलहरु आयोगमा दर्ता भएका छन्।
यता फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि स्थानीय स्तरमा पनि दल र नेताहरुको दौडधुप उस्तै बढेको छ भने दलहरुलाई उमेद्धार शिफारिस गर्न भ्याइ नभ्याई छ । कपिलवस्तु जिल्लामा खासगरी यस अघिका प्रमुख दलहरु नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, (हालको) नेपाली कम्युनिकष्ट पार्टी, राष्ट्रिय जनमोर्चासहितका विभिन्न दलहरुले सम्भावित उमेद्धारहरुको सूची सार्वजनिक गरिसकेका छन् । कतिपय दलहरु भने निर्वाचन बहिस्कारको घोषणा गरेका छन् ।
चर्चामा छ, कपिलवस्तु क्षेत्र नम्बर १
कपिलवस्तु जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि ३ वटा निर्वाचन क्षेत्र कायम छन् । जिल्लामा सबैभन्दा बढी चासोका साथ हेरिने क्षेत्र निर्वाचन क्षेत्र नम्बर एक हो । यहाँ कुन दलले कस्तो उमेद्धार अघि सार्दछन भन्ने धेरैले चासोका साथ हेरिरहेका हुन्छन् । यहाँका मतदाता र भौगोलिक अवस्थितिले पनि कपिलवस्तुमा बढी महत्वका साथ हेरिने क्षेत्र १ नम्बर हो ।
हाल सम्म कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर एकबाट निर्वाचित भएका सांसदहरु सरकारको कुनै न कुनै मन्त्रालयको नेतृत्व गर्ने स्थानमा पुगेका इतिहास देखिन्छन् । यस अघिको निर्वाचनबाट नेकपा (एमाले)बाट निर्वाचित भएका बलराम अधिकारी केपि शर्मा ओली नेतृत्वको सरकारमा भुमि व्यवस्था मन्त्री बनेका थिए भने त्यस अघि निर्वाचित भएका चक्रपाणी खनाल (बलदेव) कृषि मन्त्री बनेका थिए । खनाल भन्दा अघिको समयलाई हेर्ने हो भने नेपाली कांग्रेसबाट दिपकुमार उपाध्यय विभिन्न समयमा मन्त्री तथा राजदूत बनिसके । यसकारण पनि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर एक बढी चासोका साथ हेरिने क्षेत्र हो ।
कुन दलले कसलाई अघि सार्दैछन् ?
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ मुख्यतय तीन अनुहार अघि सार्दै पार्टी केन्द्रमा नाम शिफारिस गरेको छ । कांग्रेसले व्यवसायिक तथा सामाजिक गतिविधिमा सक्रिय बनेका आशिस शर्मा, धुव्र नेपाल र शक्तिसिंह ठकुरीको नाम शिफारिस गरेको हो । यद्यपी कपिलवस्तु कांग्रेसले उमेद्धारको नाम शिफारिसमा संविधानसभा सदस्य समेत रहेका नेता अतहर कमाल मुसलमानको नाम छुटाएको भन्दै केन्द्रबाट लबिङ गरिरहेको उनको नाम उमेद्धारको रुपमा आउने कांग्रेस भित्रैको एउटा पंक्ति निश्चिन्त बनेको बुझिएको छ ।

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँले पार्टीले तीनजनाको नाम सिफारिस गरि पाठाएको बताए । उनका अनुसार सिफारिस भएका तीन अनुहार बाहेक जिल्ला तथा व्यक्तिगत पनि अन्य नाम उमेद्धारको रुपमा गएको छ । यसपटक नेपाली कांग्रेसले युवाहरुको जनभावना बुझेर युवा र नयाँ अनुहारहरु उमेद्धारको रुपमा शिफारिस गरेका कारण पार्टी केन्द्रले पनि जनभावना बुझेर नामको अन्तिम टुङ्गो लगाउनेमा आफुहरु विस्वस्त रहेको क्षेत्रीय सभापति अब्दुल मन्नान खाँले साझाकुरालाई बताए । कांग्रेसले दिपकुमार उपाध्यय पुत्र आशिसलाई नै उमेद्धारको रुपमा जनतामा लैजाने उनले संकेत पनि गरे । जेनजी मुभमेन्ट र युवाहरुबिचमा आफै पनि लोकप्रिय रहेका आशिसलाई पार्टीले अघि सारेको उनको भनाइ छ ।
यस्तै नेकपा (एमाले) कपिलवस्तुले निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले नेता विश्राम प्रसाद चौधरीलाई एकल सिफारिस गरेको छ। जिल्ला अध्यक्ष बाबुराम खनालका अनुसार आकांक्षि अनुहारहरु डम्बर शर्मा, बलराम अधिकारी, विष्णु पन्थीको नामलाई पनि अवस्था अनुसार प्राथामिकताका साथ हेरिरहेको बताएका भए पनि एमालेले पछिल्लो समयमा चौधरीलाई एकल सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष खनालले साझाकुरालाई जनकारी दिए ।
