

लुम्बिनीबाट कांग्रेस उम्मेदवार सिफारिस : अधिकांश पुरानै अनुहार, कोही अदालतमा मुद्दा झेल्दै !





बुटवल । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फ नयाँ अनुहारलाई मौका दिने भनिरहे पनि प्रत्यक्षतर्फ सिफारिस भएकाहरू अधिकांश पुराना छन् । केही निर्वाचन क्षेत्रमा पार्टीले जारी गरेको मापदण्ड विपरीतसमेत उम्मेदवार सिफारिस भएका छन् ।
विभिन्न मुद्दा मामिलामा परेका नेतालाई समेत क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका रूपमा सिफारिस गरेको छ । रुपन्देही जिल्लाको क्षेत्र नम्बर ३ वटा सिफारिस भएका पूर्वगृहमन्त्री बालकृष्ण खाण भुटानी शरणार्थी सम्बन्धी मुद्दा झेलिरहेका छन् । यद्यपि मुद्दा विचाराधीन रहेका समयमा उम्मेदवार हुन कानुनी रोक नभए पनि उनी उम्मेदवार बनेको खण्डमा अन्य दलले यसलाई नै चुनावी मुद्दा बनाउन सक्ने भन्दै कांग्रेसका स्थानीय नेता–कार्यकर्ता चिन्ता व्यक्त गर्दछन् ।
नवलपरासीको क्षेत्र नम्बर २ वटा प्रत्यक्षतर्फ सिफारिस भएका नरेन्द्र गुप्ता पनि अदालतमा ‘चेक बाउन्स’ सम्बन्धी मुद्दा झेलिरहेका छन् । गुप्ताविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दामा गत वर्ष पक्राउ पुर्जी जारी भएको थियो । त्यो मुद्दा मिलाए पनि उनीविरुद्ध नवलपरासी जिल्ला अदालतमा अर्को मुद्दा विचाराधीन छ ।
गुप्ताविरुद्ध सर्लाहीको अन्नपूर्ण सुगर मिल खरिद गर्दाको २ करोड २२ लाख रुपैयाँ भुक्तानी नभएको र चेक बाउन्ससमेत गरेको भन्दै सर्लाही हरिपुर नगरपालिका वडा नम्बर १ ठेगाना भएका हाल परासी बस्ने विनोद साह कलवारले मुद्दा दिएका छन् । साहले रातोपाटीसँग भने, ‘अझैसम्म पैसा दिएको छैन । त्यसकारण चेक बाउन्सको मुद्दा जिल्ला अदालतमा दिएको छु, जो विचाराधीन छ ।’
कांग्रेस नेता गुप्ताले पनि लेनदेनको मुद्दा अदालतमा चलिरहेको स्वीकार गर्दै उक्त मुद्दाले निर्वाचन उम्मेदवार बन्न कानुनी रूपमा अप्ठ्यारो नपार्ने दाबी गरे ।
बाँके जिल्लाको क्षेत्र नम्बर ३ बाट सिफारिस भएका महेन्द्र मल्ल ठकुरी पनि बैंकिङ कसुरमा मुछिएका छन् । ठकुरीले उम्मेदवारका रूपमा सिफारिस हुँदासम्म आफ्नो नाम बैंकको कालोसूचीमा रहे पनि अहिले आफूले उक्त केस मिलाइसकेको दाबी गरे । ‘सबै केस मिलाएर सम्बन्धित निकायबाट सफाइको पत्र लिइसकेको छु,’ उनले भने ।
अर्काको लागि साक्षी बस्दा आफू बैंकको कालो सूचीमा परेको नेपाल किसान संघ लुम्बिनी प्रदेशका महामन्त्रीसमेत रहेका ठकुरीको भनाइ छ ।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिले क्षेत्र, जिल्ला हुँदै आएका उम्मेदवारको सिफारिस सूची केन्द्रीय पार्टी कार्यालयमा बुझाइसकेको छ । यस्तो सूचीमा प्रत्यक्षतर्फको निर्वाचनमा बहालवाला प्रदेश सभा सदस्यको नाम पनि छ, जो पार्टीले नै जारी गरेको परिपत्र विपरीत हो । परिपत्रमा बहालवाला प्रदेश सांसद तथा स्थानीय तहका पदाधिकारीहरूलाई उम्मेदवारका रूपमा सिफारिस नगर्न भनिएको थियो । केन्द्रको मापदण्ड विपरीत रुपन्देही क्षेत्र नम्बर १ बाट अब्दुल रज्जाक र पाल्पा क्षेत्र नम्बर २ बाट वीरबहादुर रानालाई प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । उनीहरू दुवै हाल लुम्बिनी प्रदेश सभा सदस्य छन् ।
‘युवा र नयाँ अनुसार चाहिन्छ’
प्युठानकी लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले नेपाली कांग्रेसलाई सबै पुस्ताले अपनत्व लिँदै आएको बताउँदै यही समिश्रणका कारण पाको र युवा सबैलाई मिलाएर उम्मेदवार सिफारिस गर्नुपर्ने बताइन् । उनले अहिलेको अवस्था युवालाई धेरै महत्त्व दिँदै जानुपर्ने र त्यसले नै पार्टीलाई मतदातामा लोकप्रिय बनाउने प्रस्ट पारिन् ।
गुल्मीको धुर्कोट निवासी युवा नेता प्रकाश पोखरेलले पनि पार्टीले नयाँ अनुहारलाई उम्मेदवार बनाउँदा राम्रो सन्देश जाने बताउँछन् । अहिलेको अवस्थामा विभिन्न काण्डमा मुछिएका, पटक–पटक अवसर पाएर पनि खासै लोकप्रिय हुन नसकेका पात्रलाई नै उम्मेदवार बनाउने हो भने जनताको विश्वास जित्न कठिन हुने उनको बुझाइ छ ।
नेपाल विद्यार्थी संघको पूर्वकेन्द्रीय पदाधिकारीसमेत रहेका मुक्तिप्रसाद पौडेलले युवाहरूको क्षमतालाई बुझेर पार्टीले उम्मेदवार बनाउँदा निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज हुने बताए । यद्यपि, क्षेत्र, जिल्ला र प्रदेशबाट अधिकांश पुरानै र पाका उमेरका नेताहरूको नाम सिफारिस भएको उनको भनाइ छ ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया