कपिलवस्तुसहित तराईमा चिसो र शितलहर, अनावश्यक बाहिर ननिस्कन मन्त्रालयको अनुरोध

कपिलवस्तु । जाडो बढ्दै गएपछि जिल्लाको जनजीवन बिस्तारै प्रभावित हुँदै गएको छ। पुस महिना सुरु भएयता निरन्तर जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो। बादल लागेको र चिसो सिरेटोले जाडो झनै बढाएको छ।

पुस महिनामा अहिलेसम्म एक दिन मात्र घाम लागेको छ। बादल लागेको र चिसो हावाले निरन्तर चिसो बढ्दै गएको छ। जाडो बढेपछि बजार र सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ। जाडो बढेपछि बालबालिका, वृद्धवृद्धा, बिरामी र मजदुरहरू प्रभावित भएका छन्। झरीसँगै जाडो बढेपछि सर्वसाधारणहरू घरभित्रै बसेर आगो ताप्ने गरेका छन्।
बाटोमा मानिसहरू कम देखिएका छन्। सधैँ व्यस्त रहने सडकमा मान्छेको चाप कम भएको छ। भीडभाड रहने प्रशासन, मालपोत, नापी कार्यालयमा बिस्तारै सेवाग्राहीको संख्या घट्दै गएको छ। चिसोले सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धाहरूलाई प्रभावित गरेको छ। चिसो बढेपछि जिल्लाका सरकारी र निजी स्वास्थ्य अस्पताल र संस्थामा बिरामीहरूको चाप समेत बढ्दै गएको छ।
कपिलवस्तु अस्पताल आकस्मिक कक्षमा अस्पतालमा झाडापखाला, ज्वरो, निमोनिया, रुघाखोकी लगायत रोगका बिरामीहरूको संख्या बढेको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर किशोर बञ्जाडेले बताए। ‘बालबालिका र वृद्धवृद्धाहरू उपचारका लागि आउने गरेका छन्।’ उनले भने।
उता जाडो बढेपछि कपिलवस्तुका धेरैजसो विद्यालय पुस १८ सम्मका लागि बन्द गरिएको छ। सबैभन्दा बढी गरीब, विपन्न तथा मजदुरी गरी दैनिक गुजारा चलाउँदै आएका परिवारहरू जाडो खप्न बाध्य छन्। ससाना लुगा लगाएर दैनिक ज्यालादारीबाट जीवन व्यतीत गरिरहेका कपिलवस्तु नगरपालिका–१२ डेरवाका बर्साती लोनियाले जाडोले गर्दा काम गर्न निकै गाह्रो परेको दुखेसो पोखे।
‘काम नगरे मुखमा माड लाग्दैन, जाडोमा काम पनि पाइँदैन,’ दैनिक ७ सय रुपैयाँ ज्यालादारीमा पाएर ७ जनाको परिवारका घरमुली बर्सातीले भने ‘कसैले पनि हामी गरीबलाई सहयोग गर्दैन।’

अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ ।मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने भएकाले अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको हो ।

चिसोका कारण उत्पन्न हुनसक्ने लक्षण वा रोगलाई न्यून गर्न तथा लाग्न नदिनका लागि धुवाँ–धुलोबाट बच्न, पोषणयुक्त सन्तुलित खाना खान, न्यानो लुगा लगाउन, भिटामिन–सी पर्याप्तमात्रामा भएका र मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खान, सरसफाइमा ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खान पनि आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात आदिले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघा, खोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, शीतांग÷हाइपोथर्मियाका लक्षणहरू भएका बिरामीहरू बढ्ने गरेका छन् ।

पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदुषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अंगहरूमा गम्भीर असर पार्नुका साथै दम, क्यान्सरजस्ता दीर्घ रोगको जोखिम र मृत्युदर बढाउने गरेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्तालयले चिसोका कारण देखिने समस्याहरू रहिरहे वा बढेमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि भनेको छ । मन्त्रालयले आगो तथा ताप्ने उपकरण खुला र सुरक्षित स्थानमा मात्र प्रयोग गर्न, सुन्ने बेलामा निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुम बाहिर जडान गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

खबर सबै