यस्तै भदौ २३ र २४ को जेनजी आन्दोलनले तहसनस बनाएको नेपाली राजनितिपछि माओवादी केन्द्र र नेकपा (एस) सहितका दलहरुको एकताबाट बनेको प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले कपिलवस्तु क्षेत्र नम्बर १ का लागि व्यवसायी कृष्णबहादुर कुवँरसहतिका नेताहरुलाई अघि सारेको छ । यो दलबाट कुवँरसँगै अन्य अनुहार पनि पार्टी केन्द्रमा सिफारिस गरिएको भएपनि उनै कुवँर नै उम्मेद्धार बन्ने पक्कापक्की रहेको नेपाली कम्युनिष्ट पार्टी निकट स्रोतले जानकारी दिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी कपिलवस्तुका जिल्ला इन्चार्ज रुद्रलाल बञ्जाडेका अनुसार जिल्लाले अघि सारेर केन्द्रमा पठाएका नामहरुमा कुवँरसँगै नेता डोरप्रसाद उपाध्यय र जित बहादुर थारु पनि छन् । यद्यपी जिल्लाले नाम सिफारिस गरेता पनि डारप्रसाद उपाध्यया प्रत्यक्ष तर्फ चुनाव लड्ने मनस्थितिमा नरहेको बुझिएको छ । यसरी हेर्दा नेपाली कम्युनिष्ट पार्टीबाट कुवँरको नाम नै अन्तिम उमेद्धारको रुपमा आउने आँकलन गर्न सकिन्छ ।
वैकल्पिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात रास्वपाले कसलाई अघि सार्दैछ भन्ने पनि धेरै मतदाताहरुलाई कौतुहल्ता छ । नयाँ भनिएका दलले नयाँ र प्रभावशाली अनुहार उठाउने धेरैले बुझेका छन । रास्वपाले बालेन र कुलमानसँगको एकतापछि जनतामा थप प्रभाव पारेको देखिन्छ । यस्तो अवस्थामा कपिलवस्तु जिल्लामा रास्वपाका तर्फबाट आउने उमेद्धार कांग्रेस, एमाले र नेकपाका उमेद्धार भन्दा भिन्न हुन सक्ने आँकलन धेरैको छ ।
रास्वपा बाणगंगा नगर कमिटी अध्यक्ष बुद्धिसागर बेल्बासेका अनुसार कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का लागि मेडिकल व्यवसायमा लामो समय काम गरिरहेका बिक्रम थापाको नाम पार्टीले एकल सिफारिस गरेको बताए । यद्यपी पार्टीको प्राइमरी इलेक्सन पोलिसी अनुसार अनलाइन आवेदन पनि दिन मिल्ने विधिका कारण अन्यत्रबाट पनि कपिलवस्तु एकबाट चुनाव लड्न अन्य व्यक्तिले पनि उमेद्धारी दर्ता गराएका बुझिएको बताए । रास्वपाबाट कपिलवस्तु एकमा चुनाव लड्न विशालराज अधिकारीको नाम पनि सामाजिक सञ्जालमा चर्चामा रहेको छ । यद्यपी पार्टीले भने सिफारिस नाम नै आधिकारिक रहेको र अन्य व्यक्ति पार्टी सम्पर्कमा जिल्लामा नआएको बेल्बासेले जानकारी दिए ।
यस्तै राष्ट्रिय जनमोर्चाले युवा नेता माधव भाट क्षेत्रीलाई उमेद्धारको रुपमा अगाडी सार्ने बुझिएको छ । संघीयताको सुरु देखि नै बिरोध गर्दै आएको जनमोर्चाले जेनजी आन्दोलनबाट उब्जिएका विषयमा यस अघि देखि नै आवाज उठाउँदै आएको भाट बताउँछन् ।
कपिलवस्तु एकमा दलहरु बाहिरबाट पनि स्वतन्त्र उमेद्धारको चर्चा रहेको छ । फागुन २१ मा चुनावी मैदानमा आउने उमेद्धारको विगत, वर्तमान र दृष्टिकोणलाई नजिकबाट शुक्ष्म तवरले जाँच गर्ने पर्खाइमा कपिलवस्तुका मतदाता रहेका छन् ।
मधेसवादी दलहरुको आपसी तालमेलमा ध्यान
फागुन २१ को प्रतिनिधि सभा चुनावका लागि मधेसवादी दलहरु पनि उमेद्धार सिफारिस र चुनावी तयारीमा होमिएका छन । केही दलहरुले जिल्ला तहबाट केन्द्रलाई प्रस्तावित उमेद्धारको नाम पठाएका छन भने केहिले केन्द्रबाट हुने दलहरुबिचको कार्यगत एकता वा चुनावी तालमेललाई ध्यानमा राखेका छन ।
जनता समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवका अनुसार जसपाले क्षेत्र नम्बर १ मा अब्दुल रसिद खाँसहितका नेताहरुको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ मा कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलको नाम अगाडी सारेको छ । यस्तै क्षेत्र नम्बर ३ मा जसपा नेता रामवरण यादवको नाम पठाइएको यादवले बताए ।
मधेसमा खासगरी पहिचानवादी र संघीयतावादी दलहरुबिच केन्द्रबाट कार्यगत एकताको चर्चा चलिरहेको छ । जसपा, जसपाा नेपाल, लोसपा, जनमत पार्टीसहितका मधेसकेन्द्रित दलहरु आपसी तालमेल गर्ने तयारी बुझिएको छ।
चुनाव बहिस्कारको घोषणा
अधिकासंं दलहरु चुनावी मैदानमा होमिदै गर्दा केहि दलहरु भने फागुन २१ को चुनाव बहिस्कारको घोषणा पनि गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो । पार्टीको जिल्ला संगठन समिति, कपिलवस्तुले जारी गरेको प्रेस वक्तव्यमा वर्तमान संसदीय निर्वाचन व्यवस्था जनताको पक्षमा नरहेको भन्दै निर्वाचन बहिष्कार गर्ने घोषणा गरिएको छ ।
वक्तव्यमा भनिएको छ– २०६२/०६३ को जनआन्दोलनपछि स्थापित संसदीय व्यवस्था विदेशी हस्तक्षेप, दलाल पुँजीवाद र साम्राज्यवादी शक्तिहरूको प्रभावमा परेको आरोप लगाइएको छ। निर्वाचन प्रक्रियामार्फत जनताको वास्तविक समस्या समाधान हुन नसकेको र यसले दलाल तथा नोकरशाही शक्तिलाई मात्र फाइदा पु¥याएको पार्टीको ठहर छ ।
पार्टीले निर्वाचनलाई जनताको चेतनालाई कमजोर बनाउने र क्रान्तिकारी आन्दोलनलाई भड्काउने माध्यमका रूपमा प्रयोग गरिएको आरोप लगाएको छ। साथै, निर्वाचन प्रणालीमार्फत राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र समाजवादी व्यवस्था स्थापना सम्भव नरहेको दाबी गरिएको छ ।
३ लाख ९६ हजारबढी मतदाता, २३५ मतदान स्थल
कपिलवस्तुमा आउने फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल ३ लाख ९६ हजार २६५ मतदाता कायम भएका छन् । जसमध्ये पुरुष २ लाख ११ हजार ८ सय ४६, महिला १ लाख ८४ हजार ४ सय १५ तथा अन्य ४ जना छन् ।
प्रतिनिधिसभा निर्वाचन २०७९ सालको निर्वाचनमा ३ लाख ७८ हजार २३२ मतदाता थिए । निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ४७ हजार ६ सय ४९, निर्वाचन क्षेत्र नम्बर २ मा १ लख ३० हजार २ सय २ तथा निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख १८ हजार ४ सय ४ मतदाता रहेको निर्वाचन कार्यालयका सुचना अधिकृत निश्चल मोक्तानले बताए । निर्वाचन आयोगले गत असोज १० गते देखि मंसिर ५ सम्म मतदाता नामावली संकलन गर्दा ७ हजार २ सय ८५ तथा राष्ट्रिय परिचय पत्रका आधारमा ८ हजार ३ सय २२ मतदाता थपिएका थिए ।
यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात कार्यालयमा ४ हजार ७३१ मतदाता थपिएका थिए । बाह्य जिल्लाको यस कार्यालयमा ५७ जना दर्ता भएको, डुब्लीकेशनमा परेका १ हजार २ सय ६ तथा मृत्यु भएका १ सय ६३ जनाो नाम हटाइएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकृत निश्चल मोक्तानले बताए । कपिलवस्तुमा एक निर्वाचन स्थल र १८ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमखु कमल भुसालले बताए । बुद्धभुमी नगरपालिका वडा नम्बर ६ स्थित सरस्तवी आधारभुत बिद्यालयमा मतदान स्थल थपिएको हो ।
जिल्लामा कुल २ सय ३५ मदादान स्थल र २ सय ९० मतदान केन्द्र कायम भएको भुसालले बताए । आगामी फागुन २१ गते हुने निर्वाचनकालागि आफुहरुले आन्तरिक तयारी समेत तीब्र पारेको बताए । प्रजिअ जर्नादन गौतम सहितको जिल्ला सुरक्षा समितिको टोलीले जिल्लामा कायम गरिएको सबै निर्वाचन स्थलको स्थलगत निरीक्षण गरी सकेका छन् ।
कपिलवस्तुमा गत निर्वाचनमा क्षेत्र नम्बर १ र ३ मा एमाले र २ मा कांग्रेसले जितेको थियो । यसपटक भने कुन क्षेत्रमा कसले बाजी मार्छ त्यो निर्वाचन परिणामसम्म कुर्नुपर्ने छ । तर दलहरुले गत भदौको जेनजी बिद्रोह र त्यसले उत्पन्न गराएको राजनैतिक परिस्थितिलाई आँकलन गर्दै जेनजी मुद्धा बोक्न सक्ने पात्रलाई चुनावी मैदानमा ल्याउन सके मात्रै यस पटकको चुनाव सहज रहने देखिएको छ ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